ad ad

राजनीति


महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छ : उपाध्यक्ष अर्याल

महिलालाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लडाउनुपर्छ : उपाध्यक्ष अर्याल

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १६:२८, काठमाडौँ

राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी छन्।

मंगलवार राष्ट्रिय महिला आयोगको २१ औँ स्थापना दिवस तथा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा महिलाहरु चुनाव लड्न पाउने व्यवस्था ल्याउनुपर्ने बताएकी हुन्।

उनले स्थानीय तह, प्रदेश सभा र संघीय संसद सबै ठाउँमा ५० प्रतिशत उम्मेदवार पुरुष र ५० प्रतिशत उम्मेदवार महिला हुनुपर्ने बताइन्। नेपालमा पुरुषको भन्दा महिलाहरुको जनसंख्या बढी रहेको उल्लेख गर्दै उनले महिलाहरु ३३ प्रतिशत प्रतिनिधित्वमा मात्रै सिमित हुनु नहुने बताइन्।

उपाध्यक्ष अर्यालले राज्यका निकायहरुको प्रमुख पदहरुमा महिलाको प्रतिनिधित्व पनि कम भएको भन्दै प्रमुख पदहरुमा महिला प्रतिनिधित्व गराउनतर्फ ध्यान दिनुपर्ने बताइन्। महिलाहरुलाई समानुपातिकबाट प्रतिनिधित्व गराउँदा उसको योगदान र इतिहासलाई समेत अवमूल्यन गरेर आरोप लगाउने गरिएको बताइन्।

उनले प्रत्यक्षतर्फ महिलाहरुलाई ४० प्रतिशत उम्मेदवार बनाउँदा आर्थिक चलखेलका घटना घट्ने र निर्वाचन प्रणालीमा शुद्धीकरण समेत हुने बताइन्।

उपाध्यक्ष अर्यालले राजनीतिक पार्टीको शीर्ष तहमा पनि महिलाहरुलाई पुर्याउनुपर्ने बताइन्। हालसम्म राजनीतिक दलको निर्णायक तहमा महिलाहरुको भुमिका हुन नसकेको भन्दै उहाँले अब त्यसतर्फ ध्यान दिनुपर्ने बताइन्।

उनले भनिन्, ‘राजनीतिक पार्टीहरुमा शीर्ष स्थानहरुमा महिलाहरुको नेतृत्व हुने कुराहरुको अझैपनि अभाव छ। जसले राजनीतिको मुल नीतिलाई दोहोर्याइराखेको हुन्छ, त्यो भनेको राजनीतिक दलहरु हो। ति दलहरुमा अझैपनि महिलाहरुको निर्णायक ठाउँको अधिकार अथवा निर्णय गर्ने ठाउँमा सर्वोच्च पदाधिकारीहरुमा कति छ भन्ने कुरो अझै हामीले विचार गरेर जानुपर्ने देखिन्छ।’

उनले राष्ट्रिय महिला आयोगले भुईं तहका महिलाहरुको लागि काम गर्नुपर्ने बताइन्। उनले भुईंतहका महिलाहरुलाई परेका पीर, मर्का र समस्या समाधानका लागि काम गर्न महिला आयोगलाई आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .