राजनीति


हिजो कांग्रेस र माओवादीबीच लडाइँ थियो, अहिले मिल्नु परिस्थितिको उपज : वर्षमान पुन

हिजो कांग्रेस र माओवादीबीच लडाइँ थियो, अहिले मिल्नु परिस्थितिको उपज : वर्षमान पुन

रोल्पामा बर्षमान पुनसहितका नेताहरु


नेपालखबर
असोज २९, २०७९ शनिबार २०:४५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले लोकतन्त्र र संविधान रक्षाका लागि सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल भएको बताएका छन्। 

गृहजिल्ला रोल्पाको लिवाङमा शनिबार गठबन्धनद्वारा आयोजित पत्रकार सम्मेलनमा पुनले गठबन्धन निश्चित उद्देश्यमा आधारित रहेको बताए। 

‘पटकपटक संसद विघटन भयो र संविधान मिच्ने काम भयो। लोकतान्त्रिमाथि प्रहार भयो’, पुनले भने, ‘संविधान र लोकतन्त्र बचाउन सडकमा संघर्ष गरेको शक्तिले सरकार बनायो, अहिले त्यही गठबन्धनको सरकार छ। हामीले निर्वाचनमा सँगसँगै जाने निर्णय गरेका छौं। यो आम जानकारीकै विषय छ।’ 

पुनले माओवादी केन्द्र र कांग्रेसको मिलन इतिहासको आवश्यकता भएको औंल्याए। 

कुनै बेला दुई प्रमुख शक्तिबीच आमने सामने लडाइँ भएको स्मरण गर्दै उनले अहिले मिल्नु परिस्थितिको आवश्यकता भएको तर्क गरे। 

‘हिजो माओवादी र कांग्रेस दुई ध्रुवजस्तो भएर लड्यौं। त्यतिबेला प्रतिस्पर्धा थियो,अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं’, उनले भने।

पुनले गठबन्धनका साझा उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ताका लागि अपिल गरे। 

सत्ता गठबन्धनद्वारा सिट बाँडफाँटका लागि गठित कार्यदल सदस्यसमेत रहेका पुनले देशभर करिब दुई सय स्थानमा बागी उम्मेदवारी दर्ता भएकामा अब त्यो संख्या ८/१० जनामा झरेको बताए।

उनले रोल्पा 'ख' बाट बागी उम्मेदवारी दिएका माओवादी पोलिट्ब्युरो सदस्य दीपेन्द्र पुन उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन सकारात्मक रहेको जानकारी दिए। 

उक्त प्रदेशमा गठबन्धनका तर्फबाट कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन उम्मेदवार छन्। उनले देशभर कांग्रेसको सहयोगमा माओवादी उम्मेदवार जित्नुपर्ने अवस्थामा आफूहरुले अवस्था सुदृढ भएको रोल्पा र रुकुजस्ता जिल्ला मात्र हेरेर ढिपी गर्न नहुने उनको भनाइ थियो।

‘हामीले आफू बलियो भएको रोल्पा र रुकुम मात्र हेरेर हुँदैन’, उनले भने, ‘देशभर हाम्रा साथीहरु काँग्रेसको सहयोगमा उम्मेदवार बन्नुभएको छ। उहाँहरुको जितलाई पनि हामीले हेर्नुपर्छ।’ 

पुन सत्ता गठबन्धनका तर्फबाट एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा उम्मेदवार छन्। उनी ०७४ को निर्वाचनमा पनि रोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित भएका थिए। 

फरक प्रसंगमा पुनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका साथै विकास तथा समृद्धि सत्ता गठबन्धनको साझा उद्देश्य भएको उल्लेख गरे। यसका साथै स्वतन्त्र र सन्तुलित परराष्ट्र नीतिप्रति गठबन्धन आवद्ध सबै दलबीच समान धारणा रहेको उनले बताए। 

छिमेकी र टाढाका अन्तर्राष्ट्रिय शक्तिसँग आफूहरु मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्न चाहेको उनले बताए। तर, नेपालको घरभित्रको मामिलामा भने हस्तक्षेप सह्य नहुने उनको स्पष्टोक्ति थियो। 

जनताका प्रतिनिधिमार्फत संविधान जारी गर्न खोज्दा केही अन्तर्राष्ट्रिय शक्तिले दबाब दिए पनि नेपालका रानजीतिक दल र  नेताहरुले त्यसलाई अस्वीकार गरेको स्मरण उनले गरे।

‘नेपाली जनताले आफ्ना प्रतिनिधिहरुमार्फत संविधान जारी गर्छौं भन्दा त्यो प्रयासलाई रोक्न केही अन्तर्राष्ट्रिय शक्तिबाट विभिन्न प्रकारका हस्तक्षेप, दबाब र रोकवाट भए’, उनले भने, ‘तर, नेपाली जनताका प्रतिनिधि र नेताहरुले त्यसलाई मानेनौं र संविधान जारी भयो। हामी छिमेकी र टाढाको मित्रहरुसँग मैत्रीपूर्ण र राम्रो सम्बन्ध राख्छौं तर, आफ्नो घरको निर्णय आफै गर्छौं।’ 

उनले तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेताले नेपालबारे नेपालीहरुले नै निर्णय गर्ने भन्दै संविधान जारी नगर्न आएको बाह्य हस्तक्षेप अस्वीकार गरेको दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad