राजनीति


नवनिर्वाचित सांसद स्वर्णिम भन्छन्– मुलुककै मुहार फेर्न जनताले मलाई जिताएका हुन्

नवनिर्वाचित सांसद स्वर्णिम भन्छन्– मुलुककै मुहार फेर्न जनताले मलाई जिताएका हुन्

नेपालखबर
बैशाख १२, २०८० मंगलबार १०:२९, काठमाडौँ

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले आफूलाई मतदान गरेर विजयी गराउने नागरिकको विश्वासलाई डगमग हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

सांसदमा विजयी भएपछि मंगलबार बिहान सामाजिक सञ्जालमार्फत मतदाता तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै सांसद वाग्लेले आफूप्रति जनताको भरोसालाई टुट्न नदिने बताएका हुन्।  

उनले भनेका छन्, ‘यहाँहरूले मप्रति प्रकट गर्नु भएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नुपर्ने भूमिकाप्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु।’

तनहुँ १ का नागरिकले समग्र मुलुककै मुहान फेर्ने आशाका साथ आफूलाई सांसदमा जिताएको दाबी पनि वाग्लेले गरेका छन्।  

‘यी मतहरू तपाईंहरूले मलाईभन्दा पनि तनहुँ क्षेत्र नं. १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नुभएको हो भन्ने आशयका साथ मैले बुझेको छु’, वाग्लेले भनेका छन्।  

चुनावी जित–हारलाई लोकतन्त्रको स्वाभाविक प्रक्रियाका रूपमा लिएर अन्य पार्टीका नेता÷कार्यकर्ता र मतदाताहरूलाई आगामी दिनमा हातेमालो गर्दै अघि बढ्न वाग्लेले आग्रह गरेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने अपेक्षा लिँदै यस निर्वाचनका दौरान भएका सम्पूर्ण गतिविधिलाई सामान्य रूपमा लिन समेत अनुरोध गर्दै धन्यवाद व्यक्त गर्दछु।’

चुनावी प्रचारप्रसारका क्रममा गरिएका वाचालाई लिपिबद्ध गरी आफ्नो क्षेत्रका स्थानीय तह र प्रदेश सरकारसँगको समन्वयमा योजनाहरू अघि बढाउने प्रतिबद्धता पनि वाग्लेले व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .