ad ad

राजनीति


अमेरिकाले खोज्यो नेपालको साथ, नुल्यान्डले उठाइन् यी तीन मुद्दा

अमेरिकाले खोज्यो नेपालको साथ, नुल्यान्डले उठाइन् यी तीन मुद्दा

प्रधानमन्त्री प्रचण्डलाई भेट्दै अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
माघ १६, २०७९ सोमबार १२:४५, काठमाडौँ

नेपाल भ्रमणमा आएकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तीन विषय उठाएकी छन्।

उनले उक्त भेटका क्रममा अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने, कतिपय विश्वराजनीतिक विषयमा साथ दिनुपर्ने कुरा राखेकी छन्। त्यसैगरी उनले नेपालको शान्ति प्रक्रियाप्रति पनि चासो राखेकी छन्। 

यो भेटका क्रममा यी तीन विषयबाहेक नेपालको विकास निर्माणमा आर्थिक सहयोग निरन्तरतासहितका विषयमा पनि दुईजनाबीच बालुवाटारमा कुरा भएको छ।

प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ताका क्रममा अमेरिकी उपविदेशमन्त्री नुल्यान्डले यीनै मुख्य तीन विषयमा चासो राखेको बालुवाटार स्रोतले जनाएको छ। 

नुल्याण्डले नेपालको भूराजनीतिक क्षेत्रीय चासोबारे पनि प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी सरोकार राखेकी थिइन्।

उनले यो भेटका क्रममा पछिल्लो विश्व भूराजनीतिक घटनाक्रमबीच आफ्नो मुलुकलाई प्राथमिकतामा राख्न पनि प्रचण्डलाई आग्रह गरेकी छन्।

‘उहाँले नेपालको प्राथमिकतामा अमेरिका पर्नुपर्ने धारणा राख्नुभयो’, स्रोतले नेपालखबरसँग भन्यो, ‘कतिपय अन्तर्राष्ट्रिय मामिलामा तटस्थ बस्दिनुपर्‍यो भन्ने थियो।’

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूहरुले छिमेकी देशसँगको सम्बन्धलाई पञ्चशीलको आधारमा अघि बढाइरहेको बताएका छन्।

‘हामी सकारात्मक छौँ तर, छिमेकी देशसँग सन्तुलन कायम गरेर अघि बढ्छौं,’ प्रधानन्त्रीले जवाफ दिँदै भने, ‘विषयवस्तुका आधारमा साथ र सहयोग हुन्छ।’

नेपालले लिएको असंलग्न परराष्ट्र नीतिअनुसार अघि बढ्ने जोड प्रधानमन्त्रीको थियो। 

‘हाम्रो मुलुकको आफ्नै नीति छ, त्यहीअनुसार हामी अघि बढ्छौँ, मुलुकको हित प्राथमिक हुन्छ,’ प्रधानमन्त्रीले भने। 

भेटमा नेपालको विकासका लागि अमेरिका तयार रहेको पनि उपविदेशमन्त्रीले बताएकी थिइन्। 

अमेरिकाले नेपालको शान्ति प्रक्रिया टुंगो लगाउन भइरहेको प्रयासप्रति सकारात्मक रहेको बताउँदै कतिपय विषयहरुको सम्बोधन गर्नुपर्ने उनको आग्रह थियो। 

‘शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन सरकारबाट भइरहेका काम सकारात्मक छन्, कतिपय विषयमा आममानिसको आवाज सम्बोधन हुँदा अझै राम्रो हुन्छ,’ उनले भनिन्, ‘यसको निष्कर्षम पुर्‍याउन हाम्रो तर्फबाट निरन्तर सहयोग रहन्छ।’

जवाफमा प्रधानमन्त्रीले नेपालकै मौलिकतामा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने प्रष्ट पारे। 

‘हाम्रो आफ्नै मौलिकतामा नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउँछौँ,’ प्रधानमन्त्रीले थपे, ‘यसमा अन्तर्राष्ट्रिय भ्यालुजलाई कायम राखेर अघि बढ्छौं।’

त्यस्तै उपविदेशमन्त्री नुल्यान्डले नेपालको विकासमा अझै सहयोग गर्ने बताइन्। ‘नेपालको विकसमा सहयोग गर्न  तयार छौँ,’ नेपाल-अमेरिका सम्बन्धको ७५ वर्ष भएको छ, अझै दुई मुलुकबीचको हीतमा सहयोग हुन्छ,’ उनले भनिन्। 

भेटमा प्रधानमन्त्रीमा नियुक्त भएकोमा अमेरिकी राष्ट्रपति जोइ बाइडेनले प्रचण्डलाई पठाएको बधाई सन्देश पनि उनले बुझाएकी थिइन्। 

नुल्यान्ड आइतबार साँझ नेपाल आइपुगेकी हुन्। उनले सोमबार थप राजनीतिक भेटवार्ता गर्नेछिन।

नुल्याण्ड प्रचण्ड नेतृत्वमा नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्। नेपालपछि उनले भारत र श्रीलंकाको भ्रमण गर्ने कार्यतालिका छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .