ad ad

राजनीति


रास्वपाको उदय र राप्रपाको शक्ति विस्तारबाट ओली चिन्तित

‘वर्तमान सत्ताको विकल्प एमाले हो भन्ने तथ्यमा समेत प्रश्न उठ्नु गम्भीर’
रास्वपाको उदय र राप्रपाको शक्ति विस्तारबाट ओली चिन्तित

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १९:३५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीको उदयबाट नेकपा एमाले चिन्तित देखिएको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा रास्वपाको उदय र राप्रपाको शक्ति विस्तार अस्थिरताको कारक बन्नसक्ने उल्लेख गरिएको छ।

दस्तावेजमा चुनावको नतिजा राष्ट्रिय आवश्यकता, जनअपेक्षा र चुनौती सम्बोधन गर्न प्रतिकूल भएको उल्लेख छ। 

‘मुलुकलाई राजनीतिक स्थिरता चाहिएको थियो, तर, प्रतिनिधि सभामा एक दर्जन दलको उपस्थिति, संविधानप्रति आधारभूत रुपमै विमति राख्ने पक्षहरुको उल्लेख्य उपस्थिति र पपुलिस्ट शक्तिको उदयले आगामी दिन राजनीतिक अस्थिरता र अनिश्चय झन् बढ्ने  देखिन्छ,’ ओलीले लेखेका छन्।  

राप्रपाको शक्ति विस्तार र रास्वपातिर युवा मतदाताको आकर्षणबाट ओली चिन्तित देखिन्छन्। 

‘निर्वाचनमा पपुलिस्ट शक्तिको उदय र परम्परावादी दक्षिणपन्थी दलको शक्ति विस्तार नयाँ र विवेचनीय परिघटनाका रूपमा रहेका छन्,’ प्रतिवेदनमा लेखिएको छ, ‘खासगरी युवा मतदाताहरू, सहरी जनमत र प्रवासी नेपालीहरूका बीचमा पपुलिजमले उल्लेख्य प्रभाव पार्नु र ती शक्तिहरूप्रति आकर्षण बढ्नुलाई गहन विश्लेषण गर्नु आवश्यक छ।’

नयाँ दलकै कारण एमाले दोस्रो शक्तिमा खुम्चिनु परेको उनको दाबी छ। वैशाख १० को उपचुनावमा तनहुँ १ मा रास्वपाले कांग्रेसबाट एक सिट खोस्न सफल भएको छ।

चितवन २ मा भएको उपचुनावमा पनि एमाले र कांग्रेसका स्थानीय नेतालाई हराउँदै रास्वपाका सभापति रवि लामिछाने ४ मंसिरभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। यसलाई गम्भीर रुपमा लिनुपर्ने ओलीको बुझाइ छ।

‘उपनिर्वाचनमा संख्यात्मक क्षति बेहोर्नु नपरेको भए पनि चितवन–२ र तनहुँ–१ मा पार्टीको मतमा उल्लेखनीय कमी आउनु चिन्ताजनक विषय हो,’ ओलीले भनेका छन्, ‘मङ्सिरमा सम्पन्न आमनिर्वाचनको तुलनामा पार्टी मत घट्नु र वर्तमान सत्ताको विकल्प नेकपा (एमाले) हो भन्ने निर्विवाद तथ्यमा समेत प्रश्न उठ्ने खालको परिणाम आउनु गम्भीर विषय हो। सम्बन्धित जिल्ला र प्रदेश कमिटीले यसको गम्भीर समीक्षा गर्नुपर्छ र रहन गएका कमीहरुलाई अविलम्ब सच्याउनुपर्छ।’

ओलीले रास्वपाले जनअसन्तुष्टिको मत पाएको बताएका छन्। 

‘पपुलिज्मको सीमा के हो भने उसले मौजुदा समस्या र कमजोरीहरूलाई उजागर गर्न सक्छ, प्रश्न खडा गर्न सक्छ र जनअसन्तुष्टिहरूलाई राम्रैसँग प्रयोग गर्न सक्छ, तर समाधानका विकल्प दिन सक्दैन,’ प्रतिवेदनमा उल्लेख छ। 

विचार, दर्शन प्रष्ट नभएका ती दलहरु विकल्प हुन नसक्ने ओलीको निर्क्यौल छ।

‘आफ्ना स्वार्थका लागि कहिले वाम त कहिले दक्षिणपन्थी धारका बीचमा डोलायमान रहने यस्तो शक्ति कहिलेकाहीँ सामाजिक अराजकता र स्थापित प्रणालीका विरूद्ध विभिन्न शक्तिकेन्द्रहरूबाट उपयोग हुने जोखिम हुन्छ,’ उनी लेख्छन्, ‘जुन खाली ‘स्पेस’ मा स्थान बनाउन खोज्दैछ, त्यहाँ ध्यानकेन्द्रित गर्नुपर्छ।’

माओवादीप्रति आक्रामक
केन्द्रीय सदस्यलाई वितरण गरिएको १८ पृष्ठ र झण्डै ७ हजार शब्दको प्रतिवेदनमा माओवादीप्रति तीव्र रोष प्रकट गरिएको छ। पुस १० गते सरकार निर्माण गरेदेखि बनेको ७ दलीय गठबन्धन जनचाहना अनुसार भएको बताइएको छ। 

तर, जोगाउन खोज्दाखोज्दै माओवादीकै कारण त्यो गठबन्धनको सरकार भत्केको आरोप लगाइएको छ।  

‘आफैँ चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्ति केन्द्रहरुको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन। राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण गर्न पुग्यो। माओवादी–केन्द्रबाट प्रदर्शित यस राजनीतिक बेइमानी, चरम अस्थिरता र नाङ्गो अवसरवादले राष्ट्रिय राजनीतिलाई फेरि पुरानै बिन्दुमा धकेलेको छ,’ प्रतिवेदनमा भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .