ad ad

राजनीति


प्रदेश १ मा प्रत्यक्षका महिला : ठूला दलबाट संघमा ५, प्रदेशमा एमालेका २, कांग्रेसका शून्य

प्रदेश १ मा प्रत्यक्षका महिला : ठूला दलबाट संघमा ५, प्रदेशमा एमालेका २, कांग्रेसका शून्य

फाइल तस्बिर


सुमन पुरी
असोज २७, २०७९ बिहिबार १७:५, विराटनगर

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ ठूला दलले महिलालाई न्यून अवसर दिएका छन्।

प्रतिनधि सभाका २८ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा ठूला दलले केवल जना महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएका छन्। 

प्रदेश १ मा एमालेले सुनसरी क्षेत्र नम्बर ३ र उदयपुर १ बाट महिलालाई उम्मेदवार बनाएको छ। 

सुनसरी क्षेत्र नम्बर ३ बाट भगवती चौधरीलाई उम्मेदवार बनाएको एमालेले उदयपुर १ बाट मञ्जु चौधरीलाई उठाएको छ। 

भगवती यसअघि त्यही क्षेत्रबाट २ पटक पराजित भएकी छन्। २०७४ को निर्वाचनमा पनि मञ्जु त्यही क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। 

कांग्रेसले भने तेह्रथुमबाट सीता गुरुङ र मोरङ २ बाट सुजता कोइरालालाई प्रत्यक्षतर्फबाट उम्मेदवार बनाएको हो। 

सीता ०७४ को निर्वाचनमा भावानी खापुङसँग पराजित भएकी थिइन्। सुजता अघिल्लो निर्वाचनमा उम्मेदवार थिइनन्। उनी नेपाली कांग्रेसमा कोइराला परिवारबाट प्रभावशाली नेता मानिन्छिन्। 

राप्रपाबाट मोरङ ३ बाट रेखा थापाले उम्मेदवारी दर्ता गराएकी छन्। उनी नेपाली चलचित्र उद्योगमा सफल नायिका र निर्माता पनि हुन्। 

मोरङ २ को चुनावी मैदानमा सु्जाता कोइराला

प्रदेशमा एमाले-माओवादी २-२, कांग्रेस शून्य
५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेशमा कांग्रेसले प्रत्यक्षतर्फ एकजना पनि महिलालाई उम्मेदवार बनाएको छैन। 

कांग्रेस प्रदेश १ का सभापति उद्धव थापाले  प्रत्यक्षतर्फ एक जना पनि महिलालाई प्रदेशसभामा कांग्रेसले उम्मेदवार नबनाएको बताए। 

सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्रले भने प्रदेशमा २ जना महिलालाई प्रत्यक्ष तर्फ उम्मेदवार बनाएको छ। 
माओवादीले  सुनसरी क्षेत्र नम्बर ३ 'क' बाट सरस्वाती पोखरेल र धनकुटा क्षेत्र नम्बर 'ख' बाट कुसुमकुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको हो। 

सत्ता गठबन्धनमा क्षेत्र बाँडफाँट हुँदा माओवादीले प्रदेशका १९ सिट क्षेत्र पाएको थियो। माओवादीबाट प्रदेश सभामा  प्रत्यक्ष तर्फबाट उम्मेदवार भएका पोखरेल प्रदेश १ का निर्वतमान उपसभामुख हुन्।

कुसुम पनि निर्वतमान प्रदेश सांसद हुन्। उनीहरु दुवै यसअघि समानुपातिकबाट सांसद भएका थिए। 

मोरङ ३ मा राप्रपा उम्मेदवार रेखा थापा

एमालेले प्रदेश सभामा प्रत्यक्षतर्फ २ जना महिलालाई उम्मेदवार बनाएको छ। एमालले मोरङ क्षेत्र नम्बर ६ 'क' बाट रिता न्यौपाने र  इलाम क्षेत्र नम्बर १ 'क' बाट शोभा पराजुलीलाई प्रत्यक्षतर्फबाट उम्मेदवार बनाएको हो। 

न्यौपाने एमालेको प्रदेश कमिटी सदस्य हुन्। उनी जेसिज लगायतका सामाजिक संघ सस्था हुँदै शिक्षाक्षेत्रमा कार्यरत छिन्। 

पराजुली भने सन्दकपुर गाउँपालिकाका निर्वतमान उपाध्यक्ष हुन्। उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी हुन्। 

सत्ता गठबन्धनमै रहेको एकीकृत समाजवादीले पनि प्रदेशमा प्रत्यक्षतर्फ २ जना महिलालाई उम्मेदवार बनाएको छ। 
समाजवादीले संखुवासभा 'ख' बाट सिरिता थापा खड्का र इलाम १ 'क' बाट खिनु लंग्वा लिम्बुलाई उम्मेदवार बनाएको छ। 

खिनु प्रदेश १ सरकारकी संस्कृति तथा पर्यटन मन्त्री हुन् भने खड्का निवर्तमान प्रदेश सांसद हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .