ad ad

राजनीति


शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँट आजै टुंगो लगाउने

शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी, सिट बाँडफाँट आजै टुंगो लगाउने

नेपालखबर
असोज १२, २०७९ बुधबार ९:१५, काठमाडौँ

आसन्न निर्वाचनमा आपसमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलबीच सिट बाँडफाँटबारे अहिले छलफल भइरहेको छ। 

पाँचै दलका शीर्ष नेतासहित सिट बाँडफाँटबारे सहमति गराउन बनेको ११ सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। आजको बैठक निर्णायक हुने नेताहरूले बताएका छन्। 

सत्तारुढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा सिट बाँडफाँटबारे अन्तिम निर्णय गर्न भन्दै आफ्ना प्रभावशाली नेतालाई कुनै कार्यक्रम नराख्न र बाहिर नजान हिजै निर्देशन दिएको थियो। 

‘गठबन्धनका शीर्ष नेतासहित कार्यदलको बैठक बालुवाटारमा जारी छ’, एक नेताले नेपालखबरसँग भने, ‘सिट बाडफाट आजै टुंगो लगाउने तयारी छ। घोषणाचाहिँ पछि गरिनेछ।’

पाँचै दलबाट कार्यदलमा ११ सदस्य छन्। यस्तै शीर्ष नेताहरुमा प्रत्येक दलबाट वरिष्ठ उपाध्यक्ष सहभागी गराइरहेका छन्।

निर्णायक भनिएको जारी बैठकले प्रतिनिधि सभाको मिल्न बाँकी क्षेत्र र प्रदेश सभाका क्षेत्रबारे सहमति बनाई निर्णय गर्ने बताइएको छ।

गठबन्धनबीच संघीय संसद्अन्तर्गत धनकुटा, सल्यान, मोरङ ४ र ५, सुनसरी ४, काठमाडौं २, ३ र ७, सप्तरी १, बारा ३, महोत्तरी ३, धादिङ १ लगायतका क्षेत्रमा कुरा मिल्न बाँकी छ।

अन्य क्षेत्रमा लगभग सहमति जुटेको कार्यदलका एक सदस्यले जानकारी दिए। कांग्रेसले ८५, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादी १७, जसपा १४ र राष्ट्रिय जनमोर्चाले २ सिट पाउने निश्चित भइसकेको छ ।

जसपा र एकीकृत समाजवादीले सिट संख्यामा चित्त बुझाएका छैनन्। कांग्रेसभित्रको तीव्र विवादका कारण आफूले पाउने सिट संख्या बढ्नुपर्ने उसको अडान छ।

गठबन्धनका नेताहरुले नमिलेको स्थानमा प्रदेशको बाँडफाँट गरेर सहमति गराउने प्रयास गरिरहेका छन्। त्यसबाहेक प्रदेश सभातर्फ पनि २ सय २० क्षेत्रमा सहमतिउन्मुख छ।

सय क्षेत्रमा एकल मात्र दाबी भएकोले ती क्षेत्रमा विवाद नभएको ती नेताले बताए। मंगलबार बसेको कार्यदलको बैठक प्रदेश सभाका ३३० मध्ये २२० क्षेत्रमा सहमति नजिक पुगेको हो।

प्रदेश सभातर्फका सिट बाँडफाँटमा पनि मोटामोटी सहमति 
यसैबीच, प्रदेशसभातर्फका सिट बाँडफाँटमा पनि मोटामोटी सहमति भएको स्रोतले जनाएको छ। 

‘आजको बैठकमा प्रदेशसभाको सिट संख्याबारे छलफल भयो’, ती सदस्यले नेपालखबरसँग भने, ‘मोटामोटी प्रस्ताव र दाबी प्रस्तुत भएका छन्, सय सिटमा एकल दाबी भएकोले मिलिसक्यो, अन्यमा भोलि ८ बजे शीर्ष नेतासहितको बैठकले टुंगो लगाउने भनेका छौँ।’

स्रोतका अनुसार कांग्रेसले प्रदेशमा आधा बढी सिट दाबी गरेको छ। उसले कम्तीमा १६५ सिट प्रदेश सभाको दाबी गरेको छ।

यस्तै माओवादी केन्द्रले ७० सिट पाउने लगभग निश्चित छ। 

‘भोलि एउटा सहमति गर्ने भनेर नेताहरुले भन्नुभएको छ’, कार्यदलका अर्का एक सदस्यले नेपालखबरसँग भने, ‘कुन दलले कहाँ कति लिने निष्कर्ष निस्कन सक्छ।’

कार्यदलका अर्का सदस्यले भने संघकै सिट मिल्न बाँकी रहेकोले २२ गतेअघिसम्म मिलिहाल्ने सम्भावना नरहेको बताए। 

‘चमत्कार केही भए यताउता होला नत्र तत्काल सहमति जुटिहाल्ने सम्भावना देखिँदैन, एक्लै गए जितिँदैन भन्ने सबैले महसुस गर्नुभएको छ’, ती नेताले भने, ‘गठबन्धन जोगाउन प्रयासरत हुनुहुन्छ।’

नारायणमान बिजुक्छेको भक्तपुर १मा कसैले दाबी गरेको छैनन्।

निर्वाचन क्षेत्र हेरफेर
स्रोतका अनुसार गठबन्धनका शीर्ष नेता र कार्यदलले प्रतिनिधि सभा र प्रदेश सभाका सिट हेरफेररसाटफेर गरेर पनि सहमति जुटाएका छन्।

तर, कहाँ–कहाँ साटफेर भयो भन्ने खुलेको छैन।

काठमाडौं २, ३ र ७, सोलुखुम्बु, तनहुँ २, बारा ४ लगायतका क्षेत्र फेरबदल भएका छन्।

अन्य क्षेत्रहरुमा पनि साटफेर गरेर बाँडफाँट गरिएको स्रोतको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .