उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता विवादमा सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट उनले छुट्टा छुट्टै जवाफ बुझाएका हुन्। सर्वोच्चको संवैधानिक इजलासमा उनको नागरिकताको वैधानिकतामाथी उठेको प्रश्न विचाराधीन छ।
यसअघि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि अन्तिम सुनुवाइका लागि माघ ११ गतेलाई पेशी तोकेको छ।
सर्वोच्चले दिएको समयसीमै लिखित जवाफ बुझाएका रविले आफूले पुनः नागरिकता लिनु नपर्ने जिकिर गरेका छन्।
आफ्नो नागरिकतामाथि प्रश्न उठाउँदै दायर भएको रिट खारेज गर्न समेत उनले सर्वोच्चमा माग गरेका छन्। आफूले अमेरिकी नागरिकता त्यागेको जानकारी अध्यागमन विभागलाई पहिल्यै दिइसकेको जिकिर गर्दै रविले आफूले नेपाली नागरिकता नै नत्यागेकाले पुनः प्राप्तिका लागि निवेदन दिनु नपर्ने भनि दोहोरो जवाफ दिएका छन्।
यस्तै आफूलाई नेपाल सरकारकै निकायले पहिल्यै नेपाली नागरिक स्वीकार गरिसकेको पनि उनको लिखित जवाफमा जिकिर गरिएको छ। निर्वाचन आयोगमा उजुरी परिसकेपछि आयोगले आफ्नो उम्मेदवारी खारेज नगरी विजयी घोषणा गर्नुले पनि आफू नेपाली नागरिक भएको पुष्टि गर्ने रविको दाबी छ।
आयोगमा रविविरुद्ध कात्तिक २९ गते उजुरी परेको थियो। आयोगले मंसिर १३ गते रविलाई सांसदमा निर्वाचित घोषणा गरेको थियो।
रविले वंशजका आधारमा २०५० फागुन १० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएका थिए। तर अमेरिका गएका रविले २०७० फागुन ९ गते अमेरिकी नागरिकता प्राप्त गरे पनि नेपाली नागरिकता भने त्याग गरेका थिएनन्।
अमेरिकी नागरिकता लिएको ५ वर्षपछि उनले २०७५ जेठ ५ गते नेपालस्थित अमेरिकी दुतावासमा अमेरिकी नागरिकता त्याग्न निवेदन दिएका थिए। त्यसअघिबाटै नेपालमा कार्यरत रवि भिसा लिएर नेपाल आएका थिए।
२०७५ असार १४ गते अमेरिकी नागरिकता परित्यागको स्वीकृति पत्र पाएकाले त्यसपछि स्वतः नेपाली नागरिक भएको रविको दाबी छ।
तर अमेरिकी नागरिकता त्याग गरेपनि पुनः नेपाली नागरिकता लिनका लागि उनले प्रक्रि या पूरा नगरेको र खारेज भइसकेको नागरिकता प्रयोग गरिरहेको उनीमाथि प्रश्न छ। उनको सांसद पद र रास्वपाको सभापति पद पनि खारेज हुनु पर्ने निवेदकको माग छ।
रविले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालकोा नागरिकता ऐनको दफा १० को उपदफा १ अनुसार कायम नरहने अवस्था भने स्वीकार गरेका छन्। तर आफूले दफा १० को उपदफा २ अनुसार नेपाली नागरिकता नत्यागेको हुँदा नियम ९ को कार्यविधि आफ्नो हकमा प्रासंगिक नभएको जवाफ उनको छ। आफ्नो नागरिकता रद्द नभएको र नागरिकबाट नहटाएकाले आफूले पुनः प्रक्रिया पूरा गर्न नपर्ने दाबी गरेका छन्।
आफूले नेपाली नागरिकता त्यागेर अमेरिका गएको अवस्था नभएकाले पुनः कायम गरी पाउँ भनि हुँदै नभएको विवरण दिई निवेदन गर्न सक्ने अवस्था नरहेको जवाफमा उल्लेख छ। यो अवस्थामा नेपाली नागरिकता पुनः लिनका लागि के कस्तो कार्यविधि हुनुपर्छ भन्ने कुरा सिंगो नागरिकता नियमावलीमा प्रष्ट नलेखिएको उनको जिकिर छ।
अमेरिकी नागरिकता त्यागेको जानकारी २०७५ असार ६ गते निवेदन दिइसकेको र गृह मन्त्रालयले त्यही असार ७ गते प्रेस काउन्सिल र सञ्चार मन्त्रालयलाई गराईसकेकाले त्यसपछि नेपालमा बस्न भिसा आवश्यक नभएको बताएका छन्।
नेपाल सरकारले समेत आफ्नो पुरानो नागरिकताकै आधारमा सेवा सुविधा दिइरहेको उदाहरण उनले जवाफमा पेश गरेका छन्। यस्तै आफ्नो नागरिकताको विषयमा गृह मन्त्रालयमा उजुरी परेर प्रहरीले अनुसन्धान गरिरहेकाले अदालतमा रिट खारेज हुनु पर्ने पनि दाबी गरेका छन्।
यस्ताे छ रविको जवाफ :
प्रतिक्रिया