राष्ट्रिय पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले आफूलाई भएभरका शक्ति लागेर खेदिएको आरोप लगाएका छन्।
खासगरी उनले आफ्नाविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई संकेत गर्दै एउटा मानवीय त्रुटि गर्दा सबै मिलेर खेदिएको दाबी गरेका हुन्।
शनिबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘म छातीमा हात राखेर यहाँहरूसमक्ष भन्छु– मान्छेका रूपमा मैले गरेको त्रुटिको सजाय पनि भोगेको छु मैले र क्षमा पनि मागेको छु। मानवीय त्रुटिहरु हरकोही मान्छेहरूबाट हुन्छ, तर एउटा मानवीय त्रुटि गरेका मान्छेलाई भएभरका शक्ति लागेर खेद्नु भनेको अन्याय हो। म अन्यायका विरुद्ध लड्ने मान्छे हुँ, आफ्ना लागि अन्याय भए पनि लड्छु, अरूका लागि अन्याय भए पनि लड्छु।’
अब पाँच वर्षपछि आउने अर्काे चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म आफ्नो पार्टीलाई जिताउन मतदातालाई आग्रह गर्दै उनले इमान्दार व्यक्तिहरूलाई आफ्नो पार्टीको उम्मेदवार बन्न तयार रहन अपिल पनि गरे।
‘अबको पाँच वर्षमा स्थानीय तहदेखि केन्द्रसम्म अबको पाँच वर्षमा घण्टीबाहेक केही पनि नबजोस्। सिंगो देशमा घण्टीबाहेक केही पनि नबजोस्’, उनले भने, ‘तयार रहनुहोला।’
तर यसो भनिरहँदा आफू र आफ्नो पार्टीलाई बदनाम गराउन समाचार तयार पारेर राखिएको हुनसक्ने आरोप लगाए।
‘मैले यो संकेत गरिरहँदा यो चुनावभरिमा हामीलाई बदनाम गराउने, हामीलाई खसाल्ने, मतदातालाई प्रभावित गर्ने कैयौँ हेडलाइन टाइप भएर बसिरहेका होलान् अहिले’, उनले भने, ‘भोलिको बिहान के छाप्ने, भरे बेलुका के देखाउने? कसरी यिनीहरुका मतदातालाई प्रभावित पार्ने भन्ने प्रयास भइरहेको होला।’
Shares

प्रतिक्रिया