ad ad

राजनीति


८१ पेजको घोषणा पत्रमा माओवादीले एमाले र ओलीलाई एक पटक सम्झियो

८१ पेजको घोषणा पत्रमा माओवादीले एमाले र ओलीलाई एक पटक सम्झियो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १५:२४, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ को निर्वाचनका लागि ८१ पृष्ठ लामो घोषणा पत्र सार्वजनिक गरेको छ। 

'प्रतिवद्धता पत्र' नाम दिएर माओवादीले घोषणा पत्र ल्याएको हो। मा‌ओवादीले आफ्नो प्रतिवद्धतापत्रमा कुनै बेलाका सहयात्री नेकपा एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई केबल एक पटक मात्रै सम्झिएको छ।

उसले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनको पृष्ठभूमिबारे चर्चा गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक गरेको संसद विघटनको बाध्यताको उपज भनेको छ। 

'नयाँ संविधान घोषणा भएपछि उपर्युक्त कार्यभार पूरा गर्ने उद्देश्यलाई केन्द्र बिन्दुमा राखेर नै हामीले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा तालमेल गर्दै निर्वाचनपछि नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण गरेका थियौँ', घोषणा पत्रमा भनिएको छ, 'कम्युनिस्ट एवम् वामपन्थी कार्यकर्ता तथा शुभेच्छुकहरू र नेपाली जनताको अपार समर्थन–सहयोगसहित सङ्घमा करिब दुईतिहाइको र सातमध्ये ६ प्रदेशमा बहुमतको कम्युनिस्ट सरकार बनाउन सफल भएका थियौँ । त्यसले संवैधानिक एवम् शान्तिपूर्ण बाटोबाट समृद्ध नेपाल बनाउने र नयाँ मोडेलको समाजवाद निर्माणको प्रयोगलाई सफल बनाउने महान् सम्भावना र अवसर पैदा गरेको थियो।'

तर नेकपाका एक अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री (केपी ओलीको नाम उल्लेख नगरी) ले प्रतिनिधिसभा विघटन गरेको माओवादीले उल्लेख गरेको छ।

'तत्कालीन प्रधानमन्त्रीले संविधानविरोधी प्रतिगामी कदम चाल्नुभयो। नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गरी नेपाली कम्युनिस्ट आन्दोलनमाथि विसर्जनवादी प्रहार गनुभयो। यसले गर्दा हाम्रो पार्टीमाथि तात्कालीन रूपमा प्रतिगमन र विसर्जवादविरुद्ध सङ्घर्ष गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी आयो', प्रतिवद्धता पत्रमा भनिएको छ, 'यस परिप्रेक्षमा प्रतिगामी कदमविरुद्धको सङ्घर्षमा सामेल हुनसक्ने सबै शक्तिहरूलाई गोलबन्द गरी सङ्घर्षको नेतृत्व गर्ने दायित्व हाम्रो पार्टीको काँधमा आयो। यसै क्रममा पाँच दलीय गठबन्धन बन्न पुगेको हो।'

जनता समाजवादी पार्टीले गठबन्धन परित्याग गर्ने निर्णय गरेपछि अहिले गठबन्धन चारदलीय भएको माओवादीले जनाएको छ। 'प्रतिगमनविरोधी सङ्घर्षको क्रममा जन्मेको गठबन्धन अहिले आसन्न चुनावमा पनि तालमेल गर्ने निर्णयसहित अघि बढेको छ । यो गठबन्धन र तालमेल तात्कालिक परिस्थितीको उपज हो', माओवादीले भनेको छ।

माओवादीले अर्को एक बुँदामा पनि संविधानविरुद्ध गएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरेको छ। यो प्रसंगमा माओवादीले ओलीको नाम लिएको छ।

'संविधानको प्रावधानविरुद्ध तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चाल्नुभयो', माओवादीले भनेको छ, 'प्रतिगामी कदमलाई असफल पार्न र प्रतिगमनको थप खतराको ढोका बन्द गर्न हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) कै पहल र अगुवाइमा प्रतिगमनविरोधी संघर्ष सफल हुन सकेको थियो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .