राजनीति


बोल्न नदिए संसदमा लुगा खोल्छु भन्दै सभामुखकहाँ पुगेका थिए अमरेश

सभामुखको सचिवालय भन्छ : योजना बनाएर आएका रहेछन्
बोल्न नदिए संसदमा लुगा खोल्छु भन्दै सभामुखकहाँ पुगेका थिए अमरेश

नेपालखबर
बैशाख २५, २०८० सोमबार १३:१३, काठमाडौँ

आइतबार प्रतिनिधिसभाको बैठक राख्नुअघि सभामुख देवराज घिमिरले कार्य व्यवस्थ तथा परामर्श समितिको बैठक राखे। 

उक्त बैठकमा संसदमा दलीय हैसियत भएका प्रमुख सचेतक र सांसदहरु सहभागी भए। उक्त बैठकमा सभामुखले आगामी आर्थिक वर्षको बजेट प्राथमिकता र सिद्धान्तबारे छलफल गर्नु भएकाले सोमबार र मंगलबार दुई दिनको बैठकमा आकस्मिक र विशेष समय नराख्न प्रस्ताव गरे।

उक्त बैठकमा सबै दलले सभामुखको प्रस्तावमाथि सहमति जनाएपछि संसद बसेको थियो। तर संसद बस्नेबित्तिकै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र स्वतन्त्र सांसद डा. अमरेश सिंह विरोधमा उत्रिए।

सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनीहरुले त्यसविरुद्ध बोल्न आकस्मिक र विशेष समय चाहिने अडान राखे। 

दुई सांसदको विरोधपछि संसदमा तनाव भयो। आइतबार उनीहरुको विरोधमा एमाले र अरु दलका सांसद पनि मिसिएपछि सभामुखको प्रस्ताव लागु हुन सकेन। हिजोको सहमति भाँडिएपछि सभामुखले सोमबार फेरि कार्यव्यवस्था परामर्श समितिको आकस्मिक बैठक राखे। 

आइतबारको बैठकमा तनाव भए पनि कार्यव्यवस्था परामर्श समितिले सोमबार र मंगलबार आकस्मिक र विशेष समय नतोक्ने सहमति गरिसकेको थियो।

त्यस बैठकमा शून्य समयमा मात्रै सांसदहरुले कुरा राख्ने सहमति भएको थियो। दलहरुले आफ्नै सहमति पालना नगरेपछि सभामुख घिमिरेले सोमबारको बैठकमा गुनासो व्यक्त गरे। 

‘हिजोको बैठकमा पनि राम्रो भएन। कार्यव्यवस्थामा सहमति गरेर तपाईंहरुले पालना नगर्ने कुरा ठीक भएन’, सभामुखले सोमबारको कार्यवस्थामा गुनासो गरे, ‘बजेटबारे छलफल अघि बढाउनुपर्ने भएकाले हामीसँग समयको प्रेसर छ, यो कुरालाई सबैले ख्याल गरिदिनुस्।’

सोमबारको आकस्मिक बैठकमा सबै दलहरुले विगतको पाठ सिकेर आकस्मिक र विशेषमा नबोल्ने भन्ने सहमतिपछि संसद हलतिर लागेका थिए। 

सभामुखले गुनासोसहित उक्त कुरा राखेपछि सोमबारको कार्यव्यवस्थामा सबै दलहरु आकस्मिक र विशेष समय नराख्ने कुरामा तयार भए। त्यहीअनुसार संसदको कार्यसूची बनाएर सभामुखले बैठकको तालिका निर्धारण गरे। 

संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वतन्त्र सांसदहरुले भाग लिन पाउँदैनन्। दलीय हैसियत रहेका २१ जना सांसद त्यो बैठकमा सहभागी हुन्छन्। संख्याअनुसार कांग्रेसका ५ र एमालेका ४ जना सदस्य तोकिएको छ। अन्य दलको पनि त्यहीअनुसार निर्धारण गरिएको छ।

सोमबारको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि स्वतन्त्र सांसद् डा. अमरेश सिंह सभामुख घिमिरेको च्याम्बरमा छिरे।

दलहरुले आकस्मिक र विशेष समय दुई दिनलाई नराख्ने सहमति जनाएको थाहा पाएका उनी त्यही कुरा चाहिने अडानसहित सभामुखकहाँ पुगे।

‘मलाई आकस्मिक समय सभामुखले दिनुपर्छ’, उनले सभामुखकहाँ भने, ‘मैले भ्रष्टाचारविरुद्ध बोल्नु छ, सरकार भ्रष्टाचारमा लिप्त भयो, भ्रष्टाचारीलाई जोगाउन लाग्यो, त्यसैले मैले त्यसको विरोधमा बोल्नु छ। मलाई आकस्मिक समय दिनुस्।’

तर सभामुख घिमिरले अमरेशलाई हिजो पनि भ्रष्टाचरबारेमा कुरा राखेको भन्दै आज समयको प्रेसर भएकाले शून्य समयमै एक मिनेटभित्र कुरा राख्न सुझाए।

‘तपाईं शून्य समयमा एक मिनेटमा आफ्ना कुरा राख्नुस्। आकस्मिकमा दुई मिनेट हुन्थ्यो, यता एक मिनेटमै बोल्नुस्’, सभामुखले अमरेशलाई सम्झाउँदै भने। 

तर उनले आकस्मिकमै समय चाहियो भनेर सभामुखसँग अड्डी कसिरहे। अमरेश अडानबाट पछि नहटेपछि सभामुख घिमिरे अन्तिममा त्यसैगरी मिलाउनुस् भनेर गोप्य कोठातिर छिरे। 

तर, सभामुखले आफ्नो कुरा नमान्ने बुझेपछि उनले संसद् बैठकमा लुगा खोल्ने चेतावनी दिए। उनले उक्त चेतावनी दिइरहँदा सभामुखको च्याम्बरमा थिए नेकपा एमालेका सांसद गोकर्ण विष्ट र आमजनता पार्टीका सांसद प्रभु साह।

अमरेशले कपडा खोल्छु भनेपछि गोकर्ण र प्रभुले,  ‘तपाईं सांसद जस्तो मान्छे त्यसो नगर्नु’, भनेर सम्झाए।

उनीहरुले हिजो पनि शून्य समयमा दिए र आज पनि दिने भनेकाले त्यसो गर्नु उचित नहुने उनीहरुको भनाइ थियो।

सभामुखको सचिवालयका अनुसार अमरेश सोमबारको संसद् बैठक अर्धनग्गन हुने योजनासहित छिरेका थिए। 

सरकार भ्रष्टाचारमा लिप्त भएको र भ्रष्टाचारीलाई जोगाउन लागेकाले त्यसविरुद्ध आकस्मिक समयमै बोल्न पाउनुपर्ने यदि नदिए संसदमै कपडा खोल्ने कारण सभामुख र सचिवालयलाई दिएका थिए। 

सरकार भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले सभामुखको सचिवालयसँग आफूलाई १० मिनेट समय बोल्न दिनुपर्ने अडान राखेका थिए। 

तर, सोमबार र मंगलबारको बैठकमा विशेष समय नराखिएकाले उनले मागेको १० मिनेट दिन सक्ने अवस्थामा सभामुख घिमिरे थिएनन्। दलहरुकै सहमतिमा उनले दुई दिनलाई आकस्मिक र शून्य समय काटेका थिए। 

‘तपाईं १० मिनेट समय पाउनु हुन्न। आकस्मिकमा दुई मिनेटमा बोल्ने हो त्यो नभएकाले शून्य समयमा बोल्नु भनेका थियौँ’, सभामुखको सचिवालयका एक सदस्यले भने। 

तर उनले सोमबारको बैठकमा उनले शरीरको माथिल्लो भागको लुगा खोले। तर उनलाई सभामुख घिमिरेले अश्लील, अशिष्ट र असभ्य व्यवहार नरोके कारबाही गर्ने चेतावनी दिए।

उनी लुगा फुकालेर विरोधमा उत्रिएपछि संसद बैठकबाट बाहिरिए। यदि सभामुखले भनेको नमानेको भए उनलाई मार्सल लगाएर संसदबाट निकाल्ने व्यवस्था संसद नियमवालीमा छ। विगतमा पनि यस्तो अभ्यास भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .