राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले सरकार संसद र संसदीय समितिप्रति जवाफदेही नभएको गुनासो गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकमा बोल्दै शेर्पाले सो कुरा बताएका हुन्।
समितिहरूले दिएको निर्देशन कार्यान्वयन गर्न भन्दा पनि सरकार र सरकारका मन्त्रीहरु झारो टार्ने खालको काममा मात्रै लाग्ने गरेको भन्दै आपत्ति समेत जनाए।
‘संसदप्रति सरकार जवाफदेही हुनुपर्ने हो। मिनी संसदको रुपमा रहेको संसदीय समितिले छलफल गरी दिएको निर्देशन सरकारले मान्नुपर्ने हो। समितिहरुले ल्याएको प्रतिवेदनप्रति सरकार जुन रुपले गम्भिर हुनुपर्ने हो,’ शेर्पाले भने, ‘त्यो खालको गम्भिर देखिएन। मिनी संसदमा हामी मन्त्रीहरू बोलाउछौं, सचिवहरु बोलाउँछौं। उहाँहरु पनि गम्भिर रुपमा प्रस्तुत हुन नचाहने र झारो टार्ने एउटा प्रक्रियाको रुपमा अगाडि बढाउने र त्यसलाई गम्भिरतापूर्वक नलिएको देखियो।’
साथै, निजगढ एयरपोर्टको विषयमा पनि वर्षौंदेखि कुराकानी भएको भन्दै सरकारको स्पष्ट धारणा समेत उनले माग गरेका छन्।
भैरहवा अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको दिगोपनाबारे पनि सरकारले तत्काल सोच बनाउनुपर्ने उनको भनाई छ।
Shares

प्रतिक्रिया