ad ad

राजनीति


लोकतन्त्र पुन:स्थापनापछि तनहुँ १ ले दिएका तीन ‘सरप्राइज’

लोकतन्त्र पुन:स्थापनापछि तनहुँ १ ले दिएका तीन ‘सरप्राइज’

फाइल तस्बिर


नेपालखबर
बैशाख ११, २०८० सोमबार १८:३२, काठमाडौँ

वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि स्थापित दल र तिनका नेतालाई काठमाडौं क्षेत्र नम्बर १ ले ‘सरप्राइज’ दिने गरेको थियो। 

तर, २०६३ को राजनीतिक परिवर्तन र गणतन्त्र स्थापनापछि चुनावी राजनीतिमा यस्तै ‘सरप्राइज’ तनहुँ–१ ले लगातार दिइरहेको छ।

पञ्चायती व्यवस्था अन्त्यसँगै २०४८ वैशाखमा भएको आमनिर्वाचनमा काठमाडौँ–१ मा नेकपा (माले) का महासचिव मदन भण्डारीले विजय हासिल गरेका थिए। 

२०४८ को यो परिणाम यसर्थ ‘सरप्राइज’ थियो कि भण्डारीले नेपाली कांग्रेसका सभापतिसमेत रहेका तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराएका थिए। 

चितवनको दासढुङ्गामा भएको सडक दुर्घटनामा ३ जेठ २०५० मा भण्डारीको निधनपछि २५ पुुस २०५० को उपनिर्वाचनमा काठमाडौँ–१ ले दोस्रो ‘सरप्राइज’ दियो। 

आमनिर्वाचनमा पराजित भट्टराई उपनिर्वाचनमा पनि उम्मेदवार थिए। तर, पहिलो आमनिर्वाचनमा विजयी मदनपत्नी विद्या भण्डारीबाट उनी यो निर्वाचन क्षेत्रमा दोस्रो पटक पराजित भए।

एकै निर्वाचन क्षेत्रमा दुई पटक पराजित भएपछि उनले २०५१ को आमनिर्वाचनमा प्रतिस्पर्धै गरेनन्। २०५६ को निर्वाचनमा उनी पर्साबाट विजयी भएर प्रतिनिधिसभा पुगे। 

कांग्रेसको प्रभावक्षेत्र मानिने बानेश्वर समेटिएको काठमाडौं–१ मा २०५१ मा एमालेका मनमोहन अधिकारी र ०५६ मा प्रदीप नेपाल विजयी भएका थिए। चार–चार पटक विजयी हासिल गरेकाले एक हिसाबमा यो क्षेत्र ‘एमालेको किल्ला’ का रुपमा परिचित भइसकेको थियो। 

यहीकारण २०६४ को निर्वाचनमासमेत एमाले नेता नेपालले यही क्षेत्र रोजे। तर, २०४८ देखिको पराजयको परिणाम उल्ट्याउँदै कांग्रेस नेता प्रकाशमान सिंहले बाजी मारे। बहुदलीय व्यवस्थाभर एमालेले विजय हासिल गरेको काठमाडौँ–१ मा कांग्रेसका सिंहको विजय चुनावी राजनीतिमा अर्काे ‘सरप्राइज’ थियो।  

२०७० को निर्वाचनमा प्रधानमन्त्री प्रचण्डपुत्री रेणु दाहाल, २०७४ (साझा पार्टी) र २०७९ (राप्रपा) का रवीन्द्र मिश्र जस्ता चर्चित उम्मेदवारलाई पराजित गर्दै सिंहले काठमाडौँ–१ बाट ‘सरप्राइज’ दिइरहे। 

सुरेश आले मगर

यस्तै ‘सरप्राइज’ तनहुँ– १ ले पनि २०६३ को परिवर्तनयता लगातार दिइरहेको छ। पछिल्लो ‘सरप्राइज’ आइतबार (१० वैशाख) मा भएको उपनिर्वाचन हो, जहाँ मतगणनाको सुरुदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिएर विजयनजिक पुगेका छन्।  

मतगणनाको पछिल्लो परिणामअनुसार डा. वाग्ले १९ हजार ६ सय ५३ मतसहित अग्रस्थानमा छन्। उनले अब १६ वटा वडाको मत गन्न बाँकी हुँदै जित करिब निश्चित गरेका छन्।

उता नेपाली कांग्रेसका गोविन्द भट्टराईले ११ हजार ६ सय ६९ र एमालेका सर्वेन्द्र खनालले ६ हजार २ सय २३ मतसहित तेस्रोमा छन्। 

तर, तनहुँ–१ ले ‘सरप्राइज’ दिएको यो पहिलो निर्वाचन भने होइन। यो निर्वाचन क्षेत्रले यस्तो ‘सरप्राइज’ दिन थालेको २०६४ को पहिलो संविधानसभा निर्वाचनपछि हो। 

२०४८ देखि ०५६ सम्मका तीन निर्वाचनमा कांग्रेसले लगातार विजय हासिल गर्दै आएको यो क्षेत्रमा २०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रका सुरेश आलेमगरले ‘सरप्राइज’ दिएका थिए। 

माओवादी नेता आलेमगरले पनि कांग्रेसका चानचुने नेतालाई पराजित गरेका थिएनन्। उनले गृहमन्त्री रहिसकेका कांग्रेस नेता गोविन्दराज जोशीलाई पराजित गरेका थिए। 

२०४८, ०५१ र ०५६ को निर्वाचनमा फराकिलो मतान्तरसहित विजयी कांग्रेस नेता जोशीको त्यो पराजय पहिलो थियो। त्यो पराजयपछि जोशीले अहिलेसम्म संसद यात्रा तय गर्न सकेका छैनन्।  

२०४८ पछि कांग्रेसले लगातार विजय हासिल गरिरहेको यो क्षेत्र ०६४ मा आश्चर्यजनक रुपमा गुमाए पनि ०७० मा भने फर्काउन नेपाली कांग्रेस सफल भयो। कांग्रेस उम्मेदवार शंकर भण्डारीले २०७० को दोस्रो संविधान सभा निर्वाचनमा यो क्षेत्रबाट विजय हासिल गरे। 

नेपालको संविधान–२०७२ जारी भएपछि तनहुँका निर्वाचन क्षेत्र हेरफेर भयो। क्षेत्र परिवर्तनपछि पपहिले तनहुँ– २ बाट प्रतिस्पर्धा गर्दै आएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७४ को निर्वाचनमा तनहुँ–१ रोजे। 

तर, २०४८ देखि नै अपराजित कांग्रेसका वरिष्ठ नेता पौडेलले २०७४ को आमनिर्वाचनमा पहिलो पटक पराजय सामना गर्नुपर्यो। वामगठबन्धनको तर्फबाट एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले पौडेललाई भारी मतान्तरले पराजित गरे।  

श्रेष्ठले ३४ हजार ४ सय ८९ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी पौडेललाई २७ हजार ६ सय ७५ मत प्राप्त भएको थियो। पौडेलले त्यो निर्वाचनमा आफूलाई ‘भावी प्रधानमन्त्री’ का रुपमा प्रस्तुत गर्दै प्रतिस्पर्धा गरेका थिए। 

किसान श्रेष्ठ

तनहुँ– १ ले राष्ट्रिय राजनीतिमा दिएको यो दोस्रो ‘सरप्राइज’ थियो। 

तनहुँ– १ का हकमा रास्वपाका डा. वाग्लेको विजयोन्मुख अग्रता किन ‘सरप्राइज’ हो भने गत आमनिर्वाचनमा प्रत्यक्षतर्फ यो क्षेत्रमा रास्वपा उम्मेदवार विकास सिग्देल चौथो स्थानमा रही पराजित भएका थिए। समानुपातिकतर्फ पनि रास्वपा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा थियो। 

नेपाली कांग्रेसका रामचन्द्र पौडेल २५ हजार ३ सय ६१ मतसहित विजयी हुँदा यो क्षेत्रमा निकटतम् प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत प्राप्त गरेका थिए। 

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीलाई ६ हजार ८ सय ८६ मत प्राप्त हुँदा रास्वपाका विकास सिग्देललाई ६ हजार ४४ मतमात्र प्राप्त भएको थियो। 

समानुपातिकतर्फ तेस्रो स्थानको रास्वपाले १२ हजार ७ सय ७३ मत प्राप्त गर्दा कांग्रेसले २० हजार १ सय ५८, एमालेले १६ हजार ६ सय ८३ र माओवादी केन्द्रले ७ हजार ३ सय २६ मत प्राप्त गरेका थिए। 

तर, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ पाउँदासमेत कांग्रेस उम्मेदवार भट्टराई रास्वपाका डा. वाग्लेसँग निरन्तर पछि छन्। 

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ कांग्रेस र एमालेको तुलनामा अपेक्षाकृत कमजोर क्षेत्रमा रास्वपा उम्मेदवार डा. वाग्लेको विजयोन्मुख स्थितिले चुनावी राजनीतिमा अर्काे ‘सरप्राइज’ मात्र दिएको छैन, कांग्रेस, एमाले र माओवादी जस्ता ठूला दललाई झट्का समेत दिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .