अमेरिकाको मेरिल्यान्ड राज्यको ‘जनरल एसेम्बली’मा दोस्रोपटक विजयी नेपाली मूलका पहिलो अमेरिकी विधायक डा ह्यारी भण्डारीले शपथ खाएका छन्।
नेपाली मूलबाट अमेरिकाको राज्य संसद्मा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो हुन्। मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा आयोजित समारोहमा भण्डारी हिन्दूहरुको पवित्र ग्रन्थ भागवत गीता छोएर शपथ खाएका हुन्।
शपथ खाएपछि रासससँगको संक्षिप्त कुराकानीमा भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र समावेशीताको कारण एक आप्रवासीका रुपमा मतदाताले मत दिएर विजयी गराउनु महत्त्वपूर्ण उपलब्धि भएको टिप्पणी गरे।
भण्डारीले अगाडि थपे, “म मेरो जिम्मेवारी वहन गर्दैगर्दा अमेरिकामा रहनुभएका नेपाली भाषी, यही भूमिमा जन्मिएका नेपाली अमेरिकनको सपनालाई समेत केन्द्रमा राखेर काम गर्नेछु।”
भण्डारीले आफनो कार्यकालय रहेको स्थानमा नेपालको झण्डा र सगरमाथाको फोटोसमेत राखेका छन्। यसअगाडि आयोजित बधाई कार्यक्रममा डा. भण्डारीले गीताको सारजस्तै कर्म गर्न आफू लागिरहने बताए। उनले थपे, “सार्वजनिक सेवामा काम गर्न मलाई गीताको सारले सदैव प्रेरित गर्नेछ।” साथमा नेपाली समुदायका अगुवाहरुले उनको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
मेरिल्यान्ड राज्यको तल्लो सदन जनरल एसेम्बलीमा डिष्ट्रिक आठ बाट १९ हजार सात सय दुई मत ल्याएर गत नोभेम्बर ८ तारिखमा भएको निर्वाचनमा विजयी भएका हुन्। उनी उक्त क्षेत्रबाट सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन्। भण्डारीले अघिल्लो कार्यकालमा दर्जन विधयेक संसद्बाट पारित गराउन सफल भएका थिए। स्वास्थ्य तथा सरकार सञ्चालन समितिमा बसेर काम गरेका भण्डारीले महामारीका बेला कसरी जुध्ने र नागरिकको जीवन रक्षार्थ कस्तो रणनीति अङ्गीकार गर्ने भन्ने अत्यन्तै संवेदनशील विषयमा अनुभव लिन पाएको बताए।
अमेरिकामा एक आप्रवासीका रुपमा नेपालबाट सन् २००५ मा अमेरिका आएका भण्डारीले डेढदशक भन्दा बढी मेरिल्यान्डको विद्यालयमा अध्यापन गरेको अनुभव छ भने मेरिल्यान्डमा रहेको युनिभर्सिटी अफ मेरिल्यान्डबाट विद्यावारीधिसमेत गरेका छन्। नेपालको पर्वत जिल्लाको थापाथानामा बुबा अम्मरबहादुर भण्डारी र आमा कान्तिकुमारीको सन्तानका रुपमा जन्मिएका भण्डारी आफ्नी पत्नी सङ्गीता भण्डारीसहित सपरिवार अमेरिकामा बस्छन्।
व्यावसायिक, राजनीतिक र अध्ययनमा भण्डारीको सफलता आप्रवासी नेपाली अमेरिकनको लागि मात्र नभई एसियाली अमेरिकनहरुका लागि पनि रोचक छ। आगामी चार वर्ष भण्डारीले मेरिल्यान्ड राज्यको विधायकका रुपमा कानुन तर्जुमा तथा बजेट निर्माणमा भूमिका खेल्नेछन्। रासस
Shares

प्रतिक्रिया