ad ad

राजनीति


छैटौँपटक संसदीय दलको नेतामा निर्वाचित देउवाको यस्तो छ राजनीतिक यात्रा

छैटौँपटक संसदीय दलको नेतामा निर्वाचित देउवाको यस्तो छ राजनीतिक यात्रा

नेपालखबर
पुस ६, २०७९ बुधबार १९:५, काठमाडौँ

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको संसदीय दलको नेतामा चुनिएका छन्। पार्टीको संसदीय दलको नेताका लागि आज भएको मतदानमा उनले अर्का उम्मेदवार पार्टीका महामन्त्री गगनकुमार थापालाई हराई निर्वाचित भएका हुन्।

मतदानमा कुल ८९ मत खसेको थियो। त्यसमध्ये सभापति देउवाले ६४ र महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेस संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिले जनाएको छ। 

सभापति देउवाको उम्मेदवारीको प्रस्तावकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का थिए। यसैगरी महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावकमा नेता डा शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदिप पौडेल थिए। 

सभापति देउवा योसँगै छैटौँपटक संसदीय दलको नेता बनेका छन्। यसअघि उनी विसं २०५१, २०५८, २०६३, २०७२ र २०७४ मा समेत संसदीय दलको नेता चुनिएका थिए। 

कांग्रेस सभापति देउवा नेपाली राजनीतिमा ६ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वका रुपमा स्थापित छन्। उनी पार्टीको १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि पुनः सभापतिमा निर्वाचित भएका थिए। 

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो। उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गरिरहेका छन्। 

विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्। प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंँमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। 

नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन्। विसं २०४८, २०५१, २०५६, २०७४ र २०७९ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएका संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए। 

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्। पहिलोपटक विसं २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए। 

सोही वर्ष असोज १८ गते उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए। 

प्रधानमन्त्री हुँदा उनले पिछडिएका भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) लगायतको अवधारणा ल्याएर जनताको विश्वास जितेका थिए। उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन्। 

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) को उनी सभापति बनेका थिए। पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी पार्टीको वरिष्ठ नेता भएका थिए। त्यसपछि २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनट्ठ सभापतिमा निर्वाचित भएका थिए। 

सभापति एवं पार्टी संसदीय दलका नेता देउवा व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ जेठ २३ गते चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार पहिलोपटक सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराउन सफल भएका थिए। 

सभापति देउवा २०७८ असार २९ गते पाचौँपटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन्। त्यसयता उनी नेतृत्वकै सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ। सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि पछिल्लो कार्यकालसम्म उक्त सङ्गठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष रहेका थिए। प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .