ad ad

राजनीति


रेशमलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य छैन : एमाले सचेतक बर्तौला

रेशमलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य छैन : एमाले सचेतक बर्तौला

नेपालखबर
जेठ १४, २०८० आइतबार १८:१४, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले जन्मकैदको सजाय भुक्तान गरिरहेका पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताएका छन्।

सचेतक बर्तौलाले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतले जन्मकैदको सजाय दिएको चौधरीलाई सत्ता टिकाउनका लागि सरकारले सो काम गर्न लागेको भन्दै आक्रोश समेत व्यक्त गरे। 

‘कतिपय अवस्थामा सरकारले चाहेको अवस्थामा सजाय माफी दिनसक्छ। तर व्यवस्थालाई दूरुपयोग गरेर, कानूनी राज्यलाई खिल्ली उडाउँदै कानूनी शासन, विधिको शासन, त्यसलाई कमजोर बनाउने गरी सबै हिंसाका घटनालाई सत्तासँग जोड्ने, राजनीतिसँग जोडने, उन्मुक्ति दिँदै जाने,’ बर्तौलाले भने, ‘यसले कस्तो नजिर बस्नसक्छ?’

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पीडितलाई थप पीडित बनाउने गरी सरकारले कानुनी राज्यको खिल्ली उडाउँदै चौधरीलाई आममाफी दिने निर्णय लिएको जिकिर गरे। 

‘सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तीन वटै तहको अदालतले उहाँको बारेमा एक प्रकारको फैसला गरेको छ। भिक्टिमहरुलाई थप भिक्टिम बनाउने गरी, अदालतले गरेको आदेशको पूर्ण पाठ आएको छैन,’ उनले भने, ‘सर्वोच्चले आदेश गर्‍यो, फैसला गर्‍यो।तलको आदेशलाई सदर ग¥यो। त्यसको पूर्ण पाठ आएको छैन। अनि हतारहतार सरकार टिकाउन लागि, सत्ता जोगाउनका लागि हामीले विधिको शासन, कानुनी राज्य यी समग्र पक्षलाई संविधानमा हो, कहीँ कतैं आममाफीको व्यवस्था होला।’

सचेतक बर्तौलाले राजनीतिक दाउपेचको आधारमा गरिएको सरकारको सो निर्णय उपयुक्त नभएको उल्लेख गर्दै त्यसमा ख्याल गरेर अघि बढ्न राष्ट्रपति रामचन्द्र पौडेललाई पनि आग्रह गरे।

‘त्यसकारण यो विषयमा गम्भिरताका साथ सरकारले ख्याल पुर्‍याउनु पर्छ। सम्माननीय राष्ट्रपतिज्युले यो विषयमा ख्यालपूर्वक अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘हाम्रो यो आग्रह रहन्छ। सर्वोच्चको पूर्णपाठ आइपुगेको अवस्था छैन भनेपछि यति हतार गर्नुपर्ने यो कारण के पर्‍यो? सरकारलाई के आइलाग्यो कि यति हतार गर्नुपर्ने। त्यसकारण यो विषयमा ख्यालपूर्वक, ध्यानपूर्वक भोली गलत नजिरहरु नबसून्।’

सचेतक बर्तौलाले हिंसात्मक घटनालाई राजनीतिक बनाएर गलत नजिर बसाउने काम नगर्न पनि सरकारलाई सचेत गराए।

‘प्रत्येक हिंसात्मक घटनाहरुलाई पछि राजनीतिक दाउपेचको आधारबाट सत्ता लेनदेनसँग मिसाएर अघि बढ्ने जे खेतीपाती हुन खोजेको छ। यो किमार्थ राम्रो विषय होइन। यो स्वीकार गर्न सकिने विषय होइन,’ उनले भने, ‘भोलि घटनाक्रम समय, परिस्थितिको आधारबाट यसलाई राम्रोसँग विश्लेषण, अध्ययन गरेर उपयुक्त कुनै निस्कर्ष निस्कियो भने त्यस बमोजिम अगाडि बढ्नुपर्ने कुनै एउटा बाटो देखिन आयो भने त्यसपछि सोच्न सकिने कुरा हो। आजको दिनमा जे गर्न खोजिँदैछ। यो उपयुक्त हो भन्ने मलाई लाग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .