राजनीति


कांग्रेस नेता प्रदीप पौडेललाई हरिवंश आचार्यले दिए शुभकामना

कांग्रेस नेता प्रदीप पौडेललाई हरिवंश आचार्यले दिए शुभकामना

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १९:४२, काठमाडौँ

नेपाली कांग्रेसका युव नेता प्रदीप पौडेल र कलाकार हरिवंश आचार्यबीच भेटघाट भएको छ। काठमाडौं–५ मा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका पौडेल र कलाकार आचार्यबीच बुधबार बूढानीलकण्ठमा भेटघाट भएको हो। 

घरदैलो अभियानका क्रममा बूढानीलकण्ठ नगरपालिका–४ स्थित आचार्यको निवासमा भेटघाट भएको पौडेलको सचिवालयले पुष्टि गरेको छ। मत माग्दै पुगेको पौडेललाई कलाकार आचार्यले सफलताको शुभकामना दिएका थिए। 

‘बूढानीलकण्ठ घरमै उहाँहरुका बीच भेट भएको हो। स्नेहपूर्ण व्यवहार रह्यो,’ भेटवार्ताका क्रममा सँगै रहेका पौडेलको सचिवालयका एक सदस्यले भने, ‘शुभकामना दिनुभयो। तपाईं जत्तिको युवा आउनुपर्छ भन्नुभयो।’

ती सदस्यका अनुसार आचार्यले आफूले सार्वजनिक रुपमा कसैको पक्षमा नबोलेको पनि बताएका थिए। ‘उहाँ (आचार्य)ले सार्वजनिक रुपमा बोलेको छैन पनि भन्नुभयो,’ उनले भने।  

पौडेलले असोज २४ गतेबाट काठमाडौं महानगरपालिका–५ हाँडीगाउँबाट घरदैलो सुरु गरेका हुन्। पहिलो दिनको घरदैलो अभियानका क्रममा उनको हाँडीगाउँ जात्रामा सहभागी हुन पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलसँग जम्का भेट भएको थियो।

काठमाडौं महानगरपालिकाका २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाका २, ३, ४, ५, ६, ७ नम्बर वडाहरुको भूगोल समेटेर काठमाडौं–५ निर्धारण गरिएको छ। 

यो क्षेत्रबाट नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनाव लड्दै छन्। त्यस्तै रञ्जु दर्शना पनि चुनावी मैदानमा छिन्। 

२०७४ को निर्वाचनमा काठमाडौं–५ मा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई पराजित गर्दै पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनले कुल खसेको मतमध्ये २३ हजार २९ मत र डा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad