ad ad

लुम्बिनी


लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित

मुख्यमन्त्री गिरी आज दोस्रोपटक विश्वासको मत माग्दै, तर पाउने सम्भावना छैन
लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित

फाइल तस्बिर


सुदीप भण्डारी
बैशाख ११, २०८० सोमबार ८:२६, बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। यसका लागि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठक बस्दै छ। बैठकमा विश्वासको मत प्रस्तावका लागि छलफल गर्ने कार्यसूची छ। छलफलका क्रममा उठेका प्रश्नमा मुख्यमन्त्री गिरीले जवाफ दिने र सभामुखले निर्णयार्थ प्रस्ताव पेस गर्ने छन्। 

लुम्बिनीका मुख्यमन्त्री गिरीले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्। गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त गिरीले फागुन ५ गते प्रदेशसभाबाट विश्वासको मत पाएका थिए। केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो। 

एमालेका तर्फबाट मुख्यमन्त्री भएका गिरी नेतृत्वको सरकारलाई माओवादी केन्द्रसहित ६ दलले दिएको समर्थन एक महिनाअघि फिर्ता लिएका थिए। गत चैत १२ गते माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्री समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीले गिरी सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन्। अहिले एमालेको साथमा राप्रपा मात्र छ।

त्यसैले गिरीले विश्वासको मत पाउने सम्भावना छैन। एमालेका २९ र राप्रपाका ४ गरी गिरीका पक्षमा ३३ सांसद मात्र हुनेछन्। 

प्रदेशसभामा कुल ८७ सांसद छन्। विश्वासको मत लिँदा बहुमत पुग्न ४४ सांसदको समर्थन चाहिन्छ। राप्रपा र एमालेबाहेक गिरीको विपक्षमा मत हाल्ने सांसदको संख्या ५३ देखिन्छ। यसो हुँदा लुम्बिनीमा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित छ। यसअघि गण्डकीमा एमाले नेतृत्वको सरकार ढलिसकेको छ। 

गिरी सरकार ढलेमा लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बन्ने सम्भावना छ। एक महिनाअघि माओवादी केन्द्रसहित ६ दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि चौधरीले ५३ सांसदको समर्थनसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरिसकेका छन्।

तर एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .