नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अंहकारीरूपमा केपी शर्मा ओली उदाएपछि वाम गठबन्धन टुटेको बताएका छन्।
मंगलबार सुर्खेतको लेखबेशी नगरपालिकाको मेहलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वामपन्थीको गोलभित्र अंहकारीरूपमा ओली उदाएकाले वामगठबन्धन टुटेको स्पष्ट पारेका हुन्।
अध्यक्ष प्रचण्डले एमालेका अध्यक्ष ओलीसँग अब कुनै सहकार्य नहुने बताए।
उनले भने,‘ गठबन्धन १५ वर्ष जाने छ र देशमा शान्तिको नयाँ युगको सुरुवात हुने छ।’
साथै उनले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको बताए। देशमा राजनीतिक परिवर्तन अनुकुल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहने पनि उनले बताए।
उनले भने, ‘हाम्रो संकल्प १५ वर्षसम्म गठबन्धन कायम राखेर लैजाने छ।’
प्रचण्डले परिवर्तनको रक्षाका लागि यो गठबन्धन भएको दाबी गरे। साथै संविधानको रक्षा र शान्ति प्रक्रियाका बाँकी काम र समृद्धिको लागि बनाइएको उनको भनाई थियो।
यस्तै, प्रचण्डले केपी ओलीमा अंहकार देखिएको भन्दै सत्तालाई क्याप्चर गरेर निरशंकुशताबाट सत्ता सञ्चालन गर्न खोजेको आरोप लगाए। उनले परिवर्तनलाई उल्टाउने प्रयास कसैले गर्न नसक्ने दाबी पनि गरे।
उनले देशको रक्षाका लागि गठबन्धनको आवश्यक रहेको बताउँदै सुर्खेत–१ बाट प्रतिनिधि सभामा पूर्णबहादुर खड्कालाई विजयी गराउन आग्रह गरे।
Shares

प्रतिक्रिया