ad ad

राजनीति


कञ्चनपुर ३ : चौथो पटक संसद् छिर्ने रमेशको योजनामा निरुको चुनौती

एमालेलाई ०७४ को विरासत जोगाउन कठिन
कञ्चनपुर ३ : चौथो पटक संसद् छिर्ने रमेशको योजनामा निरुको चुनौती

गोकुल जोशी
कात्तिक १४, २०७९ सोमबार १७:८, काठमाडौँ

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सिटका लागि सत्तारुढ गठबन्धन र नेकपा एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ।

सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखक र एमाले–राप्रपा गठबन्धनबाट एमालेकी पोलिट्ब्युरो सदस्य निरुदेवी पाल चुनावी मैदानमा छन्।

०७४ को चुनावमा झिनो मतान्तरले पराजित कांग्रेसका लेखक गठबन्धनको बलमा यसपटक जित निकाल्दै संसद छिर्ने योजनामा छन्। 

०७४ मा एमालेका डा. दीपकप्रकाश भट्टलाई समर्थन गरेको माओवादी केन्द्रले यसपटक लेखकलाई समर्थन गरेको छ। कञ्चनपुर क्षेत्र नं. ३ (१) मा सत्तारुढ नेकपा एकीकृत समाजवादी मित्रवत् प्रतिस्पर्धामा छ।

एमालेकी निरुदेवी पाललाई ०७४ को विरासत जोगाउने चुनौती छ। पार्टी फुटबाट गुज्रिरहेको एमालेले क्षेत्र नं. ३ एउटा प्रदेश सभा राप्रपालाई दिएर तालमेल गरेको छ।

कञ्चनपुरका अन्य क्षेत्रको तुलनामा राप्रपाको क्षेत्र नं. ३ मा बलियो पकड छ। गठबन्धनबाट प्रदेश ३(१) मा माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट र प्रदेश सभा ३(२) मा कांग्रेसका बेलबहादुर राना उम्मेदवार छन्।

एमाले–राप्रपा गठबन्धनबाट प्रदेश सभा ३(१) मा राप्रपाका धर्मराज जोशी र ३(२) मा एमालेका सुरेन्द्रबहादुर विष्ट उम्मेदवार रहेका छन्।

यो क्षेत्रमा कांग्रेसको पकड बलियो छ। ०७४ मा वाम गठबन्धनसँग एक्लै भिड्दा पनि कांग्रेसका उम्मेदवार झिनो मतअन्तरले मात्रै पराजित भएका थिए।

तेस्रो जितको खोजीमा लेखक

कांग्रेस उम्मेदवार रमेश लेखक

लेखक कांग्रेसमा प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन्। शान्ति प्रक्रियादेखि संविधान निर्माणका क्रममा उनले विभिन्न समितिमा बसेर काम गरेका छन्। लेखकले कञ्चनपुरमा प्रत्यक्षतर्फ तीन वटा संसदीय चुनाव लडिसकेका छन्।

पहिलो पटक ०५६ सालको चुनावमा साविकको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका लेखक विजयी भए। त्यस बेला उनले राप्रपाका इन्द्रबहादुर खत्रीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका थिए।

०६४ को पहिलो संविधान सभा चुनावमा उनले प्रत्यक्ष चुनाव लड्न पाएनन्। साविक कञ्चनपुर क्षेत्र नं. ४ र डडेल्धुरामा प्रधानमन्त्री देउवा चुनाव लडे। दुवै क्षेत्र जिते पछि देउवाले कञ्चनपुर ४ छोडेका थिए।

देउवालाई आफ्नो क्षेत्र छोडेका लेखक त्यसबेला समानुपातिकतर्फ लागेका थिए। फेरि ०७० मा उनले प्रत्यक्ष चुनाव लड्ने मौका पाए। साविक क्षेत्र नं. ४ मा लेखक जित निकाल्दै संसद् पसे।

०५६ सालदेखि निरन्तर रुपमा संसद छिर्ने अवसर पाइरहेका लेखकको संसद् यात्रा ०७४ को चुनावले रोकियो। उनी वाम गठबन्धनका डा. दीपक प्रकाश भट्टसँग २५८ मतले पराजित भए।

त्यस बेला भट्टले २६ हजार ३६४ मत ल्याएका थिए भने लेखकले २६ हजार १०६ मत ल्याएका थिए। उनै लेखक ०७४ को हारको घाउ मेटाउँदै जित निकाल्ने दाउका साथ फेरि यसपटक पनि चुनावमा कस्सिएका छन्।

यसपटक जितेमा लेखकको प्रत्यक्षतर्फ संसदीय चुनावमा तेस्रो जित हुनेछ भने उनी चौथो पटक संसद् प्रवेश गर्नेछन्।

बागीले सकस
कञ्चनपुर क्षेत्र नं. ३ मा लेखकविरुद्ध कांग्रेसका दुईजनाले बागी उम्मेदवारी दिएका छन्। प्रतिनिधि सभातर्फ कांग्रेसका शारदा चन्द र दीपकबहादुर सिंहले स्वतन्त्र उम्मेदवारी दिएपछि लेखकलाई सकस परेको छ।

चन्द र सिंह दुवैले लेखकको मत काट्न सक्ने अनुमान गरिएको छ। कांग्रेसले बागी उम्मेदवारी दिएका दुवैलाई कारबाही गरिसकेको छ। 

०७४ मा एमाले जिताउन निर्णायक बनेको माओवादीको मत आफूलाई प्राप्त हुने भएपछि उनी केही ढुक्क देखिन्छन्।

‘हामी एक्लै पनि यहाँ बलियो छौँ, त्यसमा माओवादी र समाजवादीको पनि साथ पाएका छौँ,’ कांग्रेस क्षेत्र नं. ३ का सभापति केशवबहादुर चन्दले भने, ‘उहाँ (लेखक)ले गर्नुभएको काम र हिजो जितेहरुले गरेको काम जनताले बुझेका छन्, त्यसैले जित सुनिश्चित छ।’

निरन्तरता चाहन्छिन् पाल
एमालेकी उम्मेदवार पाल अध्यक्ष केपी शर्मा ओली विश्वासपात्र मानिन्छिन्। एमाले कञ्चनपुर इन्चार्ज समेत रहेकी पालले ओलीनिकट भएकैले टिकट पाएकी हुन्।

टिकटका लागि पालसँगै निवर्तमान् सांसद डा. दीपकप्रकाश भट्टको नाम पनि सिफारिस भएको थियो। तर, भट्ट एमालेमा १० बुँदे पक्षधर भएकाले उनले टिकट पाएनन्। यसअघि पाल समानुपातिक सांसद थिइन्।

एमाले उम्मेदवार निरु पाल

पाल दोस्रो पटक प्रत्यक्षतर्फ संसदीय चुनावको सामना गर्दैछिन्। यसअघि उनी ०६४ सालको पहिलो संविधान सभाको उपचुनावमा साविक क्षेत्र नं. ४ मा पराजित भएकी थिइन्।

त्यतिबेला माओवादीका हरिस ठकुल्ला विजयी भएका थिए। मतका आधारमा पाल तेस्रो स्थानमा पुगेकी थिइन्।

उनै पाल यसपटक पुरानो हारको बदला लिँदै एमालेको जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी दौडमा छन्। राप्रपाको साथ पाएपछि एमाले हौसिएको छ।

‘कांग्रेसका बागी उम्मेदवारले आफ्नो प्रतिस्पर्धीलाई कमजोर बनाउने र  राप्रपासँगको तालमेलले एमालेको सहज जित निकाल्ने अवस्थामा पुगेका छौं,’ एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्ट भन्छन्, ‘हाम्रो माहोल बनेको छ।’

वडाध्यक्षको मतमा लेखक अगाडि
स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार क्षेत्र नं. ३ मा सत्ता गठबन्धन बलियो छ। क्षेत्र नं. ३ मा भीमदत्त नगरपालिकाका १९, दोधाराचाँदनीका १० र बेदकोटको वडा नं. ८ गरेर कूल ३० वडा छन्।

स्थानीय तह चुनावमा भीमदत्त नगरपालिकको प्रमुख कांग्रेस र दोधारा चाँदनी नगरपालिकाको प्रमुख एमालेले जितेको छ। यी दुवै पालिकामा कांग्रेसका प्रमुखले २२ हजार ५४ मत, एमालेले १५ हजार २८३ र राप्रपाले ७ हजार ९८८ मत बटुलेको छ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले स्थानीय तह चुनावमा तालमेल गरेका थिए। क्षेत्र नं. ३ का कुल ३० वडामध्ये कांग्रेसले १४, एमालेले ९, माओवादीले ३, राप्रपाले २ र एकीकृत समाजवादी तथा स्वतन्त्र उम्मेदवारले १-१ वडा जितेका थिए।

नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले क्षेत्र नम्बर ३ मा पर्ने ३० वडामा कुल २१ हजार ७७२ मत बटुलेका छन्।

एमालेका वडाध्यक्षका उम्मेदवारले १६ हजार ११७ मत हासिल गर्दा राप्रपाले ६ हजार ५०३, माओवादी केन्द्रले ६ हजार ८१ र एकीकृत समाजवादीले ३ हजार १५ मत प्राप्त गरेको छ।

यसरी सत्तारुढ गठबन्धनको पक्षमा कुल ३० हजार ८६८ र एमाले–राप्रपा गठबन्धनको पक्षमा २२ हजार ६२० मत छ। यद्यपि, संसदीय चुनाव भएकाले स्थानीय तहको चुनावमा पाएको पुरै मत यी उम्मेदवारले पाउँछन् भन्ने निश्चित छैन।

क्षेत्र नं. ३ मा कुल ९७ हजार ८२२ मतदाता छन्।

०७४ को हिसाब
०७४ सालको चुनावमा क्षेत्र नं. ३ मा वाम गठबन्धन र नेपाली कांग्रेसबीच कडा टक्कर भएको थियो। झिनो मतान्तरले प्रतिनिधि सभा एमालेका डा. दीपकप्रकाश भट्ट विजयी भएका थिए। 

प्रदेश सभा ३(१) मा वाम गठबन्धनका साझा उम्मेदवार प्रकाश रावलले ६३ मतले मात्रै जितेका थिए। उनले १२ हजार ८१७ मत ल्याउँदा कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत ल्याएका थिए।

रावल अहिले नेकपा एकीकृत समाजवादीमा छन्। सत्ता गठबन्धनबाट टिकट नपाएपछि उनी गठबन्धनकै दलहरुसँग प्रतिस्पर्धामा छन्।

यस्तै, प्रदेश सभा (२) मा वाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका मानबहादुर सुनारले १६१ मतले मात्रै बाजी मारेका थिए।

सुनारले १३ हजार ७०० मत ल्याउँदा कांग्रेसका बेलबहादुर रानाले १३ हजार ५३९ मत ल्याएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .