ad ad

राजनीति


आयोगले सोध्यो ८७ स्पष्टीकरण, गर्‍यो १ कारबाही

आयोगले सोध्यो ८७ स्पष्टीकरण, गर्‍यो १ कारबाही

केशव सावद
कात्तिक २४, २०७९ बिहिबार १०:३३, काठमाडौँ

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुन ११ दिन बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन नगर्नेहरूमाथि नजिकबाट निगरानी गरिरहेको छ। आचारसंहिता उल्लघंनकर्तामाथि स्पष्टीकरण सोध्न आक्रामक देखिएको आयोग उल्लघंनकर्तामाथि कारबाहीको ‘डन्डा’ चलाउन भने हिच्किचाएको छ। 

निर्वाचन आयोग ऐन–०७३ को दफा २३ को उपदफा २ अनुसार अहिलेसम्म आयोगले बुधबारसम्म ८७ जनालाई स्पष्टीकरण सोधिसकेको छ। निर्वाचन आयोग स्रोतले उपलब्ध गराएको सूची हेर्दा यसरी स्पष्टीकरण सोधिएकामध्ये १ जनालाई मात्र कारबाही भएको छ। 

आचारसंहिता उल्लंघनका घटनामा स्पष्टीकरण सोधिनेमा शीर्ष नेतादेखि स्थानीय तहका जनप्रतिनिधिसम्म छन्। निर्वाचन आयोग ऐन–२०७३ दफा २३ को उपदफा २ मा ‘आचारसंहिता पालना नभएको वा उल्लंघन भएको देखिएमा तुरुन्त रोक्न वा बदर गर्नका लागि सम्बन्धित राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आदेश दिने’ उल्लेख छ। 

सोही दफाको उपदफा ३ मा आयोगले दिएको आदेशबमोजिम काम–कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने उल्लेख छ। 

यस्तै, उपदफा ४ मा कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले उम्मेदवारी रद्द गर्न सक्नेसमेत अधिकार दिएको छ। 

यद्यपि, आयोगले उम्मेदवारी रद्द गर्नुअघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका भने दिनु पर्ने हुन्छ। पछिल्लो समय आचारसंहिता उल्लंघन भएको भन्दै आयोगले एकपछि अर्को गरी स्पष्टीकरण सोध्दै आएको छ। 

गत असोज २६ गते पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्टीकरण सोध्न सुरु गरेको आयोगले हालसम्म व्यक्ति र कार्यालयहरु गरेर ८७ वटा स्पष्टीकरण सोधिसकेको छ। स्पष्टीकरणको जवाफ पाइएका मध्ये १२ वटा उजुरीहरुमा आयोग सन्तुष्ट देखिँदैन। 

उसले तीमध्ये १२ घटनाका बारेमा आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई सत्यतथ्य बुझेर तीन दिनभित्र लिखित प्रतिवेदन आयोगमा प्राप्त हुने गरी लेखी पठाउन आदेश दिएको छ। 

पूर्वप्रधानमन्त्री प्रचण्डले दिएको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नदेखिएपछि आयोगले आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई सत्यतथ्य बुझेर तीन दिनभित्र लिखित प्रतिवेदन आयोगमा प्राप्त हुने गरी लेखी पठाउन आदेश दिएको आयोग स्रोतले जानकारी दिए। 

स्रोतका अनुसार प्रचण्डलाई दोस्रो पटक स्पष्टीकरण सोधिसक्दा पनि आचारसंहिता अनुगमन समिति, निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले आयोगलाई अहिलेसम्म पनि लिखित प्रतिवेदन भने बुझाइसकेका छैनन्। 

आयोगले सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई दोस्रो पटक आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। उनी उपस्थित कार्यक्रममा केही व्यक्तिले हँसियाहथौडाको संकेत रहेको नेपाली टोपी प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। 

यसअघि आयोगले प्रचण्डलाई मनोनयन दर्ता गर्ने क्रममा बाजागाजासहित (पञ्चेबाजा) को प्रयोग गरेको देखिएपछि पहिलो स्पष्टीकरण सोधेको थियो। उनले पहिलो स्पष्टीकरणमा मनोनयन दर्ता गर्ने क्रममा स्थानीयहरु स्वतःस्फुर्त रुपमा उपस्थित भएका र पञ्चेबाजा प्रयोग भएको बारेमा आफूलाई कुनै जानकारी नभएको जवाफ दिएको आयोग स्रोतले जानकारी दिएको छ। 

आचारसंहिता उल्लंघनमा दुई पटक स्पष्टीकरण सोधिनेमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पनि पर्दछन्। आयोगले उनलाई पहिलो पटक कात्तिक ६ र दोस्रो पटक कात्तिक १२ गते स्पष्टीकरण सोधेको हो। 

ट्विटरमार्फत् मतदातालाई प्रभाव पर्ने गरी डेंगीको निःशुल्क परीक्षण र परामर्श लिई टोल–टोलमा आउँदैछौं भनेर मोबाइल नम्बरसमेत प्रकाशन गरेपछि पहिलो स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ। 

आयोगका अनुसार जवाफमा महामन्त्री थापाले ‘डेंगी प्रकोप फैलिरहेको अवस्थामा आम नागरिकको स्वास्थ्यलाई ख्याल राखी दिएको नियमित जनस्वास्थ्य सम्बन्धी भनाइ र पहिलेदेखि प्रदान भएको सेवाले निर्वाचन आचारसंहिता उल्लंघन नभएको’ प्रतिक्रिया दिएका थिए। 

त्यसलगत्तै आयोगले स्पष्टीकरण सोध्दैमा आफूले डेंगीविरुद्धको अभियान नरोक्ने वक्तव्य दिएपछि उनलाई कात्तिक १२ गते दोस्रो स्पष्टीकरण सोधिएको थियो। दोस्रो स्पष्टीकरणको जवाफमा पनि उनले पहिलो स्पष्टीकरणमा दिएको जवाफ नै दोहोर्याएको आयोग स्रोतले जनाएको छ। 

स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नदेखिएपछि माओवादी अध्यक्ष प्रचण्डलाई जस्तै जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नेकपा एमालेका उम्मेदवार बद्री मैनाली, सहरी विकासमन्त्री मेटमणि चौधरी, कांग्रेस सुदूरपश्चिमका  सभापति वीरबहादुर बलायर, बागमती प्रदेश  सभापति इन्द्र बानियाँ, नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले आचारसंहिता उल्लंघन गरेको विषयमा प्रतिवेदन बुझ्न आयोगले मतहतलाई निर्देशन दिएको छ। 

यस्तै, खानेपानी मन्त्री उमाकान्त चौधरी, नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्य, एमालेका युवा नेता ऐनबहादुर महर र कांग्रेस भक्तपुरका  सभापति दुर्लभ थापाको विषयमा पनि लिखित प्रतिवेदन बुझाउन जिल्ला आचारसंहिता अनुगमन समिति, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई आदेश दिएको छ। 

स्रोतका अनुसार उनीहरुलाई सम्बन्धित नेताहरुले आचारसंहिता उल्लंघन गरेको घटनाका बारेमा तीन दिनभित्र आयोगमा प्राप्त हुने गरी लिखित प्रतिवेदन बुझाउन आदेश दिइएको छ। 

आयोगका उपसचिव, सूचना अधिकारी तथा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले एक दर्जन बढी स्पष्टीकरणको विषयमा आचारसंहिता उल्लंघन थप पुष्टिका लागि जिल्लाहरुमा पत्र पठाएको जानकारी दिए। ‘१२/१३ वटा स्पष्टीकरणका विषयमा थप पुष्ट्याइँका लागि जिल्लामा पत्र पठाएका छौँ,’ उनले भने, ‘उताबाट प्रतिवेदन आएपछि आयोग थप कारबाही प्रक्रिया अगाडि बढाउँछ।’ 

सूचना अधिकारी अर्यालले कात्तिक २५ गतेसम्म आचारसंहिता उल्लंघनका विषयमा थप कारबाही  गरिने पनि बताए। ‘२५ गतेसम्म स्पष्टीकरण उपर थप कारबाही गर्छौं भनेर प्रमुख निर्वाचन आयुक्तज्यूले सार्वजनिक रुपमा भन्दै आउनुभएको छ,’ उनले भने।

आयोगले आचारसंहिता उल्लंघनका घटनामा कारबाही नै नगरेको भन्न नमिल्ने अर्यालको भनाइ छ। 

‘आचारसंहिता उल्लंघनका घटनामा आयोगले कारबाही  नै गरेको छैन भन्न नमिल्ला,’ उनले नेपालखबरसँग भने, ‘स्पष्टीकरण पनि कारबाही नै हो। यो हाम्रो अभिलेखमा हुन्छ। सार्वजनिक गर्छौं। उल्लंघन गर्नेहरु आचारसंहिताको दायराभित्र रहेको पछिसम्म अभिलेख रहन्छ। गम्भीरतापूर्वक लिने हो भने स्पष्टीकरण पनि गम्भीर कुरा हो।’

आयोगले कारबाही  प्रक्रिया अगाडि बढाउन आचारसंहिता उल्लंघन थप पुष्टिका लागि जिल्लाहरुमा पत्र पठाएको सूचना अधिकारी अर्यालले जिकिर गरे। ‘आयोगले आचारसंहिता उल्लंघनका घटनामा पुस्ट्याइँसहित कारबाहीमा जान परे प्रमाण जुटाउँछ,’ उनले भने, ‘त्यसका लागि हामीले जिल्लालाई पत्राचार गरेका छौँ।’

तर, आयोगले काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई भने आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरेको छ। उनलाई आयोगले ५ हजार जरिवाना तोकेको छ। आयोगले रिजाललाई समाजिक सञ्जालमा उम्मेदवारका लागि मत मागेको भन्दै जरिवाना तोकिएको जनाएको छ। 

रिजालले आयोगले सोधेको स्पष्टीकरणको जवाफमा आफू बहाल रहेको स्थानीय तहमा कुनै पनि प्रचार–प्रसारमा सहभागी नभएको जवाफ दिएका थिए। तर, आयोगले आचारसंहिता अनुगमन समिति, मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई उनीविरुद्ध थप प्रमाणहरु जुटाएर प्रतिवेदन पेस गर्न नभनीकनै जरिवाना गरेको स्रोतको भनाइ छ।

आचारसंहिता उल्लंघन गर्नेमा हाम्रो नेपाली पार्टी अगाडि 
निर्वाचन आयोगले हाम्रो नेपाली पार्टीका १० जनालाई आचारसंहिता उल्लंघनका घटनामा स्पष्टीकरण सोधेको छ। आयोगले पार्टी अध्यक्ष अनन्तराज घिमिरेसहित १० जनालाई स्पष्टीकरण सोधेको हो। 

आयोग स्रोतका अनुसार अध्यक्ष घिमिरेलाई दुई पटक स्पष्टीकरण सोधिसकिएको छ। उनलाई असोज २९ गते पहिलो र कात्तिक १९ गते दोस्रो स्पष्टीकरण सोधिएको आयोग स्रोतले जानकारी दिएको छ। 

स्रोतका अनुसार घिमिरेको दलका उम्मेदवारले आफूहरु स्वतन्त्र अभियानको अंग भएको र देशभरका स्वतन्त्रहरु लौरो निर्वाचन चिह्नको छतामा रहने भनेर प्रचार गर्दा पनि अध्यक्ष र दल मौन रहेको भन्दै पहिलो स्पष्टीकरण सोधेको हो। यस्तै उक्त पार्टीका उम्मेदवारले आफूलाई काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहको समर्थन भन्दै सामाजिक सञ्जालमार्फत् प्रचार गरेपछि दोस्रो स्पष्टीकरण सोधिएको स्रोतको भनाइ छ।

आयोगबाट स्पष्टीकरण सोधिने दोस्रो नम्बरमा प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारहरु रहेका छन्। एमाले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यतर्फका उम्मेदवार गरी ९ जनासँग आयोगले स्पष्टीकरण सोधेका छन्।

स्पष्टीकरण सोधिनेमा अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने सूर्यबहादुर थापासँगै कोमल वली, ऐनबहादुर महर, भगवती चौधरी, जुलीकुमारी महतो, बद्री मैनालीलगायतका उम्मेदवारहरु छन्।

आयोगले कांग्रेसका ७ जना प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुलाई आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ। 

जसमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सुदूरपश्चिम प्रदेश  सभापति वीरबहादुर बलायर, बागमती प्रदेश  सभापति इन्द्र बानियाँ, खानेपानी मन्त्री उमाकान्त चौधरीलगायतका उम्मेदवारहरु रहेका छन्। 

आयोगले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी बुहारी बिना मगरलाई पनि स्पष्टीकरण सोधेको छ। प्रचण्ड गोरखा–२ र बिना कञ्चनपुर–१ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्। 

माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पनि आयोगले स्पष्टीकरण सोधिसकेको छ। उनलाई आयोगले गत सोमबार आचारसंहिता उल्लंघन भएको भन्दै स्पष्टीकरण सोधेको हो। श्रेष्ठ उपस्थित कार्यक्रममा हँसियाहथौडाको संकेत रहेको नेपाली टोली प्रयोग गरिएको देखिएपछि स्पष्टीकरण सोधिएको आयोग स्रोतले जनाएको छ।  

यी हुन् स्पष्टीकरण सोधिएका व्यक्ति र निकायहरु

१) पुष्पकमल दाहाल प्रचण्ड– अध्यक्ष माओवादी केन्द्र
२) श्रम रोजजार तथा सामाजिक सुरक्षा मन्त्रालय
३) जलन्धरसिंह जैसवार– नगर प्रमुख, पचरौता नपा, बारा
४) गोकुल वस्ती– अधिकृत, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र
५) अर्थ मन्त्रालय
६) मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय– गण्डकी प्रदेश
७) सहरी विकास मन्त्रालय
८) नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी
९) अर्थ मन्त्रालय
१०) धितो पत्र बोर्ड, खुमलटार
११) बिमा समिति, रामशाह पथ
१२) डा. सीके राउत– अध्यक्ष, जनमत पार्टी
१३) बद्री मैनाली– नेकपा एमाले प्रतिनिधि सभा उम्मेदवार
१४) अनन्तराज घिमिरे– अध्यक्ष, हाम्रो नेपाली पार्टी 
१५) मधुसुदन पाठक– उम्मेदवार, हाम्रो नेपाली पार्टी
१६) प्रख्यात बञ्जाडे– उम्मेदवार, हाम्रो नेपाली पार्टी 
१७) शिवशंकर यादव– उम्मेदवार, हाम्रो नेपाली पार्टी
१८) योगेशकुमार सिंह– उम्मेदवार, हाम्रो नेपाली पार्टी
१९) विजय कालिकोटे– उम्मेदवार, हाम्रो नेपाली पार्टी
२० वीरवंश बैठा– उम्मेदवार, हाम्रो नेपाली पार्टी
२१) राजलाल यादव– उम्मेदवार, हाम्रो नेपाली पार्टी
२२) राजकुमार तिमल्सिना– उम्मेदवार, हाम्रो नेपाली पार्टी
२३) मेटमणि चौधरी– मन्त्री, सहरी विकास मन्त्रालय
२४) पुकार बम– उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
२५) शिशिर खनाल– उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
२६) दिपेश ढुंगाना– उम्मेदवार, बागमती प्रदेश
२७) जनस्वास्थ्य केन्द्रीय विभाग, त्रिवि चिकित्साशास्त्र अधययन संस्थान
२८) जिवछ यादव– शिक्षक, लाहान
२९) भरतपुर अस्पताल, चितवन
३०) स्वास्थ्य सेवा विभाग, टेकु
३१) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबार
३२) कृष्णकुमार श्रेष्ठ– उम्मेदवार, नेकपा एकीकृत समाजवादी
३३) हरिपूर्वा नगरपालिका, नगरप्रमुख र प्रमुख प्रशसकीय अधिकृत
३४) दुर्लभ थापा– उम्मेदवार, नेपाली कांग्रेस
३५) मुकुन्द रिजाल– वडाध्यक्ष, काठमाडौं–१६
३६) माधवकुमार नेपाल– पूर्वप्रधानमन्त्री
३७) तिलक कुँवर– प्रध्यानाध्यापक, राष्ट्रिय मावि साँफेबगर, अछाम
३८) प्रेस काउन्सिल नेपाल, सिनामंगल
३९) ऐनबहादुर महर– उम्मेदवार, नेकपा एमाले
४०) इन्टरनेसनल मेनपावर रिक्रुटमेन्ट कम्पनी, ग्वार्को
४१) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश
४२) आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश
४३) प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गण्डकी प्रदेश
४४) सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालय, गण्डकी प्रदेश
४५) वीरबहादुर बलायर– उम्मेदवार, नेपाली कांग्रेस 
४६) दीर्घबहादुर सोडारी– प्रदेश सभा उम्मेदवार, नेकपा एकीकृत समाजवादी
४७) विश्वप्रकाश शर्मा– उम्मेदवार, नेपाली कांग्रेस
४८) लक्षिराम आचार्य– केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्र
४९) इन्द्र बानियाँ– उम्मेदवार, नेपाली कांग्रेस
५०) विरोध खतिवडा– उम्मेदवार, नेकपा एकीकृत समाजवादी
५१) उमाकान्त चौधरी– मन्त्री, खानेपानी मन्त्रालय
५२) डा. प्रदीप पराजुली– सचिव, नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा
५३) गगनकुमार थापा– उम्मेदवार, नेपाली कांग्रेस
५४) भगवती चौधरी– उम्मेदवार, नेकपा एमाले
५५) लीलाबहादुर न्यौपाने– उम्मेदवार, स्वतन्त्र
५६) जुलीकुमारी महतो– उम्मेदवार, नेकपा एमाले
५७) सूर्यबहादुर थापा– उम्मेदवार, नेकपा एमाले
५८) गगनकुमार थापा– उम्मेदवार, नेपाली कांग्रेस
५९) राजिव गुरुङ– मन्त्री, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेश
६०) मनोजकुमार यादव– शाखा अधिकृत, राजविराज
६१) उदय सुवेदी– अध्यक्ष– राष्ट्रिय भूमि आयोग, पर्वत
६२) राम शर्मा लामिछाने– अध्यक्ष, कुश्मा नगरपालिका–९ पर्वत
६३) राजु आचार्य– अध्यक्ष, जलजला गाउँपालिका, पर्वत
६४) सुभन्तराज सुवेदी– शिक्षक, पर्वत
६५) प्रधानाध्यापक– पञ्चकोशी मावि पर्वत
६६) अर्जुनप्रसाद जोशी– उम्मेदवार, नेपाली कांग्रेस 
६७) कृष्ण तिवारी– शिक्षक, नवरपरासी (वर्दघाट–सुस्तापूर्व)
६८) अनन्तलाल भण्डारी– प्रधानाध्यापक, महेन्द्र आदर्श मावि, गुल्मी
६९) बिना मगर– उम्मेदवार, नेकपा माओवादी केन्द्र
७०) योगेश भट्टराई– उम्मेदवार, नेकपा एमाले
७१) संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नागरिक उड्डयन प्राधिकरण
७२) अनन्तराज घिमिरे– अध्यक्ष, हाम्रो नेपाली पार्टी
७३) बालेन्द्र शाह– प्रमुख, काठमाडौं महानगरपालिका
७४) कोषराज सुवेदी– उम्मेदवार, हाम्रो नेपाली पार्टी
७५) कोमल वली– उम्मेदवार, नेकपा एमाले 
७६) सेतोपाटी सञ्चार प्रालि– (चौतर्फी आलोचना भएपछि स्पष्टीकरण पत्र फिर्ता लिएको थियो।)
७७) डा. रञ्जिकुमार झा– कार्यकारी निर्देशक, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान
७८) पुष्पकमल दाहाल प्रचण्ड– पूर्वप्रधानमन्त्री
७९) नारायणकाजी श्रेष्ठ– उपाध्यक्ष, नेकपा माओवादी केन्द्र
८०) महन्थ ठाकुर– अध्यक्ष, लोकतान्त्रिक समाजवादी पार्टी
८१) हुकुमबहादुर बस्नेत– प्रदेश सभा उम्मेदवार, नेकपा एमाले, दाङ
८२) भद्रप्रसाद नेपाल– उम्मेदवार, स्वतन्त्र 
८३) डिल्लीबहादुर सिंह– अध्यक्ष, विद्युत नियमन आयोग
८४) मोहम्मद इस्तियाक राई– उम्मेदवार, जनता समाजवादी पार्टी (जसपा) 
८५) रवि लामिछाने– अध्यक्ष, राष्ट्रिय स्वतन्त्र पार्टी
८६) राष्ट्रिय अनुसन्धान आयोग
८७) रमेश रिजाल– उम्मेदवार, नेपाली कांग्रेस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .