राजनीति


२०४६ को जनआन्दोलन सम्झाउने यो फोटो

२०४६ को जनआन्दोलन सम्झाउने यो फोटो

नेपालखबर
चैत २६, २०७९ आइतबार २१:०, काठमाडौँ

संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो। तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिबन्ध फुक्का गर्न राजी भयो। त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए। खुसियाली मनाइरहेका जनसमुदायको त्यस घडीको एउटा फोटोले त्यसबेला निक्कै चर्चा बटुल्यो– त्यतिखेरको राजनीतिक माहोल र जनभावना प्रतिबिम्वित गर्न सकेको भनेर। प्रतिबन्धित दलका झण्डाहरुमाझ सेतो पहिरनमा रहेकी एक महिलाले उल्लासमा दुवै हात उठाइरहेको फोटो थियो त्यो। ती महिला दुर्गा थापा थिइन्। 

त्यस ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गरेका फोटो पत्रकार मीनरत्न बज्राचार्य भन्छन्, ‘निरङ्कुशताविरुद्धको जनताको ऐक्यबद्धताका साथसाथै जनबल कति शक्तिशाली हुन्छ भनेर पनि सन्देश दिन सकेको भनेर राजनीतिक विश्लेषकहरुले यस फोटोलाई हेरेर अर्थ्याउने गरेका छन्।’ त्यो फोटो समग्र जनआन्दोलनकै प्रतीक बन्यो। 

चैत २७ गतेको दिन खुलामञ्चबाट आफूले क्यामेराको ‘सटर स्पिड’ दबाउँदै गर्दा लेन्समा देखापरेपछि अनायासै तिनै महिलाको केही ‘सट’ खिचेको उनी स्मरण गर्छन्। यो फोटो जताततै छापिन थालेपछि छविकार बज्राचार्य र आन्दोलनकारी थापा दुवै चर्चित बने। थापाले २०६२–६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए। त्यस बखत भीडको माझ अबिरले रङ्गिएका उनको फोटोसमेत पत्रकार बज्राचार्यले खिच्न भ्याएका थिए। थापालाई ६२–६३ को जनआन्दोलनसम्मै सञ्चारकर्मी विशेष गरी फोटो पत्रकारहरुले पछ्याएका थिए। 

थापा हिजोआज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत (तेश्रो तह) मा कार्यरत छिन्। ६२/६३ सालको जनआन्दोलनताका तरुण दलको जिल्ला सदस्य रहेकी उनी लोकतन्त्र बहालीको आन्दोलनमा आफू थुप्रैपटक गिरफ्तारीमा परेको सुनाउँछिन्। 

विद्यार्थी छँदादेखि उहाँ राजनीतिमा लागिन्। समाज रुपान्तरणको सङ्घर्षमा होमिएर धेरै कष्ट उठाएको बताउने उनी अहिले कुनै नेताले आफ्नो त्यस बखतको समर्पणलाई सम्झेर स्याबासी दिए त्यसैलाई पुरस्कार ठान्छु भन्छिन्। 

विषयवस्तुसँग तादात्म्यता राख्ने भएका कारण कतिपय लेखकहरुले आफ्नो पुस्तकको आवरणलाई यो फोटोले सजाएका छन्। ‘डन अफ डेमोक्रेसी’, ‘नेपालस् स्ट्रगल फर डेमोक्रेसी’, ‘दि डान्सिङ डेमोक्रेसी’ पुस्तक केही उदाहरण हुन्। केही पुस्तक प्रकाशोन्मुख रहेको बुझिएको छ। कतिपयका गीति एल्बममा पनि यो फोटो परेका छन्। समाचारसँगसँगै यो फोटोलाई छाप्ने अखबार र पत्रपत्रिका बग्रेल्ती छन्। 

यही फोटोलाई अब फेरि ‘मुनाल’ भूउपग्रहमा टाँस्न आफूसँग अनुमति मागिएबाट बजाचार्य खुसी छन्। ‘अन्तरिक्षमा पठाउने भनी प्लस २ का विद्यार्थीहरुको एक समूहले तयार गरेको नेपालको भूउपग्रहमा यस फोटोले ठाउँ पाए त्यो अर्को सन्तोषको विषय हुनेछ’, प्रफुल्ल हुँदै बज्राचार्यले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad