राजनीति


रास्वपाको ठहर- रेशमलाई छुटाउन सरकार योजनावद्ध रुपमा लाग्यो, पीडितलाई अन्याय भयो

रास्वपाको ठहर- रेशमलाई छुटाउन सरकार योजनावद्ध रुपमा लाग्यो, पीडितलाई अन्याय भयो

नेपालखबर
जेठ १४, २०८० आइतबार २१:५२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको बताएको छ। 

गणतन्त्र दिवसको अवसर पारेर (सोमबार) चौधरीसहितका कैदीलाई छुटाउन राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिइसकेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जेल जीवन बिताइरहेकाहरुको माफी मिनाहा गरेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै विद्यमान कानुन संशोधन गरेर वा अन्य तरिकाले रेशमलाई छुटाउन सरकार लागिपरेको कुरा खुलेर भनेको रास्वपाले बताएको छ। 

आइतबार साँझ एक विज्ञप्ति निकाल्दै रास्वपाले भनेको छ, ‘सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ।’

साथै, गणतन्त्र दिवसको दिन चौधरीलाई छुटाउन नियोजि रुपमा नै सरकार लाग्नु विधि सम्मत नभएको पनि बताएको छ। 

‘संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ,’ रास्वपाले भनेको छ, ‘सोही व्यवस्थालाई दुरुप्रयोग गरी तीनै तहको अदालतबाट जन्मकैद पाएका चौधरीलाई यही जेठ १५ गते गणतन्त्र दिवसको दिन छुटाउन  नियोजित रूपमा सरकार लाग्नु कतही विधि सम्मत होइन।’

कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरु पीडित हुन नहुने रास्वपाले बताएको छ। 

‘नागरिकका हक अधिकार प्राप्तिका लागि गरेका कुनै पनि आन्दोलनप्रति हाम्रो विमत्ति छैन तर राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन सक्दैन,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकको संशोधन प्रस्ताव राख्ने क्रममा पार्टीले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका अपराधीलाई छुट हुनु हुँदैन भन्ने कुरा उठाएको थियो।ँ

कुनै पनि अपराधको निरुपण निष्पक्ष न्यायिक प्रक्रियाबाट हुनुपर्ने बताउँदै कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य नुहने बताएको छ। 

टीकापुर घटनाको छानविन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्ने माग पनि रास्वपाले राखेको छ। 

‘जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत हो,’ रास्वपाले भनेको छ, ‘तसर्थ निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं।’

यस्तो छ रास्वपाको विज्ञप्तिः 

मिति २०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक घटनामा दोषी ठहरी तीनै तहको अदालतबाट जन्म कैदको सजाय पाएका पूर्व सांसद रेशम चौधरीलाई कैदबाट मुक्त गराउन सरकार नै योजनाबद्ध रूपमा लागिपरेको देखिएको

छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल स्वंयले सदनको रोस्टमै उभिएर चौधरीलाई छुटाउन विद्यमान कानुनमा संशोधन गरेर होस् या अन्य तरीकाले सरकार लागिपरेको कुरा खुलेर बताउनुभयो । सरकारको यो कदम पुर्वाग्रही तथा आममाफीको मर्म विपरीत मात्र नभई पीडितका सन्दर्भमा अन्यायपूर्ण समेत रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको ठहर छ ।

संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थालाई दुरुप्रयोग गरी तीनै तहको अदालतबाट जन्मकैद पाएका चौधरीलाई यही जेठ १५ गते गणतन्त्र दिवसको दिन छुटाउन नियोजित रूपमा सरकार लाग्नु कतही विधि सम्मत होइन ।

आममाफीको व्यवस्था भनेको कैद भुक्तानी गरिरहेका व्यक्तिको चालचलन तथा अन्य मानवीय अवस्थालाई विचार गरी निजलाई सत्मार्गमा अगाडि बढ्न दिइने एक अवसर हो । तर सरकारको कदम मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ तथा सजाय माफी, मुल्तजी तथा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ को समेत विपरित रहेको छ ।

कुनै पनि राजनीतिक अभियानका क्रममा कुनै पनि समुदायका निर्दोष नागरिकहरु पीडित हुनुहुँदैन । नागरिकका हक अधिकार प्राप्तिका लागि गरेका कुनै पनि आन्दोलनप्रति हाम्रो विमत्ति छैन तर राजनीतिक आन्दोलनको आवरणमा हुने जघन्य अपराध क्षम्य हुन सक्दैन । सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयकको संशोधन प्रस्ताव राख्ने क्रममा पार्टीले सशस्त्र द्वन्द्वका क्रममा भएका जघन्य अपराधका अपराधीलाई छुट हुनु हुँदैन भन्ने कुरा उठाएको थियो । कुनै पनि अपराधको निरुपण निष्पक्ष न्यायिक प्रक्रियाबाट हुनुपर्छ । यस्तोमा कुनै पनि राजनीतिक हस्तक्षेप स्वीकार्य हुँदैन ।

टीकापुर घटनाको छानविन गर्न सरकारद्वारा गठित लाल आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्नुपर्छ । जघन्य अपराधमा अपराधी ठहर भएका व्यक्तिलाई आममाफी दिने कानुनी व्यवस्थाको मर्म विपरीत हुने गरी उन्मुक्ति दिने कार्य गम्भीर मानवअधिकारको उल्लंघन समेत हो । तसर्थ निजलाई आममाफी दिनु विधि र विद्यमान कानुनी व्यवस्था अनुकुल नरहेकाले सरकारलाई सचेत गराउन चाहन्छौं ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .