नेकपा एकीकृत समाजवादी पार्टीबाट दुईजना मन्त्रीको टुंगो लागेको छ ।
उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने निश्चित भएको एकीकृत समाजवादीका एक पदाधिकारीले नेपालखबरलाई जानकारी दिए।
बुधबार बसेको पार्टी सचिवालयको आकस्मिक बैठले भुसाल र ज्वालाको नाम मन्त्रीका रुपमा सिफारिस गर्ने निर्णय लिएको हो।
‘भुसाल शिक्षा मन्त्री बन्ने सम्भावना छ। हामीले मागेको कृषि हो तर, त्यो सम्भावना कम भयो, ती पदाधिकारीले भने, ‘सरकारको नेतृत्व उनैले गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय प्रकाश ज्वाला कमरेडले पाउनुहुनेछ।’
एकीकृत समाजवादीले तीन मन्त्रालयको दाबी गरेको छ। तर, सरकारलाई समर्थन गर्ने सबै दललाई सहभागी गराउनुपर्ने भएकोले तीन मन्त्रालय पाउने सम्भावना कम रहेको ती नेता बताउँछन्।‘तीनवटा पाउनुपर्ने अडानमा छौँ,’ उनले थपे, 'तर त्यो सम्भावना अहिले देखिएन।'
सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। मन्त्रिपरिषद् विस्तार बिहीबार हुने छ।
राष्ट्रपति रामचन्द्र पौडेल सेतो मच्छिन्द्रनाथको रथयात्रा अवलोकनमा जाने भएपछि बिहीबार मात्रै नयाँ मन्त्रीहरुले शपथ लिने भएका छन्।
गठबन्धनबीच मन्त्रालयको भागवण्डा टुंगो लागिसकेको छ। तर, दलभित्र आन्तरिक रुपमा मन्त्री को पठाउने सहमति जुट्न नसक्दा रोकिएको हो।
समाजवादीले गठबन्धन सरकारमा उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय दाबी गरेको थियो। तर उसले गठबन्धन सरकारमा अब एउटा राज्यमन्त्री पाउने सम्भावना बलियो छ।
प्रतिक्रिया