ad ad

राजनीति


परराष्ट्रमन्त्री राईको पहिलो विदेशयात्रा श्रीलंका, १९ गते कोलम्बो जाँदै

परराष्ट्रमन्त्री राईको पहिलो विदेशयात्रा श्रीलंका, १९ गते कोलम्बो जाँदै

सन्तोष घिमिरे
माघ १५, २०७९ आइतबार १८:३१, काठमाडौँ

परराष्ट्रमन्त्री विमला राई पौड्याल यही साता श्रीलंका भ्रमणमा जाने भएकी छन्।

श्रीलंका बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं बर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन मन्त्री राई कोलम्बो जान लागेकी हुन्। 

परराष्ट्र मन्त्रालय स्रोतका अनुशार मन्त्री राई बिहीबार (१९ गते) त्यसतर्फ जाने तय भएको छ।

‘मन्त्रीको श्रीलंका भ्रमण तय भएको छ। हामी भ्रमणको तयारीमा छौं’, मन्त्रालयका एक उच्च अधिकारीले नेपालखबरसँग भने।

श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेले शनिबार स्वतन्त्रताको ७५ औं बर्षगाँठका अवसरमा विशेष समारोह आयोजना गर्दैछन्। त्यस अवसरमा बिभिन्न देशका परराष्ट्र मन्त्री लगायत उच्च पदस्थ अधिकारीलाई निम्त्याइको छ।

श्रीलंकाले सन् १९४८ फेब्रुअरी ४ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेको थियो।

श्रीलंका स्वतन्त्र भएको ७५ औं बर्षगाँठका अवसरमा विविध कार्यक्रम पर्सि मंगलबारदेखि नै शुरु हुँदैछन्। फागुन ७ गतेसम्म विविध कार्यक्रम संचालन हुने श्रीलंकाली सञ्चार माध्यमले जनाएका छन्। उक्त विशेष अवसरमा श्रीलंकाको केन्द्रीय बैंकले एक हजारको सिक्का र दुईवटा हुलाक टिकट पनि जारी गर्ने भएको छ। 

श्रीलंकाका विदेशमन्त्री अलि साब्रिले केही समयअघि मन्त्री राईलाई सो अवसरका लागि निम्ता पठाएका थिए। मन्त्री नियुक्त भएपछि राई पहिलो विदेश यात्रामा श्रीलंका जाने भएकी हुन्।

एमाले नेतृ राई दुईसाता अघि परराष्ट्रमन्त्री नियुक्त भएकी थिइन्। विकास तथा वातावरण विद् राई सहाना प्रधान र सुजाता कोइरालापछि परराष्ट्रमन्त्री बन्ने नेपाली महिला नेतृ हुन्। 

उच्चस्तरीय भेटवार्ता हुने 
श्रीलंका भ्रमणका क्रममा मन्त्री राईले उच्चस्तरीय भेटवार्ता पनि गर्नेछन्। समकक्षि साब्रिसँग कोलम्बोमा परराष्ट्रमन्त्री राईको द्विपक्षीय भेटवार्ता हुँदैछ। त्यसक्रममा श्रीलंका—नेपाल राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धका विविध पक्षबारे कुराकानी हुनेछ। 

स्रोतका अनुशार मन्त्री राई र श्रीलंकाली समकक्षिबीच नेपाल—श्रीलंका संयुक्त आयोगको बैठक आयोजना गर्नेबारे कुराकानी हुनेछ। श्रीलंकाले संयुक्त आयोग बैठकका लागि ताकेता गरिरहेको छ। श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजपाक्षे सन् २००९ मा नेपाल आउँदा संयुक्त आयोग स्थापना भएपनि आयोगको बैठक अहिलेसम्म बसेको छैन। 

श्रीलंका र नेपालबीच सिधा हवाई उडान हालै शुचारु भइसकेको छ। नेपाल र श्रीलंकाबीच सांस्कृतिक सम्बन्ध पनि छ। बौद्दमार्गीको बाहूल्यता रहेको मुलुक श्रीलंकाको लुम्बिनीमा विशेष चासो छ। श्रीलंकाले लुम्बिनीमा एक अस्पताल बनाउने घोषणा गरिकेको छ। भ्रमणमा मन्त्री राईका साथमा परराष्ट्र अधिकारीहरु पनि रहनेछन्।

के छ श्रीलंकाको पछिल्लो अवस्था? 
श्रीलंका दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को आठमध्ये एक सदस्य मुलुक हो। नेपाल अहिले सार्ककको अध्यक्ष मुलुक हो। सार्क अध्यक्ष देशका नाताले नेपालले श्रीलंकाको अवस्थाबारे सामान्य चासो दर्शाएको थियो गतबर्ष। 

बाह्य ऋणले थिचिएसँगै घरेलु राजनीति र अर्थव्यवस्थाको प्रभावकारी ‘ह्यान्डलिङ्’ गर्न नसक्दा गतबर्षदेखि श्रीलंका आर्थिक संकटमा फस्न पुग्यो। 

राष्ट्रिय अर्थतन्त्र धरासायी भएसँगै खाद्यान्न, औषधि, इन्धन र खाना पकाउने ग्याँसको अभाव चरम भएपछि गतबर्ष श्रीलंकाली जनता सडकमा उत्रिएका थिए।

चर्को जनबिरोधका क्रममा उनीहरुले राष्ट्रपति गोतबया राजपाक्षेको निजी निवासमै छिरेर आक्रमण गरी कब्जामा लिएका थिए। राजपाक्षे त्यसपछि मुलुक छाडेर निर्वासनमा गए। यद्यपी पछिल्ला दिनमा श्रीलंकाको आर्थिक अवस्थामा केही सुधार आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .