ad ad

राजनीति


सच्चिएला कि सकिएला कांग्रेस?

विश्लेषक भन्छन् : जनताले मूलधारका दललाई अन्तिम चेतावनी दिएका छन्
सच्चिएला कि सकिएला कांग्रेस?

केशव सावद
बैशाख १२, २०८० मंगलबार १७:१८, काठमाडौँ

मूलधारका राजनीतिक दलहरुले जनअपेक्षानुसार काम गर्न नसक्दा वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति मतदाताको अभूतपूर्व समर्थन देखिएको छ। 

पुराना दलहरुसँग विक्षिप्त मतदाताको अभूतपूर्व समर्थनले रास्वपा वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा तीनमध्ये दुई निर्वाचन क्षेत्रमा अप्रत्याशित नतिजाका साथ विजयी भएको छ। 

चितवन–२ मा रास्वपाका सभापति रवि लामिछाने ४३ हजार बढी र तनहुँ–१ मा रास्वपाकै नवप्रवेशी नेता डा. स्वर्णिम वाग्ले १४ हजार बढी मतअन्तरले नेपालकै पुरानो दल नेपाली कांग्रेसलाई पराजित गर्न सफल भएका छन्। 

मूलधारका दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पटकपटक अवसर पाउँदा पनि जनअपेक्षानुसार काम गर्न नसकेका कारण मतदाता  नयाँ दलप्रति आकर्षित भएको राजनीतिक विश्लेषक गेर्जा शर्मा वाग्लेको विश्लेषण छ। 

‘मूलधारका पार्टी, शीर्ष नेतृत्वपंक्ति र पटकपटक अवसर पाएका तर डेलिभरी गर्न नसकेका पार्टी र नेताहरुप्रति अहिले जनताको वितृष्णा देखिन्छ,’ उनी भन्छन्, ‘त्यसकारण अहिलेको उपनिर्वाचनमा त्यसको विकल्पका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताले अभूतपूर्व समर्थन गरेको देखियो।’

गत स्थानीय तह निर्वाचनमा मतदाताले संकेत गरेर मंसिर ४ को आमनिर्वाचनमा सच्चिन स्पष्ट सन्देश दिँदा पनि मूलधारका दलहरु नसच्चिएका कारण उपनिर्वाचनको मतपरिणाम उनीहरुका लागि अनपेक्षित आएको वाग्लेको भनाइ छ। 

‘स्थानीय निर्वाचनमा जनताले कांग्रेस, एमालेलाई संकेत गरेका थिए, तर शिक्षा लिएनन्। आम निर्वाचनमा जनताले स्पष्ट सन्देश दिएका थिए तर पनि सच्चिएनन्,’ उनी भन्छन्, ‘यो उपनिर्वाचनमार्फत् जनताले पुराना राजनीतिक दलहरुलाई अन्तिम चेतावनी दिएका छन्। अब उनीहरूसँग एउटा मात्रै विकल्प छ– सच्चिने कि सकिने?’

चितवन–२ र तनहुँ–१ मा रास्वपालाई मतदाताको अभूतपूर्व समर्थन देखिएपछि सबैभन्दा पुरानो दल कांग्रेस हच्किएको देखिन्छ। कांग्रेसका नेताहरुले औपचारिक रुपमा मतपरिणामबारे मुख खोलेका छैनन्। तर, उनीहरुमा रास्वपा र जनमतले हलचल सिर्जना गरेको छ। 

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको बजेटबारे छलफल गर्न सोमबार बोलाइएको संसदीय दलको बैठकमा सहभागी सांसदहरुका अनुसार उपनिर्वाचनको परिणामले सभापति शेरबहादुर देउवा नै आत्तिएका छन्। 

उनले बैठकमा उपनिर्वाचनको नतिजाले चुनौती खडा भएको र गम्भीर रूपमा समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरे। पार्टी जटिल अवस्थामा पुगेकाले एकताबद्ध भएको सन्देश दिएर अघि बढ्नुपर्ने सभापति देउवाको भनाइ थियो। 

‘बजेटबारे छलफल गर्न बैठक बोलाइएको थियो। बैठकको सुरुवातमै सभापतिज्यू बोल्नुभयो। निर्वाचन नतिजाले उहाँ आत्तिनुभएको अनुमान लगाएँ। हामीमाथि चौतर्फी आक्रमण भयो भन्नुभयो,’ उक्त बैठकमा सहभागी एक सांसद भन्छन्, ‘निर्वाचन नतिजाले चुनौती खडा भएको अवस्था छ, यसलाई गम्भीर रूपमा समीक्षा गर्नुपर्छ। पार्टी क्रिटिकल अवस्थामा पुग्यो, सबै साथीहरू मिलेर एकताबद्ध भएको सन्देश दिएर अघि बढ्नुपर्छ भन्नुभयो।’ 

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको बैठकपछि सांसद रामहरि खतिवडाले पनि सभापति देउवाले उपनिर्वाचन र जनताको चासोका बारेमा कुरा गरेको जानकारी दिए। 

‘उपनिर्वाचनले पनि ठूला पार्टीप्रति जनताको त्यत्ति चासो नभएको जस्तो छ भनेर केही कुरा राख्नुभयो,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भनेका थिए, ‘अझ पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता छ भन्नुभयो।’ 

चितवन–१ मा रास्वपाका सभापति लामिछानेसँग भारी मतान्तरले पराजित भएका कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ पनि मत परिणामले ठूला दलहरुलाई नसच्चिए सक्किन तयार होऊ भन्ने संकेत गरेको बताउँछन्। जनताले दिएको म्यान्डेट अनुसार आफूहरु सच्चिने उनको भनाइ छ। 

‘मतपरिणामले ठूला दलहरुलाई या त सक्किऊ, या त सच्चिऊ भनेको छ। अब कि त दलहरु सक्किनु पर्छ, कि त सच्चिनु पर्छ,’ मतगणनाको नतिजा सार्वजनिक भएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा श्रेष्ठले भने, ‘हामीलाई सक्किन मन्जुर छैन, त्यसैले सच्चिने हो। हामी हाम्रो पार्टी पनि सच्याउँछौँ, पार्टीभित्र भएका कमिकमजोरी पनि सच्याउँछौँ। हामी जनताको अपेक्षा पूरा गर्नका लागि सच्चिने नै हो, सच्च्याउने नै हो। सक्किन मन्जुर छैन।’

सभापति देउवा र निर्वाचनमा पराजय भोगेका श्रेष्ठले भनेझैँ के कांग्रेस सच्चिएला त? 

‘लोकतन्त्रवादी र उदारवादी पार्टी भएकाले अरु मूलधारका पार्टीहरुभन्दा कांग्रेसमा सुधार र रुपान्तरण हुने सम्भावना बढी छ,’ राजनीतिक विश्लेषक वाग्ले भन्छन्, ‘जनताको चाहना र कार्यकर्ताको भावनाअनुसार रुपान्तरित भएर लोकप्रिय हुने सम्भावना कांग्रेसको जीवितै छ। तर, सुधार र रुपान्तरण हुन्छ कि हुन्न भन्ने प्रश्न भने छ।’

तर, उनी युवा पुस्तामाझ चर्चित अनुहारहरु महामन्त्री रहेका कारण पनि कांग्रेसमा सुधार र रुपान्तरणको सम्भावना रहेकोमा आशावादी देखिन्छन्। 

‘नेतृत्वको दृष्टिकोणले पनि गगन–विश्वप्रकाशहरु महामन्त्री भइसकेका र अरु पार्टीमा भन्दा कांग्रेसमा युवा नेतृत्वमा पुग्ने सम्भावना बढी देखिन्छ,’ वाग्ले आशावादी सुनिन्छन्, ‘त्यसकारण पनि कांग्रेसमा सुधार र रुपान्तरण सम्भव छ।’

कांग्रेसका युवा नेता नैनसिंह महर पनि उपनिर्वाचनमा मतदाताको मानसिकता हेर्दा पार्टीमा सुधार र रुपान्तरण अत्यावश्यक देखिएको बताउँछन्। 

‘हामी जति सुसंस्कृत भयौैँ, जति चरित्रवान् बन्यौँ, जति जनअपेक्षानुसार चल्यौँ, त्यति नै जनतामा कांग्रेसको छाप बस्छ,’ उनी भन्छन्, ‘मान्छेले २४ क्यारेट सुनमा पनि थप शुद्धता खोज्छ। थप राम्रो र बलियो दल बन्नका लागि हामी परिवर्तन हुन जरुरी छ। समीक्षा जरुरी छ।’ 

केन्द्रीय सदस्यसमेत रहेका नेता महरले उपनिर्वाचनको समीक्षाका लागि यथाशीघ्र केन्द्रीय कार्यसमिति बैठक डाक्नु पर्नेमा पनि जोड दिए। 

‘यथाशक्य केन्द्रीय कार्यसमिति बैठक राखेर उपनिर्वाचनको समीक्षा गरेर नीति महाधिवेशनको मिति घोषणा गर्नुपर्छ,’ उनले भने, ‘नीति महाधिवेशनबाट पार्टीको नीति, नेतृत्व र कार्यक्रम परिमार्जन र पुनरावलोकन गर्न आवश्यक देखियो।’

कांग्रेसका अर्का युवा नेता शंकर तिवारीले चितवन–२ र तनहुँ–१ को उपनिर्वाचन मतपरिणामलाई लहरको निरन्तरताका रुपमा लिए।

‘उपनिर्वाचनको मत परिणाम सामान्य नै हो। लहरको निरन्तरता हो,’ उनले भने, ‘मतपरिणामले ठूला पार्टीलाई असर त पार्छ तर सुध्रिन समय छ।’

चितवन–२ मा मतदाताले कांग्रेस र एमालेप्रति वितृष्ण र तनहुँ–१ मा डा. स्वर्णिम वाग्लेप्रति सहानुभूति देखाएको तिवारीको भनाइ छ। 

‘चितवनमा मतदाताले कांग्रेस र एमालेप्रति वितृष्णा देखाए,’ उनले भने, ‘तनहुँको नतिजाले स्वर्णिम वाग्ले कांग्रेसकै बागी उम्मेदवार हुन्, पार्टीमा अवसर नपाएका क्षमतावान् पीडित हुन् भन्ने सहानुभूति र प्रतिक्रिया देखियो।’

चितवन–२ मा उम्मेदवार रहेका श्रेष्ठ उपनिर्वाचनको मत परिणामले कांग्रेसलाई आगामी दिनमा सच्चिएर जान मार्गदर्शन गरेको बताए। 

‘परिणाममा हामी केही कमजोर देखिए पनि मलाई लाग्छ, यसले आगामी दिनमा सच्चिएर जाने कुरामा मार्गदर्शन गर्छ,’ उनले भने, ‘जनताले परिवर्तन चाहेको छ भन्ने कुरा हामीले स्वीकार गर्नुपर्छ। योबाट हामी सच्चिने नै हो।’  

मतपरिणामले आम मतदातासँग कांग्रेसले जोड्नु पर्ने विषय जोड्न नसकेको अनुभूति आफूलाई भएको श्रेष्ठले बताए। 

‘हामीले हाम्रो दल चलाउने पद्दति, पार्टीको अभियान चलाउने पद्दति, राजनीतिक पद्दति परिवर्तन गर्नै पर्छ,’ उनले भने, ‘आम जनतासँग हामीले जुन कुरा जोड्नु पथ्र्यो त्यो नजोडिएको कुरा हामीलाई अनुभूति भएको छ।’ 

राजनीतिक विश्लेषक वाग्ले मूलधारका दलहरुले आफूलाई सुधारेर रुपान्तरण नगरे आगामी निर्वाचनमा मतदाताले रास्वपालाई समर्थन गर्ने बताउँछन्। तर, पार्टीमा सुधार र रुपान्तरण भयो भने जनताको समर्थन फेरि पनि मूलधारका दलहरुलाई नै हुने उनको भनाइ छ।  

‘यदि नेपाली कांग्रेस र मूलधारका पार्टीमा सुधार र रुपान्तरण भएन भने जनताले वैकल्पिक र नयाँ पार्टी विशेष गरी रास्वपालाई समथर्न भविष्यमा पनि गर्ने देखिन्छ,’ वाग्लेले भने, ‘मूलधारका पार्टीहरुका सुधार र रुपान्तर भयो भने जनताको समर्थन फेरि पनि यिनीहरुलाई नै हुन्छ। त्यसमा पनि नेपाली कांग्रेसलाई।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .