ad ad

राजनीति


उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छः प्रचण्ड

उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छः प्रचण्ड

नेपालखबर
पुस १७, २०७६ बिहिबार ९:५५,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको बिहीबार उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताए। कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको जोड छ।

उनले भने, ‘सबै किसानलाई संगठित र जागरुक गराउन आवश्यक छ, उत्पादनको महाअभियानमा सबै किसान समावेश हुनुपर्छ।’ मासु, अण्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको उनको भनाइ थियो। ‘संविधानले नेपालको अर्थ व्यवस्थालाई तीन खम्बे नीति भनेर परिभाषित गरेको छ’, उनले भने, ‘त्यसमा सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढ्छ।’ अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको बताए।

समाजमा पछि परेका समुदायलाई संगठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनले बताए। अध्यक्ष दाहालले नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको बताए। ‘पुरानो व्यवस्थाले शोषण र विभेद गरेको वर्ग समुदायलाई अगाडि ल्याउने, आत्मनिर्भर बनाउने र उनीहरुको जीवनलाई समग्र विकासको साझेदार बनाउने परिकल्पना हामीले गरेका छौँ’, उनले भने।

नेपाल कृषि, सहकारी केन्द्रीय संघले कूल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो। जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .