ad ad

राजनीति


जो दाइ महतकै बाटो पछ्याउँदै अर्थ ‘मूली’ बने

जो दाइ महतकै बाटो पछ्याउँदै अर्थ ‘मूली’ बने

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत


सीताराम बराल
चैत १७, २०७९ शुक्रबार १५:५७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ६ चैतमा विश्वासको मत पाएसँगै अर्थ मन्त्रालय नेपाली कांग्रेसले प्राप्त गर्ने पक्का भइसकेको थियो। तर, मुलुकको ढुकुटीको रुपमा रहेको अर्थ मन्त्रालय कांग्रेसका कुन नेताको काँधमा पर्छ भन्ने टुङ्गो बुधबार (१५ चैत) साँझसम्म पनि थिएन।

बुधबार साँझसम्म अर्थमन्त्री टुङ्गो नलाग्नुको मुख्य कारण थियो– कांग्रेस–माओवादी गठबन्धन पुनर्निर्माणमा भूमिका खेलेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस नेता डा. प्रकाशशरण महतको एकै मन्त्रालयमा दाबी। यो रस्साकस्सीमा सभापति देउवाको मन जित्न डा. महत सफल देखिएका छन्।

यसअघि उर्जा र दुई पटक परराष्ट्रमन्त्री बनिसकेका डा. महतको यसपटकको आकांक्षा अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने थियो। २०४६ को परिवर्तनपछि अधिकांश समय डा. रामशरण महतले सम्हालेको अर्थ मन्त्रालयको जिम्मेवारी अन्ततः उनकै भाइ डा. प्रकाशरणको काँधमा पुगेको छ।

रोचक चाहिँ के छ भने, गिरिजाप्रसाद कोइरालाको विश्वास जित्न सकेका कारण दाजु डा. रामशरणले अर्थ र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका थिए। भाइ डा. प्रकाशशरण महत भने देउवासँगको निकटताका कारण अर्थ मन्त्रालयको मूली बनेका छन्।

रामशरणको ‘अर्थयुग’
पञ्चायतकालमा नेपाल विद्यार्थी संघको महामन्त्री रहेपनि २०४७ को परिवर्तनताका संयुक्त राष्ट्रसंघीय सेवामा रहेका डा. रामशरण महतलाई अर्थमन्त्री बनाउने उद्देश्यसहित नेपाली कांग्रेसले २०४८ को निर्वाचनमा नुवाकोटबाट प्रत्यासी बनाएको थियो। तर, उनी राप्रपा उम्मेदवार डा. प्रकाशचन्द्र लोहनीसँग पराजित भए।

संसदीय निर्वाचनमा पराजित डा. महतलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिए। डा. महत २०५१ को निर्वाचनमा चाहिँ नुवाकोटबाट विजयी भए। विजयसँगै देउवा २०५२ भदौमा प्रधानमन्त्री बन्दा डा. महतलाई पहिलो पटक अर्थमन्त्री बन्ने मौका जुर्यो।

त्यसपछिका २० वर्षमा डा. महत पटक–पटक मन्त्री बने। २०४८ देखि अहिलेसम्म कांग्रेसले चार जना प्रधानमन्त्री प्राप्त गरेको छ। डा. महत कांग्रेसका त्यस्ता भाग्यमानी नेता हुन्, जसलाई कृष्णप्रसाद भट्टराईदेखि गिरिजाप्रसाद कोइरालासम्म, शेरबहादुर देउवादेखि सुशील कोइरालासम्म सरकार प्रमुख हुँदा मन्त्री बन्ने अवसर जुर्यो।

देउवा पहिलो पटक प्रधानमन्त्री हुँदा अर्थमन्त्रीका रुपमा ‘डेब्यु’ गरेका डा. महतलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला २ बैशाख २०५५ मा नेकपा (माले) को समर्थनमा प्रधानमन्त्री हुँदापनि अर्थमन्त्रालयकै जिम्मेवारी दिए। माले सरकारबाट हटेर एमाले सरकारमा गएपछि भने एमाले नेता भरतमोहन अधिकारीले डा. महतलाई अर्थ मन्त्रालयबाट विस्थापित गरे।

तर, २०५६ को आम निर्वाचनपछि प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा डा. महतले फेरि मन्त्री बन्ने अवसर प्राप्त गरे। दुई–दुई पटक अर्थ मन्त्रालय सम्हालिसकेका उनलाई भट्टराई नेतृत्वको सरकारमा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

भट्टराईलाई प्रधानमन्त्रीबाट हटाएर गिरिजाप्रसाद कोइराला ८ चैत २०५६ मा प्रधानमन्त्री बन्दा सुरुमा डा. महतले कुनै जिम्मेवारी पाएनन्। तर, २५ माघ २०५७ मा भएको मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्री कोइरालाले पुनः डा. महतलाई अर्थ मन्त्रालयकै जिम्मेवारी प्रदान गरे।

कोइरालालाई विस्थापन गरेर ११ साउन २०५८ मा दोस्रो पटक प्रधानमन्त्री बनेका देउवाले पनि अर्थमन्त्री डा. महतलाई नै बनाए। कोइराला प्रधानमन्त्री बन्दा होस् वा भट्टराई–देउवा बनेका बेला, डा. महतलाई कोइराला खेमाबाट मन्त्रीको जिम्मेवारी दिने गरिएको थियो।

२०६३ को परिवर्तनपछि पनि कांग्रेस नेतृत्वको सरकार बनेका बेला महतलाई अर्थ मन्त्रालयकै जिम्मेवारी दिइयो। सुरुमा संसदवादी सात दलको सरकारको नेतृत्व गरेका प्रधानमन्त्री कोइरालाले अर्थमन्त्रालयको जिम्मेवारी महतलाई नै सुम्पेका थिए।

अन्तरिम संविधान जारी भई अन्तरिम व्यवस्थापिका–संसदमा माओवादीको प्रवेशपछि पनि कोइरालाले अर्थमन्त्रीमा महतले नै निरन्तरता दिए। दोस्रो संविधान सभा निर्वाचन (२०७०) पछि बनेको सुशील कोइराला नेतृत्वको सरकारमा पनि महत नै अर्थमन्त्री रहे।

कांग्रेसमा देउवा पक्षको दबदबा र स्वास्थ्य प्रतिकूलताका कारण पछिल्लो समय डा. रामशरण महत राजनीतिक परिदृष्यमा छैनन्। यस्तो बेला भाइ डा. प्रकाशशरण महत दाजुले लामो समय सम्हालेको अर्थ मन्त्रालयकै जिम्मेवारी सम्हाल्न आइपुगेका छन्।

दाजुलाई पछ्याउँदै भाइ
डा. रामशरण महतको आरोहमा कोइरालाहरुबाट प्राप्त विश्वासको जति भूमिका छ, डा. प्रकाशशरणका हकमा देउवाले गरेको विश्वासको भूमिका पनि त्यस्तै देखिन्छ।

एमाले–माओवादी गठबन्धन तोड्न भूमिका खेलेका उपसभापति खड्काको साटो डा. प्रकाशशरण महतलाई रोजिएबाट उनी देउवाका कति विश्वासपात्र रहेछन् भन्ने प्रष्ट हुन्छ।

२०५८ साउनमा दोस्रो पटक सत्तारुढ हुँदा डा. प्रकाशशरणलाई सल्लाहकार बनाएका देउवाले केही समयपछि राष्ट्रिय योजना आयोगको सल्लाहकार नियुक्त गरे। प्रधानमन्त्री देउवाविरुद्ध राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ सँगै डा. महतको राष्ट्रिय योजना आयोगको सदस्य पदपनि गयो।

देउवा अपदस्त भएपछि निर्माण भएका लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापा नेतृत्वको सरकारले पनि माओवादी विद्रोहलाई नियन्त्रणमा लिन सकेनन्। त्यसपछि राजाबाट पुनः २० जेठ २०६१ मा देउवा पुनः प्रधानमन्त्री बनाइए।

यतिबेलासम्म देउवाले नेपाली कांग्रेस विभाजन गरी नेपाली कांग्रेस (प्रजातान्त्रिक) स्थापना गरिसकेका थिए। दाजु रामशरण नेपाली कांग्रेसमै थिए। तर, आफूसँगको सम्बन्धका कारण कांग्रेस (प्रजातान्त्रिक) रोजेका प्रकाशशरणलाई प्रधानमन्त्री देउवाले परराष्ट्र राज्यमन्त्री बनाए।

परराष्ट्र मन्त्रालयमा फूलमन्त्री नभएका कारण डा. प्रकाशशरणको हैसियत क्याविनेट स्तरकै मन्त्रीको रुपमा थियो। उनले सम्हालेको यो त्यही मन्त्रालय थियो, जुन मन्त्रालय कृष्ण्णप्रसाद भट्टराईको दोस्रो प्रधानमन्त्रित्वकालमा दाजु डा. रामशरणले सम्हालेका थिए।

कटवाल प्रकरणका कारण प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएपछि एमाले नेता माधव नेपाल प्रधानमन्त्री बने। नेपाल नेतृत्वको सरकारमा देउवाको कोटाबाट डा. महतले उर्जा मन्त्रालयको जिम्मेवारी पाए।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गरी दोस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड नेतृत्वको सरकार (२०७३) मा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको थियो।

अहिलेजस्तो यो मन्त्रालयको ‘चार्म’ त्यो बेला घटेको थिएन। त्यही कारण कांग्रेस नेता डा. शेखर कोइरालापनि परराष्ट्र मन्त्रालयसहित सरकारमा जान इच्छुक थिए। तर, सभापति देउवाको छनोटमा डा. प्रकाशशरण महत परे। परराष्ट्र मन्त्रालयको जिम्मेवारी उनैले पाए।

देउवाको कृपाबाट उर्जा र परराष्ट्र जस्ता महत्वपूर्ण मन्त्रालयको राजनीतिक नेतृत्व प्राप्त गरेका डा. महतको यसपटकको आशा दाजु डा. रामशरणले पटक–पटक सम्हालेको अर्थ मन्त्रालय थियो। अमेरिकाको इलिनोइस राज्यस्थित इलिनोइस विश्वविद्यालयबाट नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स) मा स्नातकोत्तर र इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका डा. महतको अर्थ ‘मूली’ बन्ने इच्छा कांग्रेस सभापति देउवाले पुरा गरिदिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .