नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरुले पार्टी नेतृत्वसँग हरेक क्षेत्रमा ४० प्रतिशत भाग माग्न समूहभित्रै दबाब दिन सुरु गरेका छन्। नेतृत्वले पार्टीका विभाग, भ्रातृ तथा शुभेच्छुक संस्थालगायतमा ४० प्रतिशत भाग नपाए १५ औँ महाधिवेशनको तयारीमा जुट्नु पर्ने उनीहरुको माग छ।
बत्तिसपुतलीमा आइतबार बसेको बैठकमा बोल्ने नेताहरुले समूहको नेतृत्व गरिरहेका नेता डा. शेखर कोइरालालाई पार्टीमा सभापति शेरबहादुर देउवासँग ४० प्रतिशत भाग माग्न दबाब दिएका हुन्।
बैठकमा सहभागी नेता जगदीश्वर नरसिंह केसीले आइतबारको बैठकमा बोल्ने अधिकांश नेताहरुले ४० प्रतिशत भाग नपाए नेतृत्वलाई एकल रुपमा पार्टी सञ्चालन गर्न दिएर आफूहरु १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्नेमा जोड दिएको जानकारी दिए।
‘अस्तित्वका लागि ४० प्रतिशत लिनुस्, होइन भने केही चाहिएन भनेर छाडिदिनुस्,’ उनले बैठकमा आफूले राखेको धारणाबारे भने, ‘त्यसपछि हामी पार्टीमा एकलौटी भयो भनेर कार्यकर्ता माझ जाऔँ। महाधिवशेनको तयारीमा लागौँ।’
नेता केसीले बैठकमा बोल्ने १० जना नेतामध्ये अधिकांशले पार्टीका हरेक निकायमा ४० प्रतिशत भाग माग्नु पर्ने र संस्थापन पक्षले असहमति राख्नेलाई पेल्ने, ठेल्ने तथा अस्तित्व स्वीकार नगर्ने अवस्था आए भाग चाहिएन भन्न तयार हुनुपर्नेमा जोड दिएको पनि बताए।
आइतबारको बैठकमा इतर समूहमा रहेका नेताहरु रामनाथ अधिकारी, रामकृष्ण यादव, डिगबहादुर लिम्बु, तेजुलाल चौधरी, सरिता प्रसाई, मुक्ताकुमारी यादवलगायतका नेताहरुले बोलेका थिए।
बैठकपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नेता केसीले सभापति देउवाले पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठ गरेर स्खलित, कमजोर र रुग्ण बनाएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन्।
‘जनताले कांग्रेसलाई संसदको सर्वाधिक ठूलो पार्टी बनाइदिएका छन्,’ उनले लेखेका छन्, ‘तर, नेतृत्वको अदूरदर्शिताले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दूरावस्था छ।’
बैठकमा समूहका नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदा तटस्थ बस्नु पर्ने आफ्नो प्रस्तावको कार्यसम्पादन समितिमा सुनुवाइ नभएको गुनासो गरेका थिए। कार्यसम्पादन समिति बैठकमा बहुमतको निर्णय मान्नु पर्ने बाध्यतामा आफू परेको कोइरालाको भनाइ थियो।
प्रचण्ड नेतृत्वको सरकारलाई पार्टीले विश्वासको मत दिएर गल्ती गरेको पनि उनले बैठकमा राखेको नेताहरुले बताएका छन्।
‘हामीले विश्वासको मत दिएर गल्ती गर्यौँ। तटस्थ बस्ने प्रस्ताव मैले कार्यसम्पादन मा राखेको थिएँ, त्यसको सुनुवाइ भएन,’ ती नेताले कोइरालाको भनाइ उद्धृत गर्दै भने, ‘बहुमतको निर्णय मान्नु पर्ने बाध्यता पर्यो। विश्वासको मत दिन हुने थिएन।’
बत्तिसपुतली बैठकमा पुस ६ गते सम्पन्न संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाको पक्षमा कम मत खस्नुको कारण खोजिनिती भएको छ। बैठकमा समूह भनेर लागेपछि समूहमा आवद्ध सबैको मत आउनुपर्ने अन्यथा समूह भनेर हिँड्न नहुनेसमेत कुरा उठेको पनि ती नेताले बताए।
‘संसदीय दलमा हाम्रो पक्षको मत किन एकीकृत हुन सकेन, किन कम आयो, टिम भनेर लागेपछि टिममा भोट आउन पर्यो नि, कि टिम भनेर हिँड्नै भएन,’ ती नेताले भने।
दलको नेता चयनका लागि भएको निर्वाचनमा उम्मेदवारी तय गर्न पनि समूह चुकेको ती नेताको भनाइ थियो।
‘अन्तिम समयसम्म उम्मेदवारी टुंगो लगाउन हाम्रो ढिलाइ भयो,’ ती नेताले बैठकमा उठेको कुरा उद्धृत गर्दै भने, ‘शेखर कि गगन भन्नेमा किन अलमल भयौँ?’
दलको निर्वाचनमा सभापति शेरबहादुर देउवा ६४ मतका साथ नेता चुनिएका थिए। महामन्त्री थापाले २५ मत पाएका थिए। इतर समूहले आफूहरुको मत ३१ रहेको दाबी गरेको थियो।
प्रतिनिधि सभा सदस्यसमेत रहेका केन्द्रीय सदस्य रामकृष्ण यादवले बैठकमा कांग्रेस आगामी दिनमा कसरी अगाडि बढ्ने, रणनीति के हुने, संसदमा भूमिका कस्तो हुने भन्ने विषयमा धारणा राखिएको जानकारी दिए।
‘नेपाली कांग्रेस अबको अवस्थामा कसरी अगाडि बढ्नु पर्ने हो, रणनीति के हुन्छ, संघीयदेखि सात वटै प्रदेशको संसदमा भूमिका कस्तो हुने भनेर आफ्ना आफ्नो धारणा राख्यौँ,’ उनले भने।
नेता यादवले सरकारलाई दिएको विश्वासको मतका बारेमा पनि छलफल भइरहेको बताए।
‘सरकारलाई दिएको विश्वासको मत ठिक कि बेठिक भन्ने विषय छलफलमै छ,’ उनले भने, ‘ठिक मानेर नै विश्वासको मत दिइएको हो।’
कांग्रेस नेता डा. चन्द्र भण्डारीले बैठकमा पार्टीले सरकारलाई दिएको विश्वासको मतका बारेमा छलफल भएको जानकारी दिए।
‘विश्वासको मत दिएर गल्ती गरियो भन्ने त नतिजा नै आउँदै छ। कति साथीहरुलाई गल्ती गरियो भन्ने छ। कतिलाई यत्रो हामी गठबन्धन गरेर गयौं, माओवादीले स्वार्थका निम्ति गए पनि हामीले ढोका बन्द गर्न हुँदैनथ्यो भन्ने पनि तर्क छ,’ बैठकपछि उनले भने, ‘कहीँ प्रतिपक्षमा बस्नु पर्छ, जनताका स्पष्ट दृष्टिकोण राखेर जानु पर्छ भन्ने पनि छ।’
नेता भण्डारीले विभिन्न तर्कहरुलाई छलफलका माध्यमबाट निष्कर्षमा पुर्याउन आफूहरुले छलफलको सुरुवात गरेको पनि बताए।
‘यी विभिन्न तर्कहरुलाई हामीले एउटा निष्कर्षमा पुर्याउनका निम्ति बल्ल छलफल सुरु भएको हो,’ उनले भने। इतर समूहले अर्को बैठक माघ १० गते बिहान ११ बजेका लागि फेरि बोलाएको छ।
प्रतिक्रिया