राजनीति


प्रचण्डले गरे नेपाल एकीकरणको चर्चा, तर पृथ्वीनारायणको नाम लिएनन्

प्रचण्डले गरे नेपाल एकीकरणको चर्चा, तर पृथ्वीनारायणको नाम लिएनन्

फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १४:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाको विकासका लागि भन्दै रणनीतिक महत्वका ४५ योजना सार्वजनिक गरेका छन्। 

जसमा पृथ्वीनारायण शाहले थालेको नेपाल एकीकरणको पनि चर्चा गरिएको छ। शाह वंशीय राजा पृथ्वीनारायण शाहले थालेको एकीकरण अभियानकै कारण अहिलेको नेपाल सम्भव भएको हो।

चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ मा बसाइँ सरेका प्रचण्डले यसअघि आफूले पृथ्वीनारायणको शालिक तोडफोडका लागि आफूले कसैलाई निर्देशन नदिएको बताएका थिए।

यस्तोमा उनले गोरखाको विकासका लागि भन्दै आइतवार सार्वजनिक गरेको पाँच पृष्ठ लामो दस्तावेजमा नेपाल एकीकरणको चर्चा र प्रशंसा गरेका छन्। तर उनले नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायणलाई नाम लिएर स्मरण गर्न चाहेनन्। 

'इतिहास साक्षी छ, गोरखा जिल्ला नेपालको भौगोलिक एकीकरण र विस्तारको दृष्टिकोणबाट ऐतिहासिक जिल्ला हो', उनले भनेका छन्, 'गोरखाले विभिन्न कालखण्डमा विभिन्न ढंगले संगठित रूपमा अन्याय र अत्याचारविरूद्ध संघर्ष गर्दै परिर्वतन र अग्रगमनको पक्षमा निरन्तर रूपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ।'

उनले आजको एकीकृत नेपाल निर्माणमा पनि गोरखाको भूमिका रहेको बताएका छन्। 'आजको एकीकृत नेपालको स्थापनामा गोरखाको विशिष्ट भूमिका छ', उनले पृथ्वीनारायणको नाम उच्चरण नगरि दस्तावेजमा भनेका छन्,  'अहिलेको आवश्यकता भनेको सबै जात, जाति, समुदाय, वर्ग र क्षेत्रको आधारमा र साझा समृद्धिमार्फत मनोवैज्ञानिक, भावनात्मक र सांस्कृतिक राष्ट्रिय एकीकरणको हो।'

उनले गोरखा जिल्ला बहुजाति, बहुभाषी, बहुधार्मिक र बहुसांस्कृतिकसहित बहुआयामिक पहिचान र सामाजिक विविधतामा आधारित रहेको एकताको नमूना जिल्ला भएको पनि बताएका छन्।

'यहाँका मानिसहरुको आ-आफ्नै मौलिक परम्परा, रहन-सहन, रीतिरिवाज तथा जीवनशैली छ', उनले अगाडि भनेका छन्, 'गोरखा जिल्ला वीर गोर्खालीहरुको पहिचानको रूपमा विश्वव्यापीरूपमा परिचित र स्थापित छ। प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको यस जिल्लामा हिमाल, पहाड र तराईमा हुने वनस्पति, कृषि, जडीबुटीलगायतका मूल्यवान्, दुर्लभ र बहुआयामिक वस्तुहरु उत्पादन हुन्छन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .