ad ad

राजनीति


सर्लाही ३ मा नवप्रवेशी साहलाई माओवादीको टिकट

सर्लाही ३ मा नवप्रवेशी साहलाई माओवादीको टिकट

फाइल तस्बिर


नेपालखबर
असोज २२, २०७९ शनिबार २१:३६, सर्लाही

सर्लाही क्षेत्र नम्बर ३ मा नेकपा माओवादी केन्द्रले नवप्रवेशी नरेन्द्र साहलाई संघीय संसदको उम्मेदवार बनाएको छ। 

केहीबेर अघि अध्यक्ष प्रचण्डले साहलाई टिकट दिएका हुन्। दोस्रो संविधानसभाका सदस्य साह एकसाता अघिमात्रै माओवादीमा प्रवेश गरेका  थिए।

टिकट पाउने निश्चित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका थिए। सत्ता गठबन्धनबीच सर्लाही ३ माओवादी केन्द्रले पाउने सहमति भइसकेको छ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले यस क्षेत्रमा संविधान सभा सदस्य हरि उप्रेतीलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

साह सर्लाहीको बरहथवा नगरपालिका १२ लौकटका स्थायी बासिन्दा हुन्। 

अभिनेता निखिल उप्रेतीका दाजु हरि उप्रेती एमालेका केन्द्रीय सदस्य हुन्। उनी ०७० सालको निर्वाचनमा सर्लाहीबाट प्रत्यक्ष निर्वाचित भएका थिए।

०७० को निर्वाचनमा साह महेन्द्र राय यादव नेतृत्वको तत्कालीन तराई मधेश सद्भावना पार्टीबाट समानुपातिक कोटामा सांसद बनेका थिए।

०७४ को निर्वाचनमा उनले स्वतन्त्रबाट सर्लाही ३ मा संघीय चुनाव लडेका थिए। 

त्यतिबेला माओवादी केन्द्रका रामेश्वर राय यादव विजयी हुँदा गुलाब चिह्नमा चुनाव लडेका साह तेस्रो भएका थिए। दोस्रो मत कांग्रेस उम्मेदवारले ल्याएका थिए।

त्यतिबेला विजय गच्छदार नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका यादवले टिकट पाउने निश्चित भएपछि साह माओवादीमा प्रवेश गरेनन्।

सर्लाही ३ मा माओवादीबाट पोलिटब्युरो सदस्य अच्युतम काफ्ले र रामेश्वर राय यादव, प्रदेश सदस्य राजकुमार यादवलगायत नेता टिकटको आकांक्षी थिए।

अर्बौं सम्पत्तिका मालिक साहको देश-विदेशमा व्यापार छ। उनको मुख्य आम्दानीको स्रोत क्यासिनो हो। साहले ०७४ मा स्वतन्त्रबाट चुनाव लड्दा सर्लाहीमा १०औँ करोड रुपैयाँ खर्च गरेको चर्चा छ। 

चुनावमा हारेपछि पनि उनले सर्लाहीका गाउँगाउँमा कम्बलसहितका सामान बाँडेर जनताको मन जित्ने प्रयास गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .