ad ad

राजनीति


पोखरामा मदन भण्डारीको त्यो आखिरी रात, त्यो अन्तिम छाक

पोखरामा मदन भण्डारीको त्यो आखिरी रात, त्यो अन्तिम छाक

बुधबार बिहान काठमाडौँस्थित मदन भण्डारीको सालिकमा माल्यार्पण गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : सरोज नेपाल


वाशुदेव मिश्र
जेठ ३, २०८० बुधबार १२:५२, पाेखरा

२०४९ माघ १४–२० गते काठमाडौंमा सम्पन्न एमालेको पाँचौँ महाधिवेशनले मनमोहन अधिकारीलाई अध्यक्ष र मदन भण्डारीलाई महासचिव चयन गर्‍यो। २०४७ माघ २२ गते माले र तत्कालीन नेकपा (मार्क्सवादी) एकतापछिको महाधिवेशनले नेतृत्वमात्रै चयन गरेन, मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) पनि पारित गर्‍यो। 

जबजका आआफ्नै खाले व्याख्या थिए। मदन भण्डारी त्यसलाई प्रतिस्पर्धाको राजनीति बताउँथे भने मार्क्सवादीबाट आएका र मालेकै केही नेता पनि जबजलाई ‘संशोधनवादी’को उपमा दिन्थे। एमालेको शक्तिशाली महासचिव मदन भण्डारीको काँधमा ‘जबज’ स्थापित गराउने दायित्व र चुनौती दुवै थियो। उनले ‘जबज’लाई पार्टीको तल्लो तहसम्म पुर्‍याउने अभियान घोषणा गरे।

संयोग कस्तो भने एकमहिने अभियानसहित देश दौडाहामा निस्किँदा उनको पहिलो गन्तव्य पोखरा बन्यो। वि. स‌ं. २०५० जेठ ३ गते एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशन। उनी प्रमुख अतिथिका रूपमा निम्त्याइए। पोखरा हुँदै पूर्व जाने योजनासहित मदन जेठ २ गते पोखरा ओर्लिए। हालका एमाले संगठन विभाग प्रमुख तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीका अनुसार मदनलाई पृथ्वीचोकमा रहेको एक होटलमा खाने/बस्ने प्रबन्ध गरिएको थियो। तर, मदन त्यहाँ बसेनन्। उनले राष्ट्रिय सभाका सांसद तथा उद्योगपति हरिप्रसाद पाण्डेको घर रोजे। तत्कालीन एमाले संगठन विभाग प्रमुख जीवराज आश्रित, सचिव ऋषि कट्टेल पनि मदनसँगै थिए।

मदनसहितका नेताहरूलाई पृथ्वीचोकमा भव्य स्वागत गरियो।

‘उहाँहरूको गाडी रोकेर नै हामीले स्वागत गर्‍यौँ’, तत्कालीन अनेरास्ववियु कास्कीका सचिव रहेका एमाले नेता पुष्पज्योति ढुंगानाले त्यो क्षण सम्झिँदै भने, ‘स्वागत गर्नेमा विद्यार्थीबाट मसहित रवीन्द्र अधिकारी (स्वर्गीय), आनन्द सुवेदी, धनराज आचार्य (वर्तमान मेयर), भक्त गुरुङ (पृथ्वीनारायण क्याम्पसका पूर्वस्ववियु सभापति) थियौँ।’ 

एमाले नेता पुष्पज्योति ढुंगाना

मदनले त्यो रात (२०५० जेठ २ गते) हरिप्रसाद पाण्डेकै घरमा बिताए। पाण्डेका अनुसार जीवराज आश्रितसँग उनको पुरानै चिनजान थियो।

‘जीवराजजी त मेरो राजनीतिक गुरु नै हुनुहुन्थ्यो, उहाँले नै मलाई बुटवलमा टेक्निकल इन्स्टिच्युट पढ्दा नै तत्कालीन मालेको सदस्यता दिनुभएको हो’, पाण्डेले भने, ‘मदनजीसँग एउटा प्रतिनिधिमण्डलमा सँगै चीन जाँदा घनिष्ठता बढेको हो।’

राष्ट्रिय राजनीतिमा चर्चामा नरहेका तर पोखरामा उद्योगपतिको परिचय बनाएका पाण्डेलाई एमालेले आश्चर्यजनक रूपमा २०४८ सालमा राष्ट्रिय सभा सदस्य बनाएको थियो। कालान्तरमा उनी मन्त्री पनि भए। 

‘जीवनको अन्तिम रात मेरै घरमा सुत्नुभयो। पछिल्लो बिहानको खाना पनि मेरै घरमा खानुभयो’, पाण्डे भन्छन्, ‘त्यसपछि उहाँ कहिल्यै नफर्कनेगरी बिलाउनुभयो।’

२०५० जेठ ३ गते पोखराबाट फर्किने क्रममा मुग्लिन-नारायणगढ सडक खण्डको दासढुंगामा भएको ‘रहस्यमय’ गाडी दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो। कतिसम्म भने त्यो गाडीमा पाण्डे पनि भएको आशंका गरिएको थियो। मदनले अन्तिम छाक खाना खाँदाका साक्षी बनेका पाण्डेका अनुसार अघिल्लो रात राजनीतिक कुराकानीचाहिँ भएको थिएन रे! 

‘मसँग उहाँको राजनीतिक कुराकानी हुँदैनथ्यो। आर्थिक विषयमा चासो राख्नुहुन्थ्यो। कसरी देशलाई आर्थिक रूपले अगाडि बढाउन सकिन्छ, कसरी रोजगारी सिर्जना गर्ने, उद्योग क्षेत्रको विकास कसरी हुन्छ भन्ने उहाँको चासोका विषय थिए’, पाण्डेले सुनाए, ‘चीनको जस्तो विकास कसरी सम्भव छ भन्नेबारे राति अबेरसम्म विमर्श भएको याद छ।’

हरिप्रसादकी अर्धाङ्गिनी तुलसा पाण्डेका अनुसार मदन भण्डारीसहितको टोली घरमा आउँदा रातको करिब साढे १० बजेको थियो।

‘उहाँसँग वाचस्पति देवकोटा, ऋषि कट्टेल, जीवराज आश्रित र अमर लामा हुनुहुन्थ्यो। श्रीमान् (पूर्वमन्त्री हरिप्रसाद पाण्डे) ले पहिल्यै खाना बनाऊ भन्नुभएको थियो। बच्चाहरूलाई खाना खुवाएँ, पढ र सुत भनेँ। गर्मीको महिना थियो क्यारे’, सम्झिँदै उनले भनिन्, ‘मदन भण्डारीले भाउजु दही छैन भनेर सोध्नुभयो। उहाँलाई दही र साग असाध्यै मन पर्ने। मैले साँझमा पनि दही खानुहुन्छ र  बाबु, टाउको दुख्ने हो कि भनेँ। ल, त्यसो भए भोलि बिहान खाउँला भन्दै उहाँले मासुसँगै खाना खानुभयो।’ 

त्यो बेला पाण्डेको घरमा डाइनिङ टेबुल र काम गर्ने सहयोगी थिएनन् रे। पाँचजना पाहुनालाई भान्छामै गुन्द्री ओच्छ्याएर खाने प्रबन्ध गरियो। तुलसाले खाना पस्किँदै गर्दा मदले अम्खोरामा पानी सारे रे! खाना खाइसक्दा रातको १२ बजेको थियो होला। त्यसपछि जीवराज आश्रितले निशा र उषा (तुलसाका छोरीहरू) लाई चीनबाट के ल्याइदिनुभयो त नि भनेर मदन भण्डारीलाई सोधेछन्। 

‘आउँदा प्लेनबाट दुईवटा चक्लेट कोटको गोजीमा हालेको थिएँ, दुईवटा छोरीलाई भैगो नि’ भन्दै उहाँ हाँस्नुभयो’, उनले सुनाइन्, ‘म बिहान छिटो उठ्ने। बिहान ४ बजेतिर उठेर पूजापाठ गरेँ। हजुरहरू त हामीले टीका लगाउँदा हास्नुहुन्छ होला, हाम्रोमा त चलन यस्तै छ भनेँ।’

त्यसपछि मदन भण्डारीहरू अमरसिंहचोकतिर लागेछन्। बिहानको खाना खाँदा दिउँसोको १ बजेको थियो।

‘बिहान उहाँले दही, साग अनि काँक्रोको अचारसँग खाना खानुभयो। अरूले मासु पनि खानुभयो’, उनले भनिन्, ‘सिमसिम पानी परेको थियो। मैले आज नजानुहोस्, भोलि बिहान गए पनि पुगिन्छ भनेँ। तर, उहाँले जसरी पनि पुग्नुछ भन्नुभयो।  टीका लगाएर बिदा गरेको हुँ। निस्कँदा उहाँहरू तीनजना मात्र हुनुभयो। मैले साइतको बेला तीनजना निस्कन लाग्नुभयो, तपाईं पनि जानुहोस् त बूढा भनेर बूढा (हरिप्रसाद) लाई पठाएँ। त्यही भएर साँझ त्यो घटनामा हरि पाण्डे पनि परेको हल्ला पनि चल्यो।’ 

पोखरामा जेठ ३ गते (२०५०) आयोजित एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशन उद्घाटनका लागि मदन–जीवराज पोखरा आएका थिए। मदनको टोली १ बजेतिर सभाहलमा पुग्यो। भोलिपल्ट चितवनमा अखिल नेपाल महिला संघको सम्मेलन थियो। तत्कालीन एमाले सचिव तथा हाल एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीका अनुसार मदनले पहिल्यै बोल्न समय मागे। 

‘म खुसी भइनँ, अधिवेशन सकेर म पनि तपाईंसँगै जान्छु नि भनेँ’, उनले त्यो क्षण सम्झिँँदै भने, ‘तर, उहाँले पुग्नैपर्नेछ, तपाईं अधिवेशन सक्नुहोस् न भन्नुभयो।’

मन्तव्यका क्रममा भण्डारी एक घण्टाजति बोले। जनताको बहुदलीय जनवादको व्याख्या गरे। रुस, चीन क्युबा तथा भियतनामको राजनीतिक घटनाक्रमका कुरा उठाए र कार्यदिशाबारे प्रस्ट हुन कार्यकर्तालाई आग्रह गरे। संसद्‌मा टनकपुर सम्झौता तातेको थियो। एमालेले संसद् किन अवरुद्ध गरेको, सडक संघर्ष किन भन्ने कुरा पनि गरे। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारको आलोचना गरिरहँदा कांग्रेसकै सर्वमान्य नेता गणेशमान सिंहप्रति भने उनी नरम देखिए। 

खगराजका अनुुसार भाषण सकेर मदन त्यहाँबाट निस्के। पोखराकै बुद्धचोकमा एक नेतालाई भेटेपछि उनी पुन: पृथ्वीचोकमा रहेको सभागृह फर्किए।

‘हामी बन्दसत्रमा थियौँ, साथीहरूले मदन कमरेड आउनुभएको छ भन्नुभयो’, खगराजले भने, ‘मैले कहाँ गइसकेको मान्छे फर्कनुहुन्छ भनेर पत्याइनँ। साथीहरूले आउनुभएको छ भनेपछि हेर्दा त हो रहेछ, म अझै खुसी थिइनँ। सँगै जान्छु भन्दा उहाँले फेरि यहाँको अधिवेशन सक्नुहोस् भन्नुभयो र बाटो लाग्नुभयो।’

उनीहरू पोखराबाट हिँडे। गाडीमा चालक अमर लामा अनि मदन र जीवराज र सचिव ऋषि कट्टेलमात्रै थिए। ऋषि कट्टेल मुग्लिन झरे। साँझ ५ बजेतिर मुग्लिन–चितवन सडक खण्डको दासढुंगामा उनीहरू सवार बा.अ.प.८७९३ नम्बरको पजेरो गाडी दुर्घटना भयो। दुवै ईश्वरका प्यारा भए। 

एमाले तेस्रो जिल्ला अधिवेशनमा सहभागी एमालेका पाका नेता सोमनाथ अधिकारी ‘प्यासी’का अनुसार उनीहरूले मदन र जीवराजलाई मञ्चमै स्वागत गरेका थिए। 

‘मन्तव्य दिएपछि उहाँ बिदा भएर जानुभयो, हामीले गेटबाट बिदा गर्‍यौँ’, उनले भने, ‘पछि दुर्घटनाको खबर सुन्नुपर्‍यो, पुलिसको गाडी चढेर गएँ, राति अरू साथीहरू पनि जानुभयो। त्यहाँ पुग्दा संसार नै धमिलो लाग्यो।’

अर्का पुराना नेता त्रिलोचन ढकालले पनि मदन र जीवराजलाई त्यसरी नै सम्झे। पोखराको कार्यक्रममा भएको छोटो भेटको स्मरण उनले यसरी सुनाए- ‘म त्यो बेला प्रवास इन्चार्ज थिएँ। त्यो बेला खगराज अधिकारी जिल्ला कमिटीको सचिव हुनुहुन्थ्यो। म र केशवलाल श्रेष्ठ कार्यक्रम उद्घाटनलगत्तै पोखराबाट हिँड्यौँ। पछि प्रदीप नेपालले फोन गरेपछि महेन्द्रनगरबाट फर्केर आएका हौँ।’

दुर्घटनापछि एमाले सडकमा निस्कियो। दुर्घटना नभएर हत्या हो भन्दै छानबिन हुनुपर्ने माग उसले गर्‍यो। त्यही बीचमा एमालेले शोकलाई शक्तिमा बदल्ने भनी जेठ १५ गते देशभर शोकसभाको आयोजना गर्‍यो। पोखरामा आयोजित शोकसभाको  सञ्चालन गर्ने जिम्मेवारी तत्कालीन अखिल कास्कीका सचिव पुष्पज्योतिलाई आयो। वामदेव गौतमसहितका नेताहरू मञ्चमा थिए। सबैको अनुहार फुंग उडेको थियो। आँखामा आँसु थियो।

‘आफूले रोजेको प्रिय नेता गुमाउँदाको पीडा लुकाउन धेरै गाह्रो हुँदो रहेछ। त्यही नाराले हामीलाई साहस दियो। श्रद्धाञ्जली सभा त्यसरी नै चलाएँ। शोकमा शब्द व्यक्त गर्न साह्रै गाह्रो’, उनले भने।  

अहिलेसम्म पनि आशंका 
मदन भण्डारी र जीवराज आश्रितको निधन भएको ३० वर्ष पुगिसकेको छ। एमालेले दासढुंगा दुर्घटनालाई ‘हत्या’ भन्न छाडेको छैन। यसबीच एमालेले धेरैपटक सरकारको नेतृत्व गरिसकेको छ, सत्ताको स्वाद चाखिसकेको छ। तर, एमाले स्वयंले सो घटनाको छानबिनमा चासो देखाएको छैन। कतिसम्म भने मदनकै धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा पनि दासढुंगाको फाइल खोलिएन। 

दुर्घटनामा चालक अमर लामा सकुशल हुनुले घटनालाई रहस्यमीय बनाएकै हो। दुर्घटनास्थलबाट ३२ किलोमिटर तल मदन भण्डारीको शव भेटिनुले पनि शंका बढायो। हत्यारा पत्ता लगाउने माग राख्दै संघर्षमा उत्रिएको एमालेकै मागअनुसार जाँचबुझ आयोग पनि बन्यो। तर, रहस्य नखुलेको एमाले संगठन विभाग प्रमुख खगराजको जिकिर छ।

उनी भन्छन्, ‘पार्टी अध्यक्ष केपी ओली यो विषयमा गम्भीर हुनुहुन्छ, उहाँले अमर लामा जेलमै रहेका बेला त्यस घटनालाई नयाँ तरिकाबाट अनुसन्धान गर्ने जमर्को गर्नुभएको थियो तर पछि त्यसो हुन दिइएन। उनका अनुसार केपी ओलीले चितवनको जेलमा रहेका अमर लामासँग कुरा धुत्न जेलमै रहेकी एक महिलालाई हिमचिम बढाउनसम्म लगाएका थिए रे!

‘अमरको पहिल्यैदेखि स्त्रीप्रति आशक्ति थियो, गोप्य रूपमा अध्यक्ष कमरेडले अमरबाट थप कुरा भनाउन खोज्दा अवरोध भयो’, उनले नेपालखबरसँग भने, ‘यो कुरा म तपाईंसँग जीवनकै दोस्रोपटक गरिरहेको छु।’

उनले तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा, पार्टीकै तत्कालीन नेता माधवकुमार नेपालहरूले त्यो अभियानमा भाँजो हालेको आरोप पनि लगाए।

मदनलाई देखाएर एमालेले राजनीतिको रोटी सेक्दै आएको छ भन्ने प्रश्नमा उनले भने, ‘पछि अमर लामाकै हत्या कसले गरायो? यो षड्यन्त्र नै हो।’

उनले अमेरिकी राष्ट्रपति जेएफ केनेडीको हत्या प्रसंग अगाडि सार्दै दासढुंगा काण्डका धेरै प्रमाण नष्ट गरिएको र अब त्यसको रहस्य खोल्न गाह्रो हुनसक्ने तर्क पनि गरे।   

मदनकै नाममा राजनीति 
मदनका नाममा राजनीतिको रोटी भने राम्रैसँग सेकाइयो। मदन भण्डारी र जीवराज आश्रितका नाममा फाउन्डेसनदेखि विश्वविद्यालय, कलेज र संस्थासम्म दर्जनौं छन्। मदन र आश्रित भने छैनन्। यसो हुनुमा अहिलेको राजनीतिक नेतृत्वमा खोट रहेको पुराना एमाले नेता त्रिलोचन ढकाल बताउँछन्।

उनी भन्छन्, ‘मदनले कम्युनिस्टको हकमा दुनियाँमै नभएको सिद्धान्त अगाडि सार्नुभएको हो। त्यसकै जगमा एमालेको सरकार बन्यो। अहिले त्यो प्रभाव खत्तम छ। मार्क्सवादीहरूले द्वन्द्वात्मक भौतिकवाद अंगाल्नुपर्छ भने  शोषित–पीडित जनताको आवाज बोल्नुपर्छ। अहिले पार्टीमा अध्यात्मवादी छन्। उनीहरू शोषक, सामन्त र फटाहका पक्षधर भएका छन्। अहिले एमालेमा नेता नै छैनन्।’

उनको भनाइ सोझै केपी ओलीप्रति लक्षित थियो।

‘सुन्तलाको रूख, टुप्पोबाट सुक्छ। एमालेको जरा त बलियै छ। लिखित रूपले पार्टी मरेको छैन तर यसको गुदी छैन। यो पार्टी जसरी पनि डुबाउने भए भन्ने सोचेर मैलेचाहिँ पार्टी छाडेँ’, उनले अन्तिममा नेपालखबरसँग भने। 

एमालेका युवा नेता पुष्पज्योति ढुंगाना पनि मदन भण्डारी जीवितै भएको भए अहिले पार्टी र राष्ट्रिय राजनीतिमा देखिएको विकृति नरहने दाबी गर्छन्। ‘उहाँ सादगी र व्यवहारमा प्रस्ट हुनुहुन्थ्यो, आदर्श जीवन बाँच्ने व्यक्तित्व भएको भए एमाले अर्के हुन्थ्यो’, उनले भने। 

त्यसो त मदनको सादगी जीवन र आदर्शबाट सर्वाधिक प्रभावित भएको बताउने एमाले संगठन विभाग प्रमुख खगराज पनि राजनीतिमा लोभ र लालच गर्न नहुनेमै जोड दिन्छन्।

‘मदन कमरेड मृत्युको रहस्यमयी बाघपञ्जामा परेको दिन उहाँको निवासमा पकाउने चामल थिएन, जबकि उहाँ सांसद भइसक्नुभएको थियो’, उनले भने, ‘राजनीति निष्ठाले गर्ने हो, उहाँले विश्वास गरेको व्यक्ति भएकाले मैले यो आदर्श छाडेको छैन।’  

मदन–आश्रित पोखराबाट हतारमै चितवनतिर लागेका थिए। ईश्वरले उनीहरूलाई हतारमै आफ्नो प्यारो बनाए। मदनका देहयुक्त मदनलाई अन्तिम रातको निद्रा र अन्तिम छाक भोजनको प्रबन्ध गरेकी तुलसालाई त्यो दुर्घटनाले अझै सताइरहन्छ। 

उनी भन्छिन्, ‘त्यो घटनापछिको चिन्ताले नै होला- मलाई सुगर भयो।’ 

उनका अनुसार त्यो बेला जीवराज आश्रित बिरामी थिए।

‘जीवराजजी बिरामीजस्तो हुनुहुन्थ्यो। ‘मलाई अल्सर भएको छ’ भन्नुहुन्थ्यो। पुलिसले बोक्नेजस्तो तुम्लेटमा पानी बोक्नुहुन्थ्यो। मैले सबैका लागि बाटोको खाजा भनेर परोठा, परबलको तरकारी र करेला भुटेर झोलामा हालिदिएँ। थर्मसमा पानी राखेर होटलमा नखानुहोला, चिल्लो–पिरो हुन्छ भनेर सम्झाएँ’, उनले भनिन्।

मदन–आश्रित हतारमै थिए। उनीहरूले बाटोमा खाजाको त्यो पोकोचाहिँ खोले कि खोलेनन्? यो कुरा मदन-आश्रितको देहमुक्त आत्मालाई मात्र थाहा होला!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .