नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।
महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउनुपर्ने बताएका हुन्।
मंगलबार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पुर्याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिए।
महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पुर्याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरे।
शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पुर्याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उनको भनाई थियो।
उनले भने, ‘संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउँदै गर्दाखेरी यदि हामीले द्वन्द्वबाट पीडित भएकाहरुको भावनालाई सम्मान गर्न सकेनौँ सम्बोधन गर्न सकेनौं, टुंग्याउनुपर्छ भन्ने नाममा जब्बरजस्ती उनीहरुले भारी बोक्नै पर्छ भन्नेतिर लाग्यौं। उसले त्यो कुरालाई मानेनन्, स्वीकार गरेनन् भने पनि हामी अप्ठयारोमै पर्छौं। हामीले यसमा पनि ध्यान दिनुपर्नेछ। र, यो विषय शान्ति प्रक्रियाको विषय चाहिँ हाम्रो विषय हो। सार्वभौम नेपालको हाम्रो सीमा भित्रको विषय हो। हामीले चाहे पनि नचाहे पनि यो विषय केवल हाम्रा विषयहरु मात्रै होइनन्। यो कतिपय अन्तर्राष्ट्रिय कानुनसँग जोडिएका विषयहरु छन्। त्यसकारण हामीले टुंग्याउँदै गर्दाखेरी हामीलाई ठिक लागेर मात्रै हुँदैनन्।’
महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पु¥याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहोर्याए। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सूरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने पनि उनले बताए।
महामन्त्री थापाले भने, ‘शान्ति प्रक्रियाको खासगरी संक्रमणकालीन न्यायसँग जोडिएको केही विषयहरु छन्। जुन विषयहरुको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ। पहिलो कुरा, हामी सुविचारित ढंगबाट सचेततापूर्वक जसले शान्ति प्रक्रिया प्रारम्भ गर्यौं। यो विषय हामी सबैको विषय हो। खासगरी नेपाली कांग्रेसका लागि त हामी सुरुवात आफैले गरेको हो भन्छौं। हो पनि। त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारी पनि हाम्रो हो।’
थापाले तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दाबी समेत गरे। उनले कोइरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उनीमाथि त्यसको जस नदिएर अन्याय गरेको उनको बुझाई थियो। महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराए।
महामन्त्री थापाले गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताए।
Shares

प्रतिक्रिया