राजनीति


केही नेताले टिकट नपाउँदैमा रुवाबासी गर्न आवश्यक छैन : ओली

‘उहाँहरु नभई संसद् नचल्ने, देश नचल्ने पनि होइन’
केही नेताले टिकट नपाउँदैमा रुवाबासी गर्न आवश्यक छैन : ओली

नेपालखबर
कात्तिक ५, २०७९ शनिबार १६:१२, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही नेताहरुले निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गर्नुपर्ने आवश्यकता नरहेको बताएका छन्। भीम रावल र घनश्याम भुसालप्रति संकेत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरुले सधैं टिकट पाउनुपर्ने के छ र भन्दै प्रश्न गरे।

शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरुलाई टिकट नदिएर सो अवसर अरुलाई दिइएको स्पष्टीकरण दिए।

ओलीले २०४८ सालदेखि पद र सुविधा भोग गरिरहेकाहरु एकाधले अरुलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरुले फेरि टिकट नपाउनु स्वाभाविक भएको बताए।

‘२०४८ सालदेखि सांसद भएका छन्, भएका छन्। पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तिनैले खाएका छन्, गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री। नखाएको कुनै मन्त्रालय छैन। यसपल्ट अस्ति असोज २ गते बल्ल मुख खाली भएको छ। उसलाई किन बनाइएन भनेर रुवाबासी छ,’ ओलीले भने, ‘अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र? काम कस्तो गरेको छ, त्यो नभनौं। पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन। पार्टीको हितमा एक शब्द बोलेको होइन। आन्दोलनको हितमा एक शब्द बोलेको होइन। अरु अरु ठाउँमा तमासा देखाइएको छ। त्यस्तो मान्छे एकाधले पाएन। स्वभाविक हो नि। पालो गर्नु पर्दैन? अरुलाई पनि त पालो गर्नु पर्छ नि त।’

‘पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भएपनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभइकन पार्लियामेन्ट चल्दैन, उहाँ नभइकन देश हाँकिँदैन भन्ने स्थिति त होइन,’ ओलीले थपे, ‘यस्ता कुराहरुको पछि नलाग्न पनि म हाम्रो साथीहरुलाई आग्रह गर्न चाहन्छु। कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यक्ता छैन।’

उनले एमालेमा न्याय हुने वचन पनि दिए।

‘मंसिर ४ गतेको निर्वाचनबाट जनादेशमार्फत् बलियो, देशलाई स्थिरता दिन सक्ने खालको मजबुत सरकार, देशको विकासलाई अगाडि बढाउन सक्ने खालको, देशमा सुशासन दिन सक्ने खालको स्थिर सरकारको व्यवस्था हामी गर्दैछौँ,’ ओलीले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad