राजनीति


चुरे भावर आन्दोलनबाट उदाएका पूर्वमन्त्री न्यौपाने भ्रष्टाचारमा दोषी ठहर, साढे ९ वर्ष कैद

चुरे भावर आन्दोलनबाट उदाएका पूर्वमन्त्री न्यौपाने भ्रष्टाचारमा दोषी ठहर, साढे ९ वर्ष कैद

फाइल तस्बिर : पूर्वमन्त्री बद्री न्यौपाने


नेपालखबर
फागुन २६, २०७९ शुक्रबार ७:३७, काठमाडौँ

पूर्वमन्त्री बद्री न्यौपानेलाई भ्रष्टाचार मुद्दामा साढे ९ वर्ष कैद सजाय हुने भएको छ। 

भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको हो।

न्यौपानेबाट जरिबाना तोकिएको रकमजति नै बिगो असुल गर्ने फैसला पनि विशेष अदालतले गरेको छ।

न्यौपाने तत्कालीन माओवादी नेता डा.बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चुरे भावर पार्टीबाट महिला बालबालिका मन्त्री बनेका थिए। त्यतिबेला उनी चुरे भावर पार्टीबाट समानुपातिक सांसद बनेर मन्त्री बनेका थिए।

मन्त्री पदमा रहँदा न्यौपानले भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको ठहर विशेष अदालतले गरेको हो। 

फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

यहि मुद्दामा कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङ पनि दोषी ठहर भएका छन्।

उनलाई विशेष अदालतले एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना हुने फैसला गरेको छ। उनलाई कैद सजाय भने तोकिएको छैन।

बिहीबार विशेष अदालतले पूर्वमन्त्री न्यौपाने, निलम्बित सांसद  गुरुङसहित नौ जनालाई यो मुद्दामा दोषी ठहर गरेको हो। 

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले न्यौपाने र गुरुङसहित नौ जनालाई दोषी ठहर गर्दै यस्तो सजाय सुनाएको विशेष अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए। 

भृकुटीमण्डपको ६० रोपनी जग्गा फनपार्कलाई १० वर्षको लागि प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा दिने निर्णयमा उनीहरुको बदनियत देखिएको हो।

यो मुद्दामा प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद, हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई लाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको छ। 

त्यसैगरी रविन्द्रकुमार यादवलाई ९ वर्ष कैद सजाय तोकिएको छ। उनीबाट अरुलाई जतिनै बिगो भराउने फैसला पनि विशेष अदालतले गरेको छ।

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौली घर भएका पूर्वमन्त्री न्यौपाने हाल प्रभु साह नेतृत्वको आम जनता पार्टीमा छन्।

कांग्रेसबाट राजनीति सुरु गरेका न्यौपाने ०६४ सालमा सर्लाहीमा सुरु भएको चुरे भावर आन्दोलनमा लागेर समानुपातिक सांसद बनेका थिए। 

चुरे भावर छाडेर तत्कालिन नेकपामा प्रवेश गरेका उनी नेकपामा केन्द्रीय सदस्यसमेत बनेका थिए। पछि उनी एमालेमा प्रवेश गरेर पनि केन्द्रीय सदस्य बने। 

गएको संघ र प्रदेशसभा सदस्य निर्वाचन अघि उनले एमाले परित्याग गरे। त्यसपछि न्यौपाने केही समय स्वतन्त्र बसे। निर्वाचनमा न्यौपानेले माओवादी उम्मेदवारलाई सहयोग गरे। तर, न्यौपानले माओवादी प्रवेश चाहिँ गरेनन्।

निर्वाचनपछि प्रभु साहले गठन गरेको आम जनता पार्टीमा उनी आवद्ध भए। हाल उनी उक्त पार्टीको विदेश विभाग प्रमुख, मधेश प्रदेश इन्चार्ज र केन्द्रीय सदस्य छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad