निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको योग्यता र अयोग्य हुने आधारहरु प्रकाशित गरेको छ।
आयोगले एक विज्ञप्ति जारी गर्दै विभिन्न ५ बुँदामा योग्यता र १० बुँदामा अयोग्य हुने आधार प्रकाशित गरेको हो।
निर्वाचनका लागि २३ असोजमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ। राजनीतिक दलहरु सिट बाँडफाँट तथा टिकट बाँडफाँटको तिव्र तयारीमा लागेका छन्।
योग्यता–
-नेपालको नागरिक,
-पच्चीस वर्ष उमेर पूरा भएको,
-कुनै सङ्घीय कानूनले अयोग्य नभएको र
-कुनै लाभको पदमा बहाल नरहेको।
अयोग्य हुने आधार:
-निर्वाचनसम्बन्धी प्रचलित कानूनबमोजिम सजाय पाई त्यस्तो सजाय भोगिसकेको मितिले दुई वर्ष भुक्तान नगरेको,
-भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, लागु औषध विक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय पाई वा कुनै कसूरमा जन्म कैद वा बीस वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको,
-सङ्गठित अपराधसम्बन्धी कसूरमा कैदको सजाय पाई वा कर्तव्य ज्यान सम्बन्धी कसूरमा बीस वर्षभन्दा कम कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
-जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी वा बहुविवाहसम्बन्धी कसूरमा कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको,
-यसबाहेक अन्य कसूरमा पांच वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले छ वर्ष पूरा नभएको,
-प्रचलित कानूनबमोजिम कालो सूचीमा रहेका,
-कैदमा बसेकोमा कैद बसेको अवधिभर,
-नेपालको संविधानको धारा २९१ विपरीत विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त गरेको,
-मानसिक सन्तुलन ठीक नभएको।


39
Shares

प्रतिक्रिया