ad ad

राजनीति


कांग्रेसको आँखै खाइरहेको तनहुँ १!

कांग्रेसको आँखै खाइरहेको तनहुँ १!

कांग्रेस सभापति शेरबहादुर देउवासँग डा. स्वर्णिम वाग्ले


वाशुदेव मिश्र
बैशाख ११, २०८० सोमबार ८:२५, तनहुँ

गत मंसिर ४ को चुनावमा  तनहुँको क्षेत्र नम्बर १ मा ५४.३६ प्रतिशत मतदाता मतदानमा सरिक भए। 

प्रतिस्पर्धामा रहेकामध्ये जनताले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको पोल्टामा २५ हजार ३७१ मत हाल्दिए। 

विजयी रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै उक्त निर्वाचन क्षेत्र खाली भयो। वैशाख १० गते भएको उपनिर्वाचनमा उनको पार्टीले ‘युवा नेता’ गोविन्द भट्टराईलाई मैदानमा उतार्‍यो। 

उनीसँगै नेकपा एमालेका सर्वेन्द्र खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीकी शोभा गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा.स्वर्णिम वाग्ले, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर सुनार, मंगोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, नेपाल मजुदर किसान पार्टीका रामप्रसाद प्रजापति, नेकपा (एकीकृत समाजवादी) का गणेश श्रेष्ठ मैदानमा उत्रिएको चुनावमा ५१.७० प्रतिशतले मात्रै मताधिकार प्रयोग गरे। 

अर्थात्, निर्वाचन कार्यालयका अनुसार १ लाख २३ हजार ३०५ मतदाता रहेकोमा ६३ हजार ७५७  जनामात्रै मतदानमा सरिक भए। 

सामान्यतया उपनिर्वाचनमा भोट खसाल्नेहरु घट्छन्। भोट घटेर के भो त? देशका तीन उपनिर्वाचन भएकामध्ये तनहुँ १ मा सबैका आँखा गढेका छ्न्। तनहुँ १ ले राजनीतिक विश्लेषकको आँखा खाएको छ। ठ्याक्कै प्रकाश सपुतको फूलमाया गीतले भनेजस्तै !

गीतको एउटा अन्तरा भन्छ,'आँखै खाने डाइमण्ड, त्यो कस्ले किन्दियो?' तनहुँ डाइमण्ड त होइन तर त्यहाँ स्वर्णिम भने छन्। स्वर्णिम वाग्ले अर्थात् रास्वपाका उम्मेदवार! उनीप्रतिको चासो यति छ कि हार्दा वा जित्दा पनि उनको चर्चा सेलाउने छाँट छैन।

तनहुँसहित देशका तीनवटै निर्वाचन क्षेत्रको मत परिणाम मंगलबारसम्म आइसक्ने निर्वाचन आयोगको भनाइ छ। 

तनहुँमा जिल्ला समन्वय समितिको हलमा अहिले मतगणना भइरहेको छ। जहाँ स्वर्णिमले सुरुदेखि नै फराकिलो अग्रता बनाइरहेका छन्। 

तनहुँ क्षेत्र नम्बर १ को मतपरिणाम आउने क्रम जारी छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो अग्रता कायम राखेका छन्। 

सुरुदेखि नै अग्रता यहाँ कायम राखेका वाग्लेले पछिल्लो मतपरिणाम अनुसार ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार अहिलेसम्म ८ वटा वडाको मतगणना सकिएको छ। अहिलेसम्म १३ हजार ६५ मतगणना भएको छ।

जसमा वाग्लेले ७ हजार २ सय ९३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २ सय ३४ मत प्राप्त गरेका छन्। 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। उनले २ हजार १ सय ३४ मत प्राप्त गरेका छन्। 

बाकसभित्रको मतले एउटा उम्नेदवारलाई विजयी बनाउँ छ। तनहुँमा सुरुबाटै फराकिलो अग्रताले स्वर्णिमको पल्लाभारी भइसकेको छ। निर्वाचन हुनुअघिबाटै तनहुँले नेपालका ठूला दलको चैन खोसेको थियो।खासगरी कांग्रेसको। सुरुवाती मतपरिणामले त कांग्रेसले ठूलै झट्का दिएको छ। 

यसको कारण यस्तो छ-अघिल्लो चुनावमा कांग्रेसका  रामचन्द्र पौडेल २५ हजार ३७१ मतसहित विजयी हुँदा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाएका थिए। 

दोस्रो भएका एमाले उम्मेवार एकबहादुर रानाको पोल्टामा १९ हजार ९८१ मत गएको थियो। समानुपातिकतर्फ उक्त चुनावमा कांग्रेसले सर्वाधिक २० हजार १५८ मत प्राप्त गरेको थियो।  

एमालेले १६ हजार ६८३ र रास्वपाले १२ हजार ७७३ मत पाएको थियो। त्यस्तै सत्ता साझेदार माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले सात हजार ३२३, एकीकृत समाजवादीले ९५०, जनता समाजवादी पार्टीले ३२३, जनमत पार्टीले १६३, राष्ट्रिय जनमोर्चाले ५० र लोकतान्त्रिक समाजवादी पार्टीले २४ भोट पाएका थिए। 

अघिल्लो चुनावमा परिणाम हेर्ने हो भने, यहाँ सत्ता गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले सहज विजय प्राप्त गर्नुपर्ने हो। तर, परिस्थिति गएको मंसिरजस्तो देखिएन। 

भट्टराईलाई उनकै दलका पूर्वनेता डा. स्वर्मिम वाग्लले कडा टक्कर दिने अनुमान थियो, परिणाम आउँदै गर्दा भयो पनि त्यस्तै। कांग्रेस छाडेर रास्वपाबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारप्रति निर्वाचनको दिनमा पनि मतदाताको आकर्षण उस्तै थियो। 

एकातिर रास्वपाप्रतिको आकर्षण, अर्कोतर्फ तनहुँको चुनाव प्रभावित गर्दै आएका गोविन्दराज जोशी समूहको समर्थन ! यी दुई कारणले स्वर्णिमसँग चुनावअघि नै मुख्य दलहरु त्राहिमाम देखिएका थिए। 

तनहुँको एक सिट हार्दैमा कांग्रेसलाई संसदीय अकं गणितमा खासै फरक पर्दैन तर त्यो सिटसँग कांग्रेसको विरासत जोडिएको छ। तनहुँलाई कांग्रेसले आफ्नो किल्ला ठान्छ। 

विद्रोह गरेर आफ्नै किल्लामाथि आक्रमण गर्न आएका नेताले जितेमा कांग्रेस संगठनमा पहिरो जाने धेरैको आकलन छ। त्यसैले पनि कांग्रेसले तनहुँ १ लाई प्रतिष्ठाको विषय बनाएको थियो। तर उसले आफ्नो प्रतिष्ठा र किल्ला दुवै गुमाउने करिब निश्चित देखिन थालेको छ।

आफ्नो प्रतिष्ठा जोगाउन कांग्रेसले चुनावअगाडि सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल प्रचण्ड तथा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई पनि एक साथ मैदानमा उतार्यो।

प्रचण्ड र देउवाले भट्टराईलाई जिताएर पठाएमा मन्त्री बनाइदिने आश्वासन दिए। केन्द्रीय नेताहरु एकसाथ मैदानमा उत्रिँदा पनि स्वर्णिमप्रति आफ्नै कार्यकर्ताको आकर्षण रोक्न कांग्रेस बिफल भएको देखिएको छ। 

त्यसको सट्टा एमालले भने त्यस क्षेत्रलाई त्यति महत्व नदिएको हो कि भन्ने चुनावकै दिनमा पनि देखियो। निर्वाचन केन्द्रहरुमा कांग्रेस कार्यकर्ता बेचैन देखिन्थे। 

किन त?‘तनहुँ १ को चुनाव कांग्रेस र रास्वपा दुवैको आगामी राजनीतिक भविष्यको लागि यति महत्वपूर्ण छ कि, कांग्रेसको अवनति र रास्वपाको भविष्य नै यही क्षेत्रले निर्धारण गर्ने देखिएको छ,’ कांग्रेसनिकट एक विश्लेषकले भने,‘पुराना दलप्रति मतदाताको भरोसा छैन भन्ने त प्रमाणित भएको छ तर कांग्रेसका युवा नेताहरुको परीक्षा पनि यही निर्वाचनले दिँदैछ।’ 

उनी यतिमै अडिएनन्। तनहुँलाई यस्तो अवस्थामा पुर्‍याउनुमा कांग्रेस नेता र पार्टीको विचारविहीनतालाई दोष दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .