राष्ट्रपति विद्या भण्डारीबाट प्रधानमन्त्री नियुक्त भएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) गणतन्त्र यता तीन पटक प्रधानमन्त्री बन्ने पहिलो नेता बनेका छन्।
२०६५ मा पहिलो र २०७३ मा दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डको यो रेकर्ड २०७४ मा दोहोरिएर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि बराबरी हुन पुगेको थियो।
प्रचण्डले पाएको यो तेस्रो अवसरलाई कतिपयले भर्खरै विश्वकप जितेको अर्जेन्टिनासँग यसरी तुलना गर्ने गरेका छन्– दुई तारामात्र अंकित अर्जेन्टिनाको जर्सीमा जसरी यसपटक एक तारा थपिएर तीन तारा हुन पुग्यो, प्रचण्डको जर्सीमा पनि थप एक तारा थपियो र तीन तारा अंकित हुन पुग्यो।
प्रतिनिधि सभामा जम्मा ३२ सिट सहित रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेसँगै निर्वाचनमा विजयी वा ठूलो दलले सरकारको नेतृत्व गर्ने २०१५ देखिको परम्परा पनि भत्किन पुगेको छ।
कसैको बहुमत नरहेको ‘हङ्ग पार्लियामेन्ट’ का बेला दोस्रो वा तेस्रो ठूलो दलका नेताहरुले आवश्यक बहुमत जुटाएर प्रधानमन्त्री नबनेका होइनन्। तर, निर्वाचन लगत्तैको पहिलो सरकारको नेतृत्व भने बहुमत प्राप्त वा सबैभन्दा ठूलो दलले गर्ने गरेका थिए।
यो परम्परा पहिलो आम निर्वाचन (२०१५) देखि स्थापित हुँदै आएको थियो। पहिलो आम निर्वाचनमा दुई तिहाई सिटमा विजयी कांग्रेस नेता बीपी कोइराला प्रधानमन्त्री बनेका थिए।
२०४८ को आम निर्वाचनमा पनि नेपाली कांग्रेसले बहुमत प्राप्त गरेको थियो। बहुमत प्राप्त दलको संसदीय दलको नेताको हैसियतमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने।
२०५१ को मध्यावधि निर्वाचनमा भने कुनै दलको बहुमत आउन सकेन। ८८ सिट सहित एमाले ठूलो दल बन्यो। तर, २ सय ५ सदस्यीय प्रतिनिधि सभामा उसको बहुमत पुग्दैनथ्यो।
दोस्रो ठूलो दल बनेको नेपाली कांग्रेसको ८३ र तेस्रो दल राप्रपाको २० गरी १ सय ३ सहित बहुमत पुग्ने भएपनि सबैभन्दा ठूलो दलको हैसियतमा पहिलो सरकार निर्माण गर्ने अवसर एमालेले नै प्राप्त गर्यो।
२०५६ को निर्वाचनमा भने कांग्रेसले बहुमत प्राप्त गर्यो, पटक–पटक प्रधानमन्त्री फेरिएपनि कांग्रेसकै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा पालैपालो प्रधानमन्त्री बने।
२०६३ को परिवर्तनपछिका आम निर्वाचनमा कुनै दलले पनि बहुमत हासिल गर्न सकेका छैनन्। ‘हङ्ग पार्लियामेन्ट’ का कारण प्रत्येक निर्वाचनपछिको संसदबाट दुई वा दुईभन्दा बढी प्रधानमन्त्री हुँदै आएका छन्।
यसका बाबजुद पहिलो कार्यकालमा चाहिँ विजेता दलले नै सरकारको नेतृत्वको अवसर प्राप्त गरेका छन्।
२०६४ को पहिलो संविधान सभामा २ सय २९ सिटसहित माओवादी केन्द्र पहिलो ठूलो दल बनेको थियो। तर, संविधान सभा ६ सय १ सदस्यीय भएकाले उसको बहुमत पुग्दैनथ्यो। त्यसबेला एमाले र तत्कालिन मधेशी जनअधिकार फोरमको सहयोगमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बने।
२०७० को दोस्रो संविधान सभा निर्वाचनमा १ सय ९४ सिटसहित नेपाली कांग्रेस पहिलो ठूलो दल बनेको थियो। एमाले १ सय ८४ सहित दोस्रो ठूलो दल बन्यो। सबैभन्दा ठूलो दलको हैसियतमा एमालेको सहयोगमा कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बने। र, २०१५ देखिको परम्परालाई निरन्तरता दिए।
२०७४ को आम निर्वाचनमा १ सय २१ सिटसहित एमाले सबैभन्दा ठूलो दल बन्यो। एमाले एक्लैको बहुमत नरहेपनि माओवादी केन्द्रको समर्थनमा सबैभन्दा ठूलो दल बनेको एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे।
बहुमत हासिल नगरेपनि यसपटकको आम निर्वाचन–२०७९ मार्फत् पहिलो ठूलो दलका रुपमा कांग्रेसको ‘कमब्याक’ भएको छ। तर, २०१५ देखि नै पहिलो दलले सरकारको नेतृत्व गर्ने परम्परा तोडिन पुगेको छ। यो परम्परा प्रचण्डले तोडिदिएका छन्।
Shares

प्रतिक्रिया