राजनीति


फेसबुक लाइभमा रवि लामिछाने : म मतदानस्थलमा जान सक्ने अवस्था रहेन

फेसबुक लाइभमा रवि लामिछाने : म मतदानस्थलमा जान सक्ने अवस्था रहेन

फाइल तस्बिर


नेपालखबर
बैशाख १०, २०८० आइतबार १४:५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा जारी मतदानका क्रममा आफू मतदानस्थलमा जाने अवस्था नरहेको बताएका छन्। 

आइतवार दिउँसो फेसबुक लाइभ गर्दै उनले मतदान केन्द्रहरुमा गएर मतदाता भेट्ने र मतदान अधिकृतहरुसँग जानकारी लिने स्थिति नभएको बताएका हुन्। 

‘विभिन्न मतदान केन्द्रमा गएर मतदाता भेट्ने र मतदान अधिकृतसँग जानकारी लिने, मतदातासँग कुराकानी गर्ने कोसिसमा थिएँ,’ रास्वपाबाट उम्मेदवारसमेत रहेका उनले भने, ‘तर, स्थिति त्यति सहज नभएपछि म अहिले घर फर्किएको छु।’

उनले लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज गरे इतिहासले मूल्यांकन गर्नेसमेत स्मरण गराएका छन्। 

‘लोकतन्त्रको सबैभन्दा सुन्दर पक्षलाई यदि तपाईंहरुले नजरअन्दाज गर्नुभयो र हुलहुज्जत, गुण्डागर्दी, डरत्रास, धम्की जस्ता कुराको साहारा लिनुभयो भने इतिहासले यसको मूल्यांकन गर्ने छ,’ लामिछानेले भने।

उपनिर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-११ स्थित नयाँकिरण माविमा तनाव बढिरहेका बेला रवि फेसबुक लाइभमा आएका हुन्। यही केन्द्रमा नाराबाजी गरिरहेका रास्वपा कार्यकर्ता र अन्य दलका कार्यकर्ताबीच झडप भएको थियो। 

सभापति लामिछाने उक्त केन्द्रमा आएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले उनको पक्षमा नाराबाजीसँगै तनाव सुरु भएको थियो।

बिहान साढे ११ बजेदेखि यो मतदान केन्द्रमा मतदान रोकिएको छ। रास्वपा कार्यकर्ता नाराबाजी गर्दै मतदानस्थलमा पस्न खोजेपछि नेकपा एमालेका कार्यकर्ताले विरोध गरेका थिए। 

त्यसक्रममा दुई पक्षबीच झडपको अवस्था भएको थियो। झडपको अवस्था आएपछि नाराबाजीमा संलग्न रास्वपाका समर्थकलाई प्रहरीले लाठीचार्ज गर्दै लखेटेको थियो।

अहिले पनि उक्त मतदान केन्द्रमा तनाव जारी छ। दुई पक्षका कार्यकर्ताबीच त्यहाँ कुटाकुट भएको छ। तीन घण्टादेखि लाइनमा रहेका मतदाताले पनि अहिले नाराबाजी गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad