ad ad

राजनीति


राष्ट्रपति निर्वाचन : मतदाता सूचीमा फरार कोइरी अटे, जेलबाट छुटेका चौधरी अटेनन् (सूचीसहित)

राष्ट्रपति निर्वाचन : मतदाता सूचीमा फरार कोइरी अटे, जेलबाट छुटेका चौधरी अटेनन् (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १४:५९, काठमाडौँ

आगामी फागुन २५ गते हुन लागेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले बुधबार ८ सय ८१ जनाको मतदाता सूची सार्वजनिक गरेको छ। 

आयोगले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमार्फत सार्वजनिक गरेको मतदाता नामावलीमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभा सदस्य ५ सय ५० जनाको नाम रहेको छ। 

संघीय संसदतर्फ ३३४ सांसद हुन्छन्। जसमा चितवन क्षेत्र नम्बर २ अहिले रिक्त छ। त्यहाँका सांसद रवि लामिछानेको पद खारेजीमा परेकाले आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

उता मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको नाम पनि मतदाता नामवालीमा छैन। उनी निलम्बित अवस्थामा छन्। गुरुङमाथि भ्रष्टाचार मुद्दा चलिरहेको छ।

आयोगले तीन साता जेल बसेर आइतवार छुटेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको नाम पनि राष्ट्रपति निर्वाचनको मतदाता सूचीमा राखेको छैन। 

चौधरी आइतवार कारागार कार्यालय कैलालीबाट रिहा भएका थिए। उनलाई फागुन ७ को प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी सजाय मिनाहा गरिदिएकी थिइन्। 

चौधरी पक्राउ परेको सूचना संसद् सचिवालयमा सुनाइएको थियो। त्यहीकारण उनको नाम परेन। तर सभामुख देवराज घिमिरले बुधबारको संसद बैठकमा उनी जेलबाट रिहा भएको जानकारी संसदलाई दिएका छन्। 

अर्कातिर तत्कालीन मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपमा अदालतबाट थुनामा पठाउने आदेश भएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको नाम मतदातासूचीमा छ।

आफूलाई पक्राउ गर्ने सूचना पाएपछि कोइरी अहिले फरार अवस्थामा छन्। उनको मुद्दाबारे संसदमा कुरा उठेपछि कोइरी अहिले प्रतिनिधिसभामा पनि सहभागी छैनन्। उनले मंसिर ४ को निर्वाचनमा मा‌ओवादी नेता गिरिराजमणि पोखरेललाई हराएका थिए।

निर्वाचन आयोगले सार्वजनिक भएको तालिकाबारे बिहीबारसम्म दाबी विरोधको समय राखेको छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी नियमावलीमा आयोगले संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट पदमा बहाल सांसदहरूको सूची मगाएर मतदाता नामावलीको व्यवस्था गर्छ। 

मतदाता सूचीमा संघीय संसद सदस्यहरु :

मतदाता सूचीमा प्रदेशसभा सदस्यहरु :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .