ad ad

राजनीति


प्रतिपक्षमा बस्ने ‘मुड’मा राप्रपा, आएको छैन सत्ताको प्रस्ताव

प्रतिपक्षमा बस्ने ‘मुड’मा राप्रपा, आएको छैन सत्ताको प्रस्ताव

तस्बिर : नेपालखबर


नेपालखबर
पुस ४, २०७९ सोमबार ११:५३, काठमाडौँ

नयाँ सरकारको रस्साकस्सी चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा जानेबारे औपचारिक निर्णय गरिसकेको छैन। प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फबाट ७ गरी संघीय संसदमा १४ जना सांसदको प्रतिनिधित्व गरेको राप्रपामा प्रतिपक्षमा बसेर खबरदारी गर्नपर्ने मत बलियो बन्दै गएको छ। 

यद्यपि अहिलेसम्म राप्रपाले संसदीय दलको नेता चुनेको छैन।

राप्रपाले आज (सोमबार) नवनिर्वाचित सांसदहरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम राखेको छ। ‘आज बधाई तथा शुभकामना कार्यक्रम छ,’ राप्रपा नेतृ रेखा थापाले भनिन्, ‘चाँडै संसदीय दलको बैठक बसेर नेता चुन्ने काम हुन्छ, त्यसपछि मात्रै सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्नेबारे निर्णय हुन्छ।’

त्यसो त, जनताले आफूहरुलाई प्रतिपक्षमा बसेर खबरदारी गर्नेगरी मत दिएको कारणले अहिले नै सत्तामा जान हतारो गर्न नहुने थापाको तर्क छ। 

‘आएको छैन सत्ता सहकार्यको प्रस्ताव’
प्रमुख राजनीतिक दलहरूले धमाधम साना दल तथा स्वतन्त्र सांसदहरूसँग सत्ता सहकार्यको प्रस्तावसहित भेटघाट तीव्र बनाइरहेका छन्। संघीय संसदको पाँचौं ठूलो दल राप्रपासमक्ष अहिलेसम्म ठूला दलले सत्ता सहकार्यको प्रस्ताव गरेका छैनन्।

कुनै दलबाट सत्ता सहकार्यका लागि प्रस्ताव नआएको बताउँदै राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जे निर्णय भए पनि सर्वसम्मतबाटै हुने दाबी गरे।

‘सरकार निर्माणबारे कुनै दलबाट पनि औपचारिक प्रस्ताव आएको छैन। आफैं दाबी गर्नका लागि जनमत हामीलाई प्राप्त भएको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘बरु, प्रतिपक्षमा बस्ने म्यान्डेट जनताले दिएका छन्।’

आफ्नो सजिलोका लागि दलहरूले जोडघटाउ गरेका हुनसक्ने भएपनि अहिलेसम्म औपचारिक छलफल कोहीसँग नभएको उनले बताए। 

राप्रपा अहिले सरकारमा जानभन्दा पनि एजेण्डामा केन्द्रित भएर अघि बढ्न चाहेको उनले बताए। ‘हामी सरकारमा जानभन्दा अन्य एजेण्डामा छलफल हुनपर्छ भन्ने पक्षमा छौं तर औपचारिक प्रस्ताव आएको खण्डमा छलफल हुन्छ,’ श्रेष्ठले भने। 

‘पार्टीभित्र दुई लाइन छैन’
सत्तामा बस्ने वा नबस्ने भन्नेबारेमा पार्टीभित्र कुनै दुई लाइन नभएको राप्रपाका नेताहरू बताउँछन्। 

‘अहिले हामीलाई जनताले दिएको म्यान्डेट नै प्रतिपक्षमा बस्नु भन्ने हो,’ राप्रपाका एक पदाधिकारीले भने, ‘कसैले पनि आफ्नो सत्ता स्वार्थका लागि पार्टी निर्णय बाहिर गएर सोच्न हुँदैन।’

राप्रपाबाट निर्वाचित केही सांसदहरूले सरकारमा सहभागी हुनुपर्ने र त्यसका लागि दुवै गठबन्धनसँग छलफल अघि बढाउने मत अघि सारेका थिए। तर, अहिले नै सत्तामा जान हतारो गर्न नहुने धेरै सांसदहरुको सुझाव छ। 

‘पार्टीभित्र पनि कुनै दुइमत छैन्। जे हुन्छ पार्टीबाट सर्वसम्मत निर्णय गर्छौं’ प्रवक्ता श्रेष्ठले भने,‘हामीलाई देश हाँक्ने पार्टी बनाउनु छ। त्यसका लागि आन्तरिक एकता मजबुत हुनुपर्ने जरुरी छ।’

यसबारे सल्लाह नगरी पार्टीमा कोही व्यक्तिले मात्र बोलेर नहुने कार्यसम्पादन समिति सदस्यसमेत रहेकी थापा बताउँछिन्। ‘कोही पनि सरकारमा जानेगरी गतिविधि अहिले नै अघि बढेका छैनन्,’ थापाले भनिन्, ‘बाहिर आएका हल्लाहरु सबै सत्य हुँदैनन्, आवश्यक्ता हेरेर पार्टीले बाँकी निर्णय लिन्छ।’

पार्टीको केन्द्रीय कमिटी सदस्यको हिसाबले आफू पनि अहिले प्रतिपक्षमा बसेर खबरदारी गर्नपर्ने थापा बताउँछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .