ad ad

राजनीति


आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस् : निर्वाचन आयोग

आचारसंहीता उल्लंघन गर्नेलाई कारवाही गर्न हात नकमाउनूस् : निर्वाचन आयोग

निर्वाचन आयाेग


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ७:३६, बिर्तामाेड

निर्वाचन आयोगले निर्वाचन आचारसंहीता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।

सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहीता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्दशन दिएका हुन्। 

केन्द्रिय निर्वाचन आचारसंहीता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहीता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याईं नगर्न पनि आग्रह गरे।

उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे।

उनले आचारसंहीता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीहरुको भुमिकालाई स्पष्ट रुपमा उल्लेख गरिएको बताए। ‘प्रमुख जिल्ला अधिकारीज्यूहरुको टड्कारो भुमिका नदेखिँदाखेरी आचारसंहीता उल्लंघन नियन्त्रण गर्नलाई अलि कठिनाई भएको आयोगले महशुस गरेको छ,’ उनले भने, ‘यदी मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा पनि सहसंयोजक तपाईं प्रमुख जिल्ला अधिकारीज्यूहरु भएको नाताले उहाँहरु व्यस्त भएपनि त्यो क्षेत्राधिकार सम्पूर्ण प्रयोग गरेर त्यसलाई तत्काल नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीज्यूहरु सक्षम हुनुहुन्छ भन्ने आयोगले विश्वास र ठहर गरेको छ।’

निर्वाचनको सन्दर्भमा कसैले कसुर गर्छ भने त्यो विषय अनुसन्धानको विषय रहने उनले सुनाए। ‘सरकारी वकिल र प्रहरीले छानविन गरेर अदालतमा मुद्दा चलाउनुपर्ने हुन्छ । निर्वाचनलाई प्रतिकुल असर पार्नेगरी कुनै हुलदंगा गर्ने, निर्वाचन बिथोल्ने कामहरु हुन्छन् भने त्यसलाई नियन्त्रण गर्नलाई स्थानीय प्रशासनले तत्काल आदेश जारी गर्नसक्ने अवस्था विद्यमान छ,’ उनले भने, ‘अनुसन्धानात्मक प्रकृतिका कामहरु छन् भने अनुसन्धानको पाटोमा लिने । अनुगमनमा जाँदाखेरी कहीँ टड्कारो रुपमा उसले आचारसंहीता उल्लंघन गरेको सप्रमाण देखिन्छन् भने ती प्रमाणहरु संकलन गरेर कारबाही गर्न सक्नुहुन्छ। आचारसंहीतामा उल्लेख गरेका बाहेक कुनैपनि दलका कार्यक्रमहरु छन् भने ती कार्यक्रमहरुमा आचारसंहीता उल्लंघन भएको छ भने तत्काल नियन्त्रण गर्नलाई कुनैपनि कञ्जुस्याईं बाँकी नराख्नुस् ।’

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरुले आचारसंहीता उल्लंघन गरेको उजुरीहरु आएकोतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्नपनि निर्देशन दिए। आचारसंहीता पालना भएको नभएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उनले बताए। 

‘यदी घरदैलो कार्यक्रममा जाँदाखेरी आचारसंहीता उल्लंघन गरेको छ भने यहाँहरुले कठोर कारबाही गर्न सक्नुहुन्छ । दलहरुको आचारसंहीता उल्लंघन गर्ने हर्कतलाई नियन्त्रण गर्ने प्रयोजनका लागि यहाँहरु प्रहार गर्नलाई कुनैपनि पछि नपर्नुस् । यसको सम्पूर्ण जिम्मा आयोगले लिन्छ । यहाँहरुले गरेको सम्पूर्ण कारबाही, नियन्त्रण लगायतका विषयवस्तुहरु आयोगले गरेको हो । किनभने अहिलेको सन्दर्भमा यहाँहरु र आयोग छुट्टाछुट्टै पाटा होइनन्,’ उनले भने, ‘यहाँहरुले गर्ने निर्णय आयोगले गर्ने निर्णय हो । यहाँहरुले दिने निर्देशन आयोगले दिने निर्देशन हो । यहाँहरुले गर्ने कार्यक्रममा आयोगले स्वामित्व ग्रहण गर्छ । मैले यसमा यो हदभन्दा बढी जानु हुँदैन कि भनेर हात कमाएर नबस्नुस् । आचारसंहीता उल्लंघन भएको छ भने कठोरतापूर्वक निर्मम प्रहार गरेर कारबाही गर्नुस् । त्यो आयोगले कारबाही गरेको ठहर्छ ।’

आयुक्त भण्डारीले आचारसंहीता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .