ad ad

राजनीति


महानगरले नउठाएपछि आफैँ फोहोर उठाउन थाल्यो सहरी विकास मन्त्रालय

महानगरले नउठाएपछि आफैँ फोहोर उठाउन थाल्यो सहरी विकास मन्त्रालय

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १३:४५, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारको फोहोर नउठाउने अडान लिएपछि सहरी विकास मन्त्रालयल आफैले सिंहदरबारको फोन उठाउन थालेको छ।

तत्काल समाधानका लागि भन्दै मन्त्रालयअन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले फोहोर व्यवस्थापनको वैकल्पिक बाटो खोजेको हो। यसका लागि मन्त्रालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरेको छ।

मेयर शाहले फोहोर नउठाउने घोषणा गरेपछि गत चैत २६ गतेयता सिंहदरबारको ोोहोर उक्त संस्थाले उठाउन थालेको हो।

महानगरपालिकाले सिंहदरबारसहित प्रधानमन्त्रीनिवास बालुवाटार र राष्ट्रपति निवास शीतलनिवासको फोहोर पनि उठाएको छैन।

महानगरपालिकाले फोहोर उठाउन छोडेपछि सहरी विकास मन्त्री सीता गुरुङले समस्या समाधान नहुञ्जेल वैकल्पिक उपायबाट फोहोर व्यवस्थापन गर्न संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयलाई निर्देशन दिएकी थिइन्। मन्त्री स्तरीय निर्णयकाआधारमा कार्यालयले परिवर्तन सेवा प्रालिसँग सम्झौता गरेर फोहोर उठाउन थालेको हो।

‘काठमाडौं महानगरपालिकाले संवैधानिक एवम् कानूनी प्रावधानविपरीत फोहोरमैला व्यवस्थापन गर्ने कार्यमा आफ्नो दायित्वबाट विमुख भई अवरोध श्रृजना गरेको अवस्थामा सिंहदरबार केन्द्रीय सचिवालय रहेको परिसर, अतिविशिष्ट र विशिष्ट पदाधिकारीहरुको निवास रहेको स्थानबाट फोहोरमैला उठाई व्यवस्थापन गर्ने कामकालागि संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले परिवर्तन सेवा प्रालि नामक संस्थासँग सम्झौता गरी व्यवस्थापन गरिरहेको छ,’ मन्त्रालयले भनेको छ। 

नेपालको संविधानको अनुसूची ८ र आधारभूत सफाई तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम फोहोरमैलाको प्रबन्ध र व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको हो। तर, काठमाडौं महानगरपालिकाले फोहोर मैला व्यवस्थापनका सन्दर्भमा संघीय सरकारले विगतमा भएका सहमति पालना नगरेको भन्दै फोहोरमैला व्यवस्थापन कार्य रोकेको छ।

मन्त्री गुरुङले काठमाडौं महानगरपालिका आफ्नो जिम्मेवारीबाट पछि हटेको अवस्थामा सिंहदरबारलाई फोहोरबाट दुर्गन्धित हुन नदिन वैकल्पिक उपाय रोज्नुपरेको बताइन्।

‘यो दीगो समाधान होइन, संविधान र कानूनबमोजिम फोहोरमैलाको व्यवस्थापन गर्ने काम स्थानीय तहकै हो। यसमा सहरी विकास मन्त्रालयको जिम्मेवारी भनेको समन्वयकारी भूमिका मात्रै हो,’ मन्त्री गुरुङले भनिन्, ‘हामी समन्वयकारी भूमिका खेल्छौँ, यो समस्या समाधानकालागि सम्बन्धित सबै निकायसँग समन्वय गरेर समस्या समाधानको प्रयास भइरहेको छ।’

उनले फोहोरमैला व्यवस्थापनलाई विषय बनाएर राजनीति गर्नु उपयुक्त नभएको समेत बताइन्। 

काठमाडौं महानगरपालिकाले काठमाडौंमात्रै होइन, उपत्यकाका १८ वटा स्थानीय तहहरूको फोहोर मैला व्यवस्थापनको नेतृत्व गर्दै आएको छ। यहाँको फोहोर काठमाडौं, धादिङ र नुवाकोटको सीमा क्षेत्रस्थित ककनी गाउँपालिकाको बञ्चरेडाँडामा लगेर डम्पिङ गर्ने गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .