ad ad

राजनीति


आयोगलाई माधव नेपालको जवाफ : युवालाई ‘बिना ढेउवा के’ विदेश पठाउँछु भन्ने मान्छे म होइन

आयोगलाई माधव नेपालको जवाफ : युवालाई ‘बिना ढेउवा के’ विदेश पठाउँछु भन्ने मान्छे म होइन

फाइल तस्बिर


नेपालखबर
कात्तिक ७, २०७९ सोमबार ८:६, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले 'फ्री भिसा, फ्री टिकट' युवालाई विदेश पठाउने भनेर आफूले नबोलेको बताएका छन्।

निर्वाचन आइयोगले सोधेको २४ घण्टे स्पष्टीकरणको लिखित जवाफ दिँदै उनले आफूले 'बिना ढेउवा के विदेश जान पाइन्छ' बोल्ने व्यक्ति आफू नभएको जिकिर गरेका हुन्। 

अध्यक्ष नेपालले त्यस्तो तल्लोस्तरको काम गर्ने मान्छे आफू नभएको बताउँदै त्यस किसिमको अभिव्यक्ति पनि नदिएको जिकिर गरेका हुन्। 

रौतहट क्षेत्र नम्बर १ मा भएको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले आफूलाई भोट दिए 'बिनापैसा फ्री टिकट र फ्री भिसा' मा युवालाई विदेश पठाइदिने प्रलोभन बाँडेका थिए। उनले त्यसरी विदेश जान तयार युवालाई काठमाडौंमा सित्तै तालिम दिने पनि वचन दिएका थिए। 

उनले दिएको विवादित अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि निर्वाचन आयोगले उनलाई कात्तिक ३ मा स्पष्टीकरणसँगै कारवाही पनि अघि बढाएको थियो।

एकैदिन आयोगले उनीसँग स्पष्टीकरण र कारवाहीका लागि रौतहट प्रहरीलाई पत्र पनि काटेको थियो। नेपालले जवाफमा त्यस किसिमको निच काम गर्ने मानिस आफू नभएको जिकिर गरेका हुन्। 

‘निर्वाचनको सिलसिलामा मैले कुनै उम्मेदवार, मतदाता, निजहरूमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति, निर्वाचन अधिकृत, निर्वाचनमा संलग्न कुनै कर्मचारीलाई कुनै किसिमको प्रभाव पार्ने कार्य गरेको छैन। कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन काम गरेको छैन । पत्रमा भनिए जस्तो अभिव्यक्ति मैले दिएको छैन,’ उनले स्पष्टीकरण दिँदै भनेका छन्। 

अध्यक्ष नेपालले संविधानअन्तर्गत नै रहेर आफूले चुनावी प्रचार गरेको बताउँदै कुनै किसिमको गलत हर्कत नगरेको उल्लेख गरेका छन्। 

'संविधानले संस्थागत गरेको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली अन्तर्गत राजनीतिक विचारधारा, दर्शन र कार्यक्रमका आधारमा संविधानको धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत र राजनीतिक दलसम्बनीधि प्रचलित नेपाल कानुनअन्तर्गत 'नेपाल कम्युनिष्ट पार्टी (एकीकत समाजवादी) मेरो अध्यक्षतामा गठन भएर यस निवार्चन आयोगमा रीतपूर्वक दल दर्ता भएको व्यहोरा आयोगलाई अवगत नै छ', उनले भनेका छन्, 'त्यसरी दर्ता भएको दलको विचारधारा, दर्शन र कार्यक्र प्रति आम जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्न लागि त्यसको प्रचार प्रसार कार्यमा नेपालको संविधानको धारा २६९ बमोजिम गर्न पाउने हो।' 

भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .