राजनीति


३१ वर्षअघि मदन भण्डारीसँग शंकर पोखरेल, सम्झिए माधव नेपाल

३१ वर्षअघि मदन भण्डारीसँग शंकर पोखरेल, सम्झिए माधव नेपाल

मदन भण्डारीसँग शंकर पोखरेल रहेको तस्बिर : शंकर पोखरेलबाट


नेपालखबर
जेठ ३, २०८० बुधबार १९:३५, काठमाडौँ

आज जेठ ३ गते, नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको ३०औँ स्मृति दिवस। यस अवसरमा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीसँगका अविस्मरणीय पल सम्झिएका छन्। सँगसँगै उनले तत्कालीन एमालेका वरिष्ठ नेता हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि विशेष रूपमा स्मरण गरेका छन्।  

‘चितवनको बहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनुभएछ’, एमाले महासचिव पोखरेलले लेखेका छन्, ‘(जबज) पारित गराउने कुरामा समेत माधव कमरेडको सक्रियता विशेष रह्यो।’

पढ्नुहोस्, मदन भण्डारीसँगका रोचक प्रसंगबारे शंकर पोखरेलको संस्मरण–  

मदनसँग म
(एमालेको) पाँचौँ राष्ट्रिय महाधिवेशनको समय (२०४९ माघ १४–२०) थियो। महाधिवेशनको प्रचारप्रसार कमिटीको संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिएँ। महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त कमिटीलाई दिइएको थियो। विचारको खुला बहस सञ्चालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिएँ। भरतमोहन कमरेडले त्यसमा सहमति जनाउँदै मदनसँग कुरा गर्ने जिम्मेवारी मलाई नै सुम्पनुभयो।

म बडो उत्साहका साथ उहाँ बस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईंहरुजस्ता साथीहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्वीकार गर्नुभयो। उहाँले म अहिले दस्तावेजमाथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भो। अनि उहाँले तपाईं आफैंले लेख्नुहोस्। बरु प्रकाशन गर्नुपूर्व मलाई देखाउनुहोस् भन्नुभयो। मैले पनि मदन कमरेडको सुझावअनुरुप उत्साहका साथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाएँ। उहाँले अपिल पढेर बिना कुनै संशोधन प्रकाशनका लागि अनुमती दिनुभयो। विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसा गर्ने उहाँको शैली बेजोड थियो। 

सोही महाधिवेशनका सन्दर्भको मदन कमरेडसँगको अर्को प्रसंग पनि बडो रोचक छ। महाधिवेशनमा जनताको बहुदलीय जनवाद पार्टीको कार्यक्रमका रुपमा प्रस्तावित थियो। पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतबाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज बन्न पुगेको थियो। पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत बहसका बेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नुभएको थिएन। पूर्वको विराटनगरदेखि खुला बहस आरम्भ गरिएको थियो। चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठूलो पंक्ति पक्षमा देखिसकेको थियो। चितवनको बहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनुभएछ।

मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर बोल्न तयार भएकोले काठमाडाैंमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनुभयो। उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई बोल्न लगाइएको थियो। सोही भेलामा पहिलोपटक माधव कमरेड खुलेर जबजका पक्षमा बोल्नुभएको थियो।

पाँचौ राष्ट्रिय महाधिवेशनबाट जनताको बहुदलीय जनवाद अत्यधिक बहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो। पारित गराउने कुरामा समेत माधव कमरेडको सक्रियता विशेष रह्यो। जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादन भएको जनताको बहुदलीय जनवाद यतिबेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त बन्न पुगेको छ। सुरुको अवधिमा जबजको विचारले पार्टीभित्र समर्थन प्राप्त गर्न भएको त्यसप्रकारको कठिनाइ भएको सम्झँदा अनौठो अनुभूति हुन्छ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस। स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिस्ट आन्दोलनका नवीन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली!

यो पनि : पोखरामा मदन भण्डारीको त्यो आखिरी रात, त्यो अन्तिम छाक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .