ad ad

राजनीति


पीडितको भावनामा चोट पुग्ने गरी शान्ति प्रक्रिया टुंग्याउने कुरा स्वीकार्दैनौँ : गगन थापा

पीडितको भावनामा चोट पुग्ने गरी शान्ति प्रक्रिया टुंग्याउने कुरा स्वीकार्दैनौँ : गगन थापा

फाइल तस्बिर


नेपालखबर
चैत ७, २०७९ मंगलबार १८:३८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन्। 

महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्। 

मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्‍याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्‍याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए। 

महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्‍याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे। 

शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्‍याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उनको भनाई थियो। महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पुर्‍याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहोर्‍याए। 

गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए। 

‘शान्ति प्रक्रियाको खासगरी संक्रमणकालीन न्यायसँग जोडिएको केही विषयहरु छन। जुन विषयहरुको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ। पहिलो कुरा, हामी सुविचारित ढंगबाट सचेततापूर्वक जसले शान्ति प्रक्रिया प्रारम्भ गर्‍यौं। यो विषय हामी सबैको विषय हो। खासगरुी नेपाली कांग्रेसका लागि त हामी सुरुवात आफैले गरेको हो भन्छौं। हो पनि। त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारीपनि हाम्रो हो। शान्ति प्रक्रियामा सहभागी अन्य राजनीतिक दलहरु सबैको सामूहिक जिम्मेवारी हो', उनले भने, 'हामी सबैले दलीय संकीर्णता वा तत्कालको नाफाघाटाबाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नु पर्दछ। हामीसँग अव समयको सुविधा छैन। हामीले यसलाई यो वो त्यो बहानामा लम्ब्यायौँ भने अझ यो जटिल बन्दै जान्छ। अझै हाम्रा निम्ति भविष्यमा अप्ठयारो पनि सृजना हुन्छ।'

शान्तिप्रक्रिया टुंग्याउने नाममा जब्बरजस्ती गर्दा दलहरु अप्ठयारोमा पर्ने पनि उनले बताए। 'यसमा पनि ध्यान दिनुपर्नेछ। र, यो विषय शान्ति प्रक्रिया हाम्रो विषय हो। सार्वभौम नेपालको हाम्रो सीमाभित्रको विषय हो। हामीले चाहे पनि नचाहे पनि यो विषय केवल हाम्रा विषयहरु मात्रै होइनन्। कतिपय अन्तराष्ट्रिय कानुनसँग जोडिएका विषय छन्', उनले भने, ' हामीले टुंग्याउँदै गर्दा हामीलाई ठिक लागेर मात्रै हुँदैन। संसारको मान्यताहरु अनुसार पनि हुनुपर्छ। म नेकपा एमालेलाई पनि आग्रह गर्छु–यो बेलामा हामी यो, त्यो नभनी एक ठाउँमा आएर टुंग्याउनु पर्नेछ।  हामीले आफ्नो परिवानजन गुमाएकाहरुको भावनालाई सम्मान गरेर टुंगाउनु पर्नेछ। हामीले टुंग्याएको कुरा अन्तराष्ट्रिय समुदायले पनि मान्नु पर्ने हुन्छ।'
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .