राजनीति


ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका नरेश खरेलले छाडे एमाले

ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका नरेश खरेलले छाडे एमाले

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०७९ सोमबार १६:१२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै १४ वर्ष जेल जीवन बिताएका पुराना कम्युनिष्ट नेता नरेश खरेलले पार्टी छाडेका छन्। 

चितवनमा भएको एमालेको दशौँ महाधिवेशनमा ओलीको सूचीमा नपरेका खरेल त्यसयता असन्तुष्ट थिए। यस्तोमा एमाले सल्लाहकार परिषद् सदस्य रहेका उनीसहित १० जनाले सोमबार एमाले छाडेको घोषणा गरेका हुन्। 

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसकै दिन खरेलसहित एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ र हिरासहित १० जना नेता कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका हुन्। 

ओलीले आफूसँगै १४ वर्ष जेल बसेका नेता खरेललाई १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको सर्वसम्मत सूचीमा राखेका थिएनन्। बरु उम्मेदवार नै नभएका खरेललाई भोट नहाल्न भन्दै सौराहाको बन्दसत्र स्थलमा प्रचासमेत बाँडिएको थियो। 

यसअघि गत फागुन १९ गते ओलीको गृहजिल्ला झापाका पाँचजना एमाले नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका थिए। 

पार्टीप्रति १८ बुँदे असहमति प्रस्तुत गर्दै एमाले झापा जिल्ला कमिटीकी उपसचिव चन्द्रकला श्रेष्ठसहित पाँच नेताले एमाले परित्यागको घोषणा गरेका थिए। श्रेष्ठ भद्रपुर नगरपालिकाकी पूर्व उपमेयरसमेत थिइन्। 

पार्टी छाड्ने अन्यमा एमाले प्रदेश कमिटी सदस्य पदम थापा, ३ नम्बर क्षेत्रीय सदस्य सज्जाद आलम, बाह्रदशी गाउँपालिका सदस्य हवालो दिन मियाँ र बाह्रदशी गाउँपालिका सचिवालय सदस्य रमिह मियाँ थिए।

त्यसैगरी यसअघि झाापाको हल्दिवारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरीले एमाले छाडेर नेकपा समाजवादीको यात्रा थालिसकेका छन्। 

खरेल ओलीसँगै १४ वर्ष जेल बसेका थिए। उनी २०३३ सालमा नख्खु जेल ब्रेकरका रुपमा पनि चर्चित छन्।

खरेल र अध्यक्ष ओलीबीच २०५४ सालदेखि विवाद छ। ओलीले आफूविरुद्ध बोलेको आरोप पनि खरेलमाथि लगाइरहेका छन्। तर खरेलले २०५४ सालमा आफू उम्मेदवार हुँदा हुँदै ओलीले अर्को नेता उठाएको आरोप लगाएका छन्। 

खरेलले लामो समयदेखि पार्टीमा अनेक संघर्ष गर्नुपरेको बताएका छन्। उनले लामो संघर्ष गर्दै यहाँसम्म आउँदा पटक पटक तिरस्कृत हुनुपरेको पनि गुनासो गरेका छन्। 

मंसिर ४ को चुनावअघि एमाले छाडेका घनश्याम भुसाल अहिले पूर्वी नेपालको यात्रामा छन्। समाजवादी महासचिव रहेका भुसालसँग झापामै भएको वार्तापछि खरेल अब उक्त पार्टीमा प्रवेश तयारी गर्दैछन्। 

खरेलकी पत्नी पवित्रा निरौला खरेल यसअघि एमालेकी सांसद थिइन्। उनी नेपालबाहिर रहेकाले एमाले छाड्ने नछाड्ने निर्णय गरिसकेकी छैनन्। 

यसअघि शनिबार मात्रै एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी छाडेका छन्। उनी एमाले फर्किने गरी अहिले वार्तारत छन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .