नेपाली कांग्रेसा महामन्त्री विश्वप्रकाश शर्माले आत्महत्या न्यूनीकरणका लागि चार विषयमा गहन राष्ट्रिय विमर्शको आवश्यकता औँल्याएका छन्।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले आत्महत्या न्यूनीकरणका लागि राजनीतिमा रुपान्तरण, सामाजिक विसंगतिहरुको अन्त्य, झन्झटिलो प्रशासनिक प्रक्रियामा सुधार र आर्थिक विषमताको अन्त्यका लागि गम्भीर विमर्शको आवश्यकता औँल्याएका हुन्।
‘यी ४ गहन बिषयमा गम्भीर राष्ट्रिय विमर्श जरुरी छ,’ शर्माले भने, ‘सम्माननिय सभामुख महोदयमार्फत म सरकारको ध्यानाकर्षण गराउँदै दलहरु, मिडिया र समाजलाई विनम्र अपील गर्दछु।’
उनले संसद भवन बाहिर माघ १० गते आत्महत्या गरेका इलामका प्रेमप्रसाद आचार्यको घर पुगेर फर्किएको बताउँदै सुन्नेका लागि आत्महत्या केवल एउटा मृत्यु भए पनि भोग्ने परिवारका लागि पीडाको आकार बेहिसाब भएको बताए।
मानसिक अस्वस्थता, पारिवारिक सम्बन्धको द्वन्द्व, व्यक्तिको आकांक्षा र परिवेश बीचको असन्तुलन आत्महत्याको मुख्य कारण भए पनि असन्तुष्टी, आवेग र वितृष्णाका अनेक कारण, निराकरण गरेर परिवेशमा परिवर्तन गर्नु जिम्मेवार राज्य, राजनीतिक दल र असल समाजको कर्तव्य भएको महामन्त्री शर्माले जिकिर गरे।
Shares

प्रतिक्रिया