राजनीति


ठूला भ्रष्टाचारका फाइल खोले प्रचण्ड सरकारलाई हाम्रो समर्थन हुन्छ : लिङ्देन

ठूला भ्रष्टाचारका फाइल खोले प्रचण्ड सरकारलाई हाम्रो समर्थन हुन्छ : लिङ्देन

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङदेन।


नेपालखबर
बैशाख २४, २०८० आइतबार १६:१६, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलेले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताएका छन्। 

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताएका हुन्। 

उनले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताए। 

‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन्। अहिले केही मानिसहरु पक्राउ परेका छन्। एकपछि अर्को उच्च पदस्थ मानिसहरुको नामहरू आइराखेका छन्,’ लिङ्देनले भने, ‘विगतका वाइडबडी काण्ड, ललिता निवास, एनसेल काण्ड जस्तै यो काण्ड सेलाएर जानु हुँदैन। यो देखाउनका लागि मात्रै हुनु हुँदैन। यदी पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडी बढाउनु भएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ।’

साथै, उनले अब वाइडबडी काण्ड, एनसेल, ललिता निवास जग्गा प्रकरण लगायतको फाइल खोल्नुपर्ने बताए। 

‘क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो? फाइल खोलेर उहाँले त्यसलाई आफु चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो,’ उनले भने, ‘भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइदैन यो कुरालाई।’

अध्यक्ष लिङदेनले देश आर्थिक रुपमा टाट पल्टने अवस्थामा रहेको भएपनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताए।

उनले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गरे। 

‘देश कुनैपनि बेला आर्थिक हिसाबले टाट पल्टन सक्ने अवस्थामा छ।अहिले राजश्व जति उठ्छ, त्यतिले चालु खर्च पनि धान्न सकिएको
अवस्था छैन,’ उनले भने, ‘राजश्वले कर्मचारीलाई तलव खुवाउन पनि पुग्ने अवस्था छैन। ऋण काडेर अहिले कर्मचारीलाई तलव खुवाउनु परेको अवस्था छ। ८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले दिनुपर्ने भुक्तानी नै पुगिसकेको छ। यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरु छैन।’

अध्यक्ष लिङदेनले देशमा नाङ्गो रुपले विदेशी हस्तक्षेप बढेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad