राजनीति


गिरीराजमणि पोखरेलले सुनाए चुनाव जित्ने आधार

गिरीराजमणि पोखरेलले सुनाए चुनाव जित्ने आधार

तस्बिर : जनार्दन पाेखरेल/नेपालखबर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ११:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले सांसद र मन्त्री हुँदा महोत्तरीमा आफूले गरेका काम नै यसपटक आफ्नो चुनाव जित्ने आधार भएको बताएका छन्। 

चौंथोपटक महोत्तरी–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका पोखरेलले मंगलबार बिहान बर्दिबास–३ गौरीडाडास्थित आफ्नै निवास ‘आधारशीला’मा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनाव जित्ने आधारहरु सुनाएका हुन्।

सत्ता गठबन्धनबाट संघीय संसदको उम्मेदवार बनेका पोखरेलसँगै महोत्तरी १ (ख) बाट उम्मेवार बनेका माओवादी नेता भरत साह पनि पत्रकार सम्मेलनमा उपस्थित थिए। 

त्यसक्रममा पूर्वमन्त्रीसमेत रहेका पोखरेलले सांसद र मन्त्री हुँदा महोत्तरीमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आफूले दीर्घकालिन महत्व राख्ने धेरै काम गरेको बताए। 

विगतमा आफूले गरेका काम र सत्ता गठबन्धनका दलको साथले आफू पुनः चुनावमा विजयी हुने विश्वास पनि उनले व्यक्त गरे।

‘महोत्तरी १ मा मलाई गठबन्धनका दलको साथ छ,’ पोखरेलले भने, ‘यो क्षेत्रमा सांगठानिक रुपमा माओवादीको अवस्था राम्रो छ। मैले विगतमा यस क्षेत्रमा विकास निर्माणका धेरै काम गरेको छु। अझै पनि धेरै कामका योजनाहरु छन्। यसपटक पुनः चुनाव जित्ने मेरा मुख्य आधारहरु यिनै हुन्।’

सांसद र मन्त्री हुँदा आफू सधैं महोत्तरीका जनताको साथमा रहेकाले पनि आफूलाई जनताले पुनः विजयी बनाउने विश्वास पनि उनले व्यक्त गरे।  

उनले जिल्लामा चार दलीय गठबन्धनबाट उम्मेदवार बनेका सबै उम्मेदवारलाई विजयी बनाउने गरी दलहरुबीच समन्वय र समझदारी बनेको बताए। 

महोत्तरी १ का दुबै प्रदेशसभाका क्षेत्रमा माओवादी केन्द्रबाटै बागी उम्मेदवारी परेको छ। महोत्तरी १ को (क) मा नेता राजन ढुंगाना र ९ख०मा विष्णु लामाले उम्मेदवार दिएका छन्। महोत्तरी १ को (ख) मा माओवादीले भरत साहलाई उम्मेदवार बनाएको छ।

‘बागी उम्मेदवारी निस्क्रिय बनाउन पार्टी केन्द्रले नै आग्रह गरेको छ,’ पोखरेलले भने, ‘उहाँहरुले आफ्नो उम्मेदवारीमा पुनर्विचार गर्नुहन्छ भन्ने मेरो विश्वास छ।’ बागी उम्मेदवारी फिर्ताको लागि पहल भइरहेको पनि उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .